२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रदेश २ का मुख्यमन्त्रीलाई दाहालले भने, 'ओभरटेक गरेर दुर्घटना ननिम्त्याउनुस्'

सन्तोष सिंह

जनकपुर — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय सरकारलाई 'ओभरटेक' गरे मुलुकमा दुर्घटना हुने बताएका छन् । प्रदेश २ को सरकारले संघीय ऐन आउनुअघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ता गरेको बताउँदै दाहालले भने, ‘मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु ।’

प्रदेश २ का मुख्यमन्त्रीलाई दाहालले भने, 'ओभरटेक गरेर दुर्घटना ननिम्त्याउनुस्'

जनकपुरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन समारोहमा सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले प्रदेश प्रहरी ऐनले राष्ट्रिय चर्चा पाएको बताए ।

संविधानमा पहिले संघीय सरकारले प्रहरी ऐन ल्याउने भए पनि प्रदेश सरकारले पहिले प्रदेश प्रहरी ऐन ल्याए मुलुकमा दुर्घटना हुन सक्ने उनले सचेत गराए । 'संघीयपछि त्यसअन्तर्गत प्रदेशले प्रहरी ऐन बनाउने प्रावधान छ', दाहालले भने ‘मौलिक अधिकारसम्बन्धी जरुरी ऐन पारित गर्नुपरेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको छ । ढिलो भयो भन्दैमा उछिनापाछिन गरी ओभरटेक गर्न मिल्दैन । ओभरटेक गरे दुर्घटना हुन्छ । ’


नेकपा अध्यक्ष दाहालले अलग मधेस बनाउन खोजिए मधेसीले धोखा पाउने बताए । 'काठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा हुँदैन' दाहालले भने, ‘विखण्डनले मधेसको माग पूरा हुँदैन ।’ विखण्डनले डाकाहरुको माग मात्र पूरा हुने उनले टिप्पणी गरे । विखण्डनले शत्रुको माग पूरा हुन्छ मित्रको माग पूरा हुँदैन उनले भने ।


आफ्नो मन्तव्यको क्रममा मुख्यमन्त्री राउतले संविधान संशोधन,प्रदेश प्रहरी ऐन तथा कर्मचारी व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको भन्दै आक्रेश पोखेका थिए ।


मधेसी जनताको हितमा संविधान संशोधन गर्न आफ्नो पार्टी तथा सरकार तयार रहेको उल्लेख गर्दै उनले भने– ‘नेकपा अध्यक्ष केपी ओली, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव तथा मेरो बीचमा संविधान संशोधन गर्ने लिखित समझौता भएकै हो । उचित समयमा संशोधन हुन्छ ।’


नेकपा महासचिव विष्णु पौडेलले प्रदेश सरकारलाई विकास निर्माण, अशिक्षा, विभेद तथा पछौटेपनको मुद्दा लिएर अगाडि आउन आग्रह गरे–‘सिंहदरबारतर्फ फर्केर गाली गरेर समस्या समाधान हुँदैन । विकास निर्माणको एजेण्डा ल्याउनोस् । संघीय सरकार सहयोग गर्न तयार छ ।’


नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको अध्यक्षतामा सम्पन्न चियापान समारोहलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार, निर्माण तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत ,प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवलगायतले पनि सम्बोधन गरेका थिए ।


यो पनि पढ्नुहोस्

प्रदेश २ मा प्रहरी ऐन

प्रकाशित : कार्तिक ६, २०७५ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?