धरानमा मेला लगाउने र नलगाउने पक्षबीच झडप

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा दसैं रमाइलो मेला सुरु भएको दुईदिनमै मंगलबार दिउँसो मेलाका पक्ष र विपक्षमा लागेका युवाहरुबीच झडप हुँदा दुईजना घाइते भएका छन् । धरान उपमहानगरपालिकाले मेला लगाउने स्वीकृति धरान–१२ चतरालाईनका छिमेकी युवा समूहलाई दिएको थियो । 

धरानमा मेला लगाउने र नलगाउने पक्षबीच झडप

मेलाका विरोधी पक्षले मेला आयोजकले निर्माण गरेको चतरालाइनको प्रवेशद्वार तोडफोड गरेपछि सुरु भएको झडप प्रहरीलाई नियन्त्रण गर्न गाह्रो भएको थियो ।


मेलाका पक्षधर युवाहरु मेला आयोजना स्थलमा विपक्षी युवाहरु आएर तोडफोडमा उत्रेपछि प्रहरीले तितर वितर गर्न पाँच राउण्ड हवाइ फायर गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले बताए । मेला विरोधीहरुले लाठी र ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेका डिएसपी तिम्सिनाले बताए ।


उनका अनुसार झडपमा समक्ष श्रेष्ठ र बालजित तामाङ घाइते भएका छन् । उनीहरु एक जना मेला पक्षका र अर्का विरोधी पक्षका हुन् । उनीहरु दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइहरेको छ । उनीहरुको अवस्था खतरा मुक्त रहेको चिकित्सकले जनाएका छन् ।


छिमेकी युवा समूहले कार्तिक ५ गतेदेखि २८ गते सम्मका लागि तामझामकासाथ मेला सुरु गरेको थियो । तर दुईसाता अघिदेखि नै मेलाको विपक्षमा संघीय समाजवादी फोरम, जनमुक्ती पार्टी, मंगोल नेश्नल अर्गनाइजेसन, संघीय लिम्बुवान मञ्च, धरान एकता समाज, किरात खुम्बुवान साझा पार्टी लगायतका करिब पचास जना युवाहरुले विरोध स्वरुप तोडफोड गरेका थिए ।


मेलामा झडपपछि विरोधी पक्षले धरान उपमहानगपालिका अगाडि मेला बन्द गर्न धर्ना दिएका थिए ।


धरानको पव्लिक उच्च माविको मैदानमा मेला लगाउने कि नलगाउने भन्ने विषयमा नेकपा पक्षमा रहेको थियो भने कांग्रेसका नगर सभापति तिलक राईका पक्षले मेला नलगाउन चेतावनी दिदै पत्रकार सम्मेलन समेत गरेका थिए ।


तर कांग्रेसकै पूर्व नगरसभापति किशोर राईको पक्षले मेला लगाउनु पर्नेमा जोड दिदै आएका थिए । धरानमा लाग्ने मेलामा प्रत्येक वर्ष मेला लगाउने र नलगाउने बीच विवाद हुदै आएको छ । जिल्ला प्रशासनले भने सुरक्षा दिन नसक्ने भन्दै पन्छिने गरेको छ ।


यसअघि रमाइलो मेला आयोजक छिमेकी युवा समुहका अध्यक्ष राजेन्द्र राईले मेलालाई विकृतिरहित शुद्ध पारिवारिक शैलीको बनाउने दाबी गरेका थिए । उनले सामाजिक कार्यका लागि उत्सव आयोजना गरेको दाबी गरेका थिए ।


उनले मेला सञ्चालनबाट आएको रकमले १६ वर्ष पुरानो एम्बुलेन्स विस्थापित गरेर नयाँ एम्बुलेस खरिद गर्नका लागि रमाइलो मेला आयोजना गरेको बताए । मेलामा जुवा जन्य घिर्नी,लक्कि सेभेन, तिरबाजी, डटहरु केही पनि नराखी रोटे पिङ, सर्कस, रेलगाडी जस्ता खेल तमासा र बालबालिकाकालागि मनोरञ्जन दिने बाल उद्यानहरु मात्र राखिएका थिए ।


मेलामा झडप भएपछि स्वीकृति दिने धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जुवा जन्य खेल तमासा नराखी पारिवारिक र मनोरन्जक वातावरणमा सस्तो रमाइलो मेला सञ्चालन भइरहेको बेला नियोजित ढंगले तोडफोड भएको बताइन् ।


उनले जिल्ला प्रशासन कार्यालयले सुनसरीका बराहक्षेत्र,इटहरी र धरान-६ पानबारीमा मेला लाग्दा सुरुक्षा दिएपनि धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविको मैदानमा सञ्चालन भएको मेलाको सुरक्षा दिन हिचकिचाएको बताइन् ।


उनले भनिन्,‘राज्यको सुरक्षा निकायले मेला लगाउनका लागि कतै सुरक्षा दिने र कतै नदिने भन्ने पनि हुन्छ ? जसरी हुन्छ धरान लागेको मेलाको सुरक्षा जिल्ला प्रशसनले दिनु पर्छ । अन्यथा सुरक्षा दिन सक्दिन भन्नु नैतिकताले दिदैन ।’

प्रकाशित : कार्तिक ६, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?