पङ्खा नचलेपछि निगमको जहाज सुकेटारमा थन्कियो
ताप्लेजुङ — नेपाल वायु सेवा निगमको ट्विनेटर जहाज ताप्लेजुङको सुकेटार विमानस्थलमा थन्किएको छ ।
बुधबार बिहान काठमाडौंबाट यात्रु लिएर आएको विमान उडाउन खोज्दा दुबै पङ्खा नचलेपछि साइड लगाएर राखिएको हो ।
काठमाडौंबाट प्राविधिक नआएसम्म जहाज उड्न नसक्ने भएको छ । दुईजना चालक र एकजना एयर होस्टेज सुकेटारमै बसेका छन् ।
बिहीबार काठमाडौंबाट प्राविधिकसहितको टोली आउने भने पनि मौसमका कारण अर्को जहाज आउन सकेन । ‘अब शुक्रबार (भोलि) सम्म पर्खनुपर्ने भएको छ, हेरौं मौसम कस्तो हुन्छ’ निगमका ताप्लेजुङ स्टेशन इञ्चार्ज विकास राईले भने ।
वायु सेवा निगमले सातामा दुई दिन बुधबार र शुक्रबार उडान गर्दै आएको थियो । विमान बिग्रिएपछि दसैंमा घर जाने यात्रुलाई समस्या भएको छ । बाक्लो कुहिरो लागेका कारण बुधबार बिहान निकै प्रयासपछि मात्रै सुकेटारमा जहाज अवतरण गराइएको थियो ।
निगमले ताप्लेजुङमा पुरानो जहाज उडान गर्दै आएको छ । यसले काठमाडौंबाट १३ जनासम्म र ताप्लेजुङबाट १६ जनासम्म यात्रु बोक्छ । काठमाडौंबाट आउँदा फर्कने इन्धनसमेत बोक्नुपर्ने भएकाले कम यात्रु ल्याएको हो ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा बिग्रीएपछि साइड लगाएर राखिएको नेपाल वायु सेवा निगमको जहाज
तस्विर : आनन्द गौतम/कान्तिपुर
प्रकाशित : कार्तिक १, २०७५ १५:१५