छठपछि संघीय सरकार बदलिने प्रदेशमन्त्री सोनलको दाबी

कान्तिपुर संवाददाता

बारा — प्रदेश २ का एक प्रभावशाली मन्त्रीले छठपछि संघीय सरकार बदलिने दाबी गरेका छन् । राजपाका महामन्त्रीसमेत रहेका भौतिक विकास मन्त्री जितेन्द्र सोनलले यस्तो दाबी गरेका हुन् ।

छठपछि संघीय सरकार बदलिने प्रदेशमन्त्री सोनलको दाबी

बिश्रामपुर गाउँपालिकास्थित २ करोडको लागतमा गाडिने स्टेट बोरिङको जग्गा अनुगमनको सिलसिलामा आइतबार यहाँ आएका मन्त्री सोनलले एकाएक आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो दाबी गरे ।


‘हाम्रो २ नम्बर प्रदेश सरकार ढल्दैन, बरु केन्द्र सरकार छठपछि ढल्छ,’ उनले भने, ‘माधव नेपाल ज्यूको पार्टीमा आफैं खैलाबैला छ । ३ नम्बर प्रदेशमा हेर्नुस्, एउटा मन्त्री बर्खास्त गरिएको छ । एउटा मन्त्रीले अर्कोलाई मान्ने स्थिती छैन् ।’


काठमाडौंको सरकारको आफैं दिनगन्ती सुरु भएको उनले दाबी गरे । त्यस गाउँमा सोनल आएको अघिल्लो दिन नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले छठपछि प्रदेश २ को सरकार बदलिने बताएका थिए । शुभकामना आदान प्रदान सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका थिए । त्यसै अभिव्यक्तिको प्रतिवाद गर्न मन्त्री सोनलले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गराएर संघीय सरकार छठपछि ढल्ने बताएका हुन् । ‘एक वटा होइन, ५ वटा छठ वितेपनि हाम्रो सरकार नढल्ने उनले दाबी गरे ।


उनले व्यङ्गात्क शैलीमा भने, ‘माधव नेपाल ज्यू, रौतहटबाट हारेर काठमाडौं जानु भयो, मधेसको जनताको आकांक्षा पुरा गर्न सक्नु भएन । अहिले मधेसमा आएर हाम्रै सरकार ढल्ने बताउनुहुन्छ । बरु उहाँको पार्टीको केन्द्रीय सरकार परिवर्तन छठपछि हुँदैछ । कम्युनिष्ट पार्टीमा दैनिक कुटाकुटको अवस्था छ ।’ यो देशमा कम्युनिष्ट शासन नचल्ने उनले दाबी गरे । ‘लोकतान्त्रिक मुल्य मान्यतालाई समाप्त गरेर जनताको आकांक्षालाई समाप्त गर्ने कम्युनिष्ट पार्टीको याजना सफल हुँदैन्, पत्रकार, न्यायपालिका, प्रहरी र प्रशासनलाई हातमा लिन चाहेको कम्युनिष्ट शासनको सपना पूरा हुँदैन ।’


प्रदेश २ को सरकार विकाससँगै शक्ति सन्तुलनको तयारीमा जुटेको उनले दाबी गरे । सरकारले राज्यको शक्ति र अर्थ दुरुपयोग गरिरहेको उनले आरोप लगाए । ‘पार्टीको कार्यालय उद्घाटन गर्न हेलिकोप्टरबाट मन्त्री आउँछन् । त्यस खर्चबाट एउटा क्यान्सर रोगीको उपचार हुन सक्थ्यो,’ उनले भने, ‘संघीय सरकारको कामकारबाहीबाट सबै क्षेत्र पीडित भएका छन् ।’

प्रकाशित : कार्तिक १८, २०७५ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?