कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रधानमन्त्रीले थाले परामर्श

देउवा–दाहाल छलफल
सहमति जुटे बिहीबारकै मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख, अस्थायी राजधानी र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचन मितिमा सहमति जुटाउन राजनीतिक परामर्श थालेका छन् । प्रदेश प्रमुख नियुक्ति नहुँदा राष्ट्रिय सभा निर्वाचनमै बाधा पर्ने भएपछि सरकार राजनीतिक सहमति खोज्न जुटेको हो । 

प्रधानमन्त्रीले थाले परामर्श

प्रधानमन्त्री देउवाले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंँग छलफल गरे । एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँंग पनि छुट्टाछुट्टै छलफल गरी बिहीबार सर्वदलीय बैठक राख्ने उनको तयारी छ । राजनीतिक सहमति जुटे प्रधानमन्त्री देउवा बिहीबारकै मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख, प्रदेशको अस्थायी राजधानी र राष्ट्रिय सभा निर्वाचन तिथि एकसाथ तोक्ने योजनामा छन् ।


निर्वाचनमा वाम गठबन्धनका पक्षमा जनादेश आएपछि एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख नयाँ सरकारले नियुक्ति गर्ने बताउँदै आएका थिए । देउवा सरकारले प्रदेश प्रमुख नियुक्ति गरे शपथ नखाने भन्दै एमाले नेताहरूले चेतावनी दिएका थिए ।


दाहालसँगको छलफलमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनका नेताहरूले प्रदेश प्रमुख नियुक्ति नगर्न दबाब दिएकै कारण ढिलाइ भएको बताए । प्रदेश प्रमुख नियुक्ति नहुँदा राष्ट्रिय सभाको निर्वाचन मण्डल नबन्ने भएकाले राजनीतिक सहमतिकै आधारमा नियुक्ति गरिने उनको भनाइ छ । कानुनमा प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुख र प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले प्रदेशसभाअन्तर्गतको समानुपातिकतर्फको निर्वाचन परिणाम यसै साता टुंगो लगाउँदै छ ।


राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचन मण्डल बन्नुपर्छ । उक्त निर्वाचन मण्डलबाट एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्था छ । नेता पौडेलले माओवादी केन्द्र अध्यक्ष दाहालसँगको छलफल प्रदेश प्रमुख नियुक्तिकै बारेमा केन्द्रित भएको बताए । ‘राष्ट्रिय सभाको निर्वाचन नगरी प्रतिनिधिसभाले पूर्णता पाउँदैन । प्रतिनिधिसभाले पूर्णता नपाएपछि सरकार निर्माणसमेत हुन सक्दैन,’ पौडेलले भने, ‘सबैभन्दा पहिला प्रदेश प्रमुख नियुक्तिको आवश्यकता पर्‍यो । त्यसै दिशामा माओवादी अध्यक्ष दाहाल र हामीबीच छलफल भएको हो ।’


दाहालले पनि सहमतिबाटै प्रदेश प्रमुख नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई सुझाएका छन् । दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सेनाका अनुसार तत्काल राष्ट्रिय सभा निर्वाचन मिति तोक्न र राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा छलफल भएको थियो । ‘सहमति गरेर मात्रै प्रदेश प्रमुख नियुक्त गर्न दाहालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ,’ उनले भने ।


कांग्रेस सभापतिसमेत रहेका देउवाले यसै विषयमा छलफल गर्न मंगलबार बिहान पार्टीको आन्तरिक बैठक राखेका थिए । पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सम्मिलित बैठकमा देउवालाई सबैजसो नेताले परामर्शबाट मात्रै प्रदेश प्रमुख नियुक्त गर्न सुझाए । लगत्तै देउवाले त्यहींबाट दाहाललाई टेलिफोन गरी अपराहन ४ बजे बोलाएका हुन् ।


कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार निष्पक्ष र प्रतिष्ठित व्यक्तिहरूलाई प्रदेश प्रमुख बनाउनुपर्ने धारणा आए पनि नामबारे भने छलफल भएको छैन । पौडेलले पनि नामका विषयमा छलफल नभएको बताए । ‘कुन मोडालिटीमा नियुक्ति गर्ने भन्नेबारे मात्रै

छलफल भएको छ,’ उनले भने । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी अघि बढाइरहेको जनाए ।

प्रकाशित : पुस १९, २०७४ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?