म पार्टी नेतृत्व लिन परिपक्व छु : शेखर काेइराला

'वामको सरकार, कांग्रेस प्रतिपक्षमा'
देवनारायण साह

मोरङ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा आफूले पार्टी नेतृत्वको लागि दाबी गर्ने बताएका छन् । प्रेस यूनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले सो दाबी गरेका हुन् ।

म पार्टी नेतृत्व लिन परिपक्व छु : शेखर काेइराला


उनले कांग्रेस युवाको जोश र पाकाको होशले बनेको पार्टी भएको कुरो युवाहरुले बुझ्नु आवश्यक रहेको तर्क अघि सार्दै पार्टीको नेतृत्व लिन युवाहरुले हतारो गर्न नहुने बताए । ‘म राजनीतिक रुपमा परिपक्व भइसकेको छु । अबको पार्टी महाधिवेशनमा नेतृत्व लिन सक्षम छु,’ उनले भने । उनले पार्टी सभापति शेरबहादुर देउवाले चाँडै केन्द्रिय समितिको बैठक नबोलाए हस्ताक्षर अभियान थाल्ने पनि बताए ।


‘केन्द्रिय समितिको बैठकको निर्णयले पार्टी विधानलाई संघीय संरचनामा लग्न महासमिति भेला बोलाउनु पर्छ,’ उनले भने, ‘विधान संशोधन गरेपछि क्षेत्रीय सभापतिको अधिकार अब स्थानीय तहका सभापतिलाई दिनुपर्छ ।’ अब पार्टीका विभाग र पदाधिकारी चयनको औचित्य नभएको उनको भनाई थियो ।

‘महासमितिबाट पार्टी विधान संशोधन पारित भएपछि पार्टीको महाधिवेशनको तयारीमा लाग्नुपर्छ ।’ उनी आफू विशेष महाधिवेशनबाट पार्टी सभापति परिवर्तन गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे ।

यस्तै निर्वाचनमा आफू माथि भएको अन्तर्घातको विषयमा पार्टीको अनुशासन समितिले गम्भिरता पूर्वक छानबिन गरेर विधिवत ढंगले अन्र्तघातीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो ।


वामको सरकार, कांग्रेस प्रतिपक्षमा

कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले वाम गठबन्धनले सरकार बनाउनुपर्ने र कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताए । निर्वाचनमा जनताले कांग्रेसलाई प्रतिपक्षमा बसेर संगठन मजबुत बनाउने जनादेश दिएको बताउँदै उनले भने, ‘एउटै घोषणापत्रमा निर्वाचन लडेका एमाले र माओवादी केन्द्रले सरकार बनाउनुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने, ‘कांग्रेसले माओवादीसँग मिलेर सरकार बनाउनु हुँदैन र वाम गठबन्धन पनि तोड्ने खेलमा लाग्न मिल्दैन । त्यसले जनमतको अपमान हुन्छ ।’


वाम गठबन्धनले लोकतान्त्रिक पद्धतिमा अगाडि बढे कांग्रेसले सहयोग गर्ने, तर एमाले अध्यक्ष केपी ओलीको ‘संसदीय व्यवस्था निर्विकल्प होइन’ भन्ने निर्वाचन ताकाको भनाई अनुसार अगाडि बढे कांग्रेस सदनदेखि सडकसम्म विरोधमा उत्रने कोइरालाको भनाई थियो ।



प्रकाशित : पुस १९, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?