१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिजुलीमा बढ्दै परनिर्भरता

बलराम बानियाँ

काठमाडौँ — बिजुलीमा भारतसितको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।

बिजुलीमा बढ्दै परनिर्भरता

अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भता बढेको हो ।


‘सुक्खायामको सुरुआतसँगै पानीको सतह कम भएकाले नदीको प्रवाहमा आधारित विद्युत् आयोजनाको उत्पादन घटेकाले मुलुकमा लोडसेडिङ हुन नदिन हाल भारतबाट ४ सय मेगावाट विद्युत् आयात गरिरहेका छौं,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘यस वर्ष माघ–फागुनमा लोडसेडिङ हुन नदिन भारतबाट ७० मेगावाट थप गर्दा ४७० मेगावाट बिजुली आयात हुनेछ ।’ उनका अनुसार विद्युत्को बढी माग हुने साँझको समयमा मात्र ४७० मेगावाट बिजुली आयात गरिनेछ । राति र दिउँसो कम बिजुली आयात गरिनेछ ।


अधिकारीका अनुसार हाल साँझमा विद्युत्को कुल माग १३८० मेगावाट छ । मुलुकमा विद्युत् प्राधिकरणका आयोजनाबाट ४२० र निजी क्षेत्रका प्रवद्र्धित आयोजनाबाट १६० मेगावाट गरी ५ सय ८० मेगावाट छ । हाल मुलुकमा विद्युत् आयोजनाको जडित क्षमता ९५० मेगावाट हाराहारीमा छ । नदीमा पानीको सतह घटेकाले ५८० मेगावाट बिजुली (जलाशययुक्त ९२ मेगावाटको कुलेखानी पहिलो र दोस्रोसहित) उत्पादन भइरहेको हो । मुलुकमा उत्पादित र भारतबाट आयातीत गरी जम्मा १०३० मेगावाट आपूर्ति हुन्छ । मुलुकको पिक आवरको मागभन्दा ३३० मेगावाट बिजुली अपुग हुनेछ । यो अपुगलाई पुर्‍याउन बढी माग हुने साँझको समयमा औद्योगिक क्षेत्रमा तीन घण्टा लोडसेडिङ गरी मुलुकभर घरायसी उपभोक्तालाई लोडसेडिङमुक्त गरिएको अधिकारीले जनाए ।


प्राधिकरणले ढल्केबर (महोत्तरी)–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५, कुसाहा (सुनसरी)–कटैयाबाट १ सय ७०, रक्सौल–परवानीपुरबाट ६०, गण्डक–सुरजपुराबाट ३५, टनकपुर–महेन्द्रनगरबाट ३०, नेपालगन्ज–नामताराबाट १० मेगावाट, ११ केभीको वीरगन्ज विद्युत् नाकाबाट १०, ३३ र ११ केभीका विभिन्न नाकाबाट १० मेगावाट गरी ४ सय ७० मेगावाट बिजुली आयात गरिरहेको छ ।


भारत र नेपालबीच विद्युत् आयातसम्बन्धी सम्झौताको म्याद आइतबार सकिँदै थियो । विद्युत् प्राधिकरण र भारतीय विद्युत् व्यापार निगम (एनभीभीएन) बीच गत साता विद्युत् आयातसम्बन्धी सम्झौता तीन महिनाका लागि नवीकरण भएको हो । पुरानै सर्त र मूल्य ३.६० भारु (५ रुपैयाँ ७६ पैसा) मा तीन महिनाका लागि विद्युत् आयात गर्न सम्झौता नवीकरण भएको हो । सम्झौता नवीकरणसँगै मुलुकमा यो हिउँदयाममा लोडसेडिङ नहुने सुनिश्चित भएको अधिकारीले बताए ।



१४० मेगावाट थपिने

यस आर्थिक वर्षमा कुल १५० मेगावाट बिजुली थपिने प्राधिकरणले अनुमान गरे पनि १४० मेगावाट मात्र थपिने भएको छ । निजी क्षेत्रका ८ आयोजनाबाट ३९ मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा थपिइसकेको छ । निजी क्षेत्रको कुल जडित क्षमता ४४१ मेगावाट भएकामा ३९ मेगावाट थपिएपछि ४८० मेगावाट पुगेको छ । माघ दोस्रो सातादेखि प्राधिकरणकै आयोजना ३० मेगावाटको चमेलियाबाट उत्पादन सुरु हुने भएको छ । यसै वर्ष सकिने प्रक्षेपण गरिएको १४ मेगावाट कुलेखानी तेस्रो आयोजना भने अर्को आर्थिक वर्षमा मात्रै सम्पन्न हुनेछ ।

प्रकाशित : पुस १७, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?