२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सरकारबारे नेता नेपालको थरीथरीका बोली

शिव पुरी

रौतहट — आफ्नै पार्टीको सरकारका कामकारबाहीलाई लिएर संसद्‌मा असन्तुष्टि पोखेको भन्दै पार्टीभित्र आलोचना खेपिरहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल यतिखेर गृहजिल्लामा छन् । पूर्वप्रधानमन्त्री नेपाल दसैं पर्वका लागि रौतहट आइपुगेका हुन् ।

सरकारबारे नेता नेपालको थरीथरीका बोली

यही बेला पार्टी नेता, कार्यकर्ता, मतदाता र सर्वसाधारणलाई भेट्न नेता नेपाल जिल्लाको विभिन्न स्थानमा आयोजित कार्यक्रममा ब्यस्त बनिरहेका छन् ।


कार्यक्रममा उनले शुभकामना आदानप्रदान मात्रै गरिरहेका छैनन्, समसामयिक राजनीतिमा पनि धारणा राख्ने गर्छन् । ती कार्यक्रमहरुमा उनले थरीथरीका भाषण गरेको भन्दै आलोजना सुरु भएको छ । चन्द्रनिगाहपुरमा नेकपाले सोमबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले सरकारको कामकारबाहीमा कमजोरी भए सुधार गुर्नपर्ने र आलोचनाबाट डराउनु नहुने बताए । उनले मुलुकको बेहाल अवस्था देखेर आफू टुलुटुलु हेरेर नबस्ने भनेर घुमाउरो पारामा ओली सरकारको विरोध गरे ।


प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर मुलुकको बेहाल अवस्था आफूले टुलुटुलु हेरेर बस्न नसक्ने धारणा राखेको पनि उनले प्रस्ट पारे । फेरि नेता नेपालले अर्को दिन हटहरिया नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको खुलेर प्रशंसा गरे ।


प्रधानमन्त्री ओली २०२९ सालदेखि साथी रहेको प्रसंग निकाले र आफूले २०२९ सालमा ओलीलाई गौरस्थित आफ्नो घरमा राखेको सुनाए । केही नेताहरूले असमझदारी रहेको बताएर जनतामा भ्रम छर्न खोजेको भन्दै नेपालले देश विकासको लागि ओली, दाहाल र नेपाल चिन्तित रहेको स्पष्ट पारे । उनले वर्तमान सरकार ५ वर्षसम्म टिक्ने ठोकुवासमेत गर्न भ्याए ।


उनले नेपाली कांग्रेस र मधेसवादी दलहरुमा कुनै फरक नरहेको तुलना गरे ।



नेता नेपाल गृहजिल्लामा भ्याइनभ्याइ


मधेस आन्दोलनपछि भित्रि गाउँ छिरेका नेता नेपाल मधेसी समुदायको मन जित्न लागीपरेका छन् । चन्द्रपुर नगरपालिकामा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सुरु गरेका नेता नेपाललाई अहिले भ्याइनभ्याई छ । उनीसँगै मधेसका लोकप्रिय नेता प्रभु साह छन् । उनका निकटतम् एवम् विकाश समिति सभापति कल्याणी खड्का र नेकपाका केन्द्रीय सदस्य युवराज भट्टराईले कार्यक्रममा नेपाललाई सघाइरहेका छन् ।


मधेस आन्दोलनको पहिलो वर्षमा उनले चन्द्रनिगाहपुरमै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरे । विरोधका कारण भित्रि मधेस छिर्न सकेनन् । उनी गृहजिल्ला प्रवेश गरेको थाहा पाउनासाथ मधेशवादी दलका कार्यकर्ताले विरोध जनाउँथे । कालो झन्डा देखाउँथे । ‘अहिले परिस्थिति बदलिएको छ,’ नेकपाका जिल्ला नेता शम्भू साह भन्छन्,‘जनताले बुझिसके । राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नु पर्छ भन्ने भावना जागेको छ । त्यसैले नेपालजीलाई गाउँ गाउँमा स्वागत गरिएको छ ।’


लामो समयदेखि रौतहटबाट चुनावी मैदानमा उत्रिने गरेका नेपाल गएको संसदीय निर्वाचनमा काठमाडौंबाट लडे । नेता नेपाल चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, गौरलगायतका क्षेत्रमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् । लामो समयदेखि उनले पर्वका बेला शुभकामना आदानप्रदानलाई निरन्तरता दिँदै आएका छन् ।

प्रकाशित : कार्तिक १, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?