१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा टीका ग्रहण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले विजयादशमीको अवसरमा शुक्रबार बिहान शुभसाइतमा टीका ग्रहण गरेका छन् । 

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा टीका ग्रहण

राष्ट्रपति भण्डारीले बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरिन् । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।


स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरेका थिए । शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।


राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा हनुमानढोका दशैँ घरका मूल पुजारी देवराज अर्यालको हातबाट शितलनिवासमा शुक्रबार टीका ग्रहण गर्दै । तस्वीर : रत्न श्रेष्ठ, रासस


राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरिन् ।


त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गरेकी थिइन् । राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो ।


राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गरिन् । साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गरिन् । राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका–जमरा लगाइदिइन् । उनले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइदिइन् ।


प्रधानमन्त्रीद्वारा टीका ग्रहण

यसैबीच प्रधानमन्त्री केपी ओलीले पनि विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओली र राष्ट्रपति भण्डारीबाट टीका थापेका छन् । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा पिता मोहनप्रसाद ओलीबाट टीका, जमरा र तिलक ग्रहण गरेका हुन् भन् दिउँसो राष्ट्रपतिबाट टीका ग्रहरण गरेका हुन् ।


प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?