धनकुटामा बन्दकर्ताद्वारा सवारी साधनमा तोडफोड, एक पक्राउ

धनकुटा — बन्द अवज्ञा गरेको भन्दै धनकुटामा चार वटा सवारी साधनमा बन्दकर्ताले तोडफोड गरेका छन् । प्रादेशिक राजधानीको माग राख्दै आएका धनकुटावासीले गरेको बन्दका क्रममा दुई सरकारी, एक संस्थान र एक भाडाको सवारी साधनमा क्षति पुऱ्याएका छन् ।

धनकुटामा बन्दकर्ताद्वारा सवारी साधनमा तोडफोड, एक पक्राउ

मोरङ कारागारको को.१ झ ४८३ नंबरको जिप तथा को.१ झ १६९ नंबरको एक सरकारी नंबर प्लेटको गाडी तोडफोड गरिएको प्रहरीले जनाएको छ ।


यसैगरी ना.१ ज ६४११ नंबरको टाटा सुमो र ना ७ ख ४७६० नंबरको दूध बोक्ने गाडीमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।


एक पक्राउ

सवारी साधनमा तोडफोड गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा संखुवासभाका सुमन कटुवाल छन् । अपरान्ह पॉच बजेदेखि बन्द फिर्ता लिने भनिए पनि पक्राउ गरिएपछि आन्दोलनरत पक्ष उत्तेजित बनेपछि त्यहॉको माहोल असामान्य बनेको छ । पक्राउ गरिएका कटुवाल प्रहरीको कुटाइबाट घाइते भएको स्रोतले जनाएको छ ।


आन्दोलनरत पक्षले पक्राउ गरिएका व्यक्तिलाई मुक्त गरेपछि मात्र बन्दको कार्यक्रम फिर्ता लिने जनाएको छ । तर, स्थानीय प्रशासनले सवारी साधनमा तोडफोड गरेकोले बन्द आव्हानकर्ताबाट क्षतिपुर्ति दिनु पर्ने जनाएको छ । सार्वजनिक सम्पत्ति क्षति पुऱ्याउनेक्रम बढ्न सक्ने भन्दै कडाई गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । उनले प्रशासनले भरपुर संयमता अपनाएको दाबी गरे ।


बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द गराएपछि यात्रु अलपत्र परेका छन् । बन्दका कारण दर्जनौं सवारी साधन धनकुटाको आत्मारा ढाट, जिरो प्वाइन्टलगायतका स्थानमा रोकिएका छन् । ती स्थानमा स्थानीयवासीले प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताले मोटरसाइकल समेत रोकेपछि सर्वसाधारणलाई बढी असर परेको छ ।


सरकारले आफ्नो माग नसुनेकोले आन्दोलन जारी राखिएको आन्दोलन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

प्रकाशित : पुस १९, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?