कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने माओवादी निर्णय

अन्तर्घात छानबिन गर्न नेता शेरचनको नेतृत्वमा समिति गठन

ललितपुर — नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठकले पार्टी एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ । 

एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने माओवादी निर्णय

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा मंगलबार दिउँसो बसेको बैठकले वाम गठबन्धनको एजेन्डा र पार्टी एकतालाई आम जनताले अनुमोदन गरिसकेको भन्दै एकता प्रक्रियालाई गति दिने निर्णय भएको माओवादी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता भूसालले भनिन्, 'तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ ।’


सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच एकताको तयारी भइरहेको छ । यी दुई पार्टी एकता गर्ने घोषणासहित गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन बनाएर सहभागी भएका थिए ।


बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता, कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहेका छन् । त्यस्तै, बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका प्रवक्ता भूसालले जानकारी गराइन् ।


मा‌‍ओवादीले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि लिएको छ । प्रवक्ता भूसालका अनुसार बैठकमा अध्यक्ष दाहालले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे जानकारी गराएका थिए ।


प्रकाशित : पुस १८, २०७४ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?