कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रधानमन्त्री देउवा राष्ट्रियसभाको निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारीमा

केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच राजनीतिक दलको परामर्शमा राष्ट्रियसभा निर्वाचनको तिथि र प्रदेश प्रमुख नियुक्ति गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवा राष्ट्रियसभाको निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारीमा

पार्टीको पदाधिकारी र केही केन्द्रीय सदस्यको उपस्थितिमा म‌ंगलबार बिहान बसेको बैठकले यी दुवै काम राष्ट्रिय हैसियत प्राप्त पाँच राजनीतिक दलबीच परामर्श गरेर अघि बढ्नुपर्ने सुझाव दिएको थियो । पार्टीको सुझाव अनुसार प्रधानमन्त्री देउवाले आजैदेखि पाँच दलबीच छुट्टाछुट्टै र संयुक्त बैठक बोलाउने भएको नेता विमलेन्द्र निधिले कान्तिपुरलाई बताए । ‘प्रधानमन्त्रीले पाँच दलबीच छुट्टाछुट्टै र संयुक्त बैठक बोलाएर छलफल गरेपछि प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रियसभा निर्वाचनको तिथि तोक्ने कुरा भएको छ’ निधिले भने,‘वाम गठबन्धनले प्रदेश प्रमुख नियुक्ति नगर्न भन्दै आएका कारणले पनि एकपटक सर्वदलीय छलफल गर्नुपर्छ भन्ने कांग्रेस बैठकको निष्कर्ष हो ।’


प्रधानमन्त्री देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग यी विषयमा छलफल गर्ने भएका छन् । दाहाललगतै एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्षस्थ नेताहरुसँग छलफल गर्ने भएका छन् । निधिका अनुसार दुई दिनभित्र सबैसँग परामर्श गरेपछि सरकार निर्वाचनको तिथि र प्रदेश प्रमुख नियुक्ति गर्ने तयारीमा छ ।

सरकारले स्वतन्त्र र समाजमा प्रतिष्ठित व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्ति गर्ने भन्दै नामहरुका विषयमा दलहरुबीच छलफल गर्न प्रयासमा लागेको हो । कांग्रेस बैठकमा भने प्रदेश प्रमुख हुने नामहरुको विषयमा छलफल भएन । राष्ट्रियसभा निर्वाचन मिति घोषणा गर्न भने प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग समेत छलफल गर्ने तयारीमा छन् । आयोगले यसअघि नै प्रधानमन्त्रीलाई भेटेर तत्कालै मिति तोक्ने आग्रह गरिसकेको छ ।


प्रदेश प्रमुख नियुक्ति भएपछि मात्रै निर्वाचन आयोगले प्रदेशसभा सदस्यको निर्वाचन परिणाम बुझाउन सक्छ । कानुन अनुसार प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुख र प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने प्रावधान छ । आयोगले प्रदेशको समानुपातिकतर्फको सदस्यको निर्वाचन परिणाम यसै साता टुंग्याउने तयारी गरेको छ । त्यसअघि नै सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी अघि बढाउने भएको हो ।

प्रदेशसभा सदस्यसमेतको निर्वाचन मण्डलबाट राष्ट्रियसभा निर्वाचन हुने भएकाले सरकारले प्रदेश प्रमुख नियुक्तिलाई पहिलो प्राथमिकतामा राखेको निधिले बताए ।


केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी

बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाइने आस्वस्त पारेका छन् । निर्वाचनको समीक्षाका लागि युवा नेताहरुले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन दबाव दिइरहेका छन् । देउवाले तत्काल केन्द्रीय कार्यसमितिको बैठक र फागुन/चैततिर महासमिति बैठक बोलाउने तयार भएका हुन् ।


कांग्रेस नेता विमलेन्द्र निधिलगायत केही नेताले निर्वाचनको समीक्षाका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदा राष्ट्रियसभा निर्वाचनका लागि वातवरण बिग्रन सक्ने भन्दै निर्वाचनको समीक्षा फागुन दोस्रो सातापछि मात्रै गर्नुपर्ने धारणा राखेका थिए । ‘राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवारको टुंगो लगाउने र सरकार गठनका विषयमा छलफल गर्ने हो भने ठीकै छ’निधिको भनाइ थियो,‘निर्वाचनको समीक्षाका लागि तत्काल बैठक बोलाउँदा राष्ट्रियसभा निर्वाचनको वातावरण बिग्रन सक्छ । त्यसलाई समेत ख्याल गरौं भन्ने हो ।’ सभापति देउवाले निर्वाचनमा पार्टीबाटै धेरै अन्तर्घातको घटना भएकाले त्यसको छानबिन र कारबाहीका लागि प्रक्रिया अघि बढाउन पनि तत्काल केन्द्रीय कार्यसमिति बोलाउन आफू तयार भएको बताएका थिए ।


बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, निधि, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, रामशरण महत, पूर्णबहादुर खड्का, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, प्रकाशशरण महतको उपस्थिति थियो ।

प्रकाशित : पुस १८, २०७४ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?