कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हिउँ परेपछि जनजीवन कष्टकर

विनोद त्रिपाठी

मुस्ताङ — मुस्ताङको सदरमुकाम जोमसोम बजारमा मंगलबार बिहानदेखि हिउँ परेको छ । जोमसोम वरपरका टुकुचे, कोवाङ, लेते, मार्फा, ठिनी, कागवेनीलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।

हिउँ परेपछि जनजीवन कष्टकर

जोमसोममा भन्दा अन्य गाउँबस्ती र उच्च पहाडमा अत्यधिक परेको जोमसोम विमानस्थल ताप मापन केन्द्रले जनाएको छ । ५ दिनदेखि जोमसोमको न्युनतम तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

हिउँ परेपछि घर बाहिरको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि घर बाहिर कोही पनि निस्कन सकेका छैनन् । पसलहरु बन्द छन् । होटलमा ढोका बन्द गरेर भित्रै आगो तापेर स्थानीय र पर्यटक बसेका छन् । आन्तरिक पर्यटक आएका छैनन् । चिनियाँ तथा तेस्रो मुलुकका पर्यटकहरु मात्र होटलमा बसेका छन् । अत्यधिक चिसो बढेपछि अधिकांश स्थानीय पोखरालगायत ठाउँमा झरिसकेका छन् ।


सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् । कार्यालय कुर्न बसेका कर्मचारी कोठाभित्रै बस्न बाध्य छन् । सेवाग्राही कोही पनि नआउने भएकोले अधिकांश कर्मचारी बिदा मिलाएर घर गएका छन् । हिउँ जोमसोम बजारमा भन्दा वरपरका डाँडामा धेरै परेको छ । जोमसोममा भन्दा तल लेते र कोवाङमा धेरै हिउँ परेको स्थानीयको भनाइ छ ।


उपल्लो मुस्ताङमा हिउँ नपरे पनि अत्यधिक चिसो बढेको छ । यो मौसममा मुस्ताङका घरहरुमा अधिकांश स्थानीय बसेका छैनन् । चिसो छल्न सबैजसो पोखरा, काठमाडौं, चितवन, वुटवल र भारततर्फका विभिन्न सहरमा पुगेका छन् । जोमसोम विमानस्थल ताप मापन शाखाका अनुसार, चिसो बढेकोले हवाइ यात्रुको चाप निकै कम भएको छ । नेपालीहरुको ओहोरदोहोर शुन्य जस्तै छ । तेस्रो मुलुकका पर्यटकहरु चिसोमा खेल्न आउने भएकोले अहिले दैनिक १/२ उडान मात्र भएको छ ।


जोमसोम विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले भने, 'आज (मंगलबार) जोमसोममा केहीबेर हिउँ पऱ्यो, यही अनुपातमा चिसो बढ्यो भने केही दिनभित्रै अझै धेरै हिउँ पर्नेछ ।' चिसोले गर्दा तेस्रो मुलुकका पर्यटक मात्र घुम्न आएका उनले बताए ।


जोमसोम बजारभन्दा माथि ठिनी गाउँको उपल्लो भेगमा परेको हिउँ । तस्बिर : विनोद त्रिपाठी/कान्तिपुर


प्रकाशित : पुस १८, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?