कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदेश राजधानी माग गर्दै देशका विभिन्न स्थानमा विरोध र धर्ना

काठमाडौँ — देशका विभिन्न स्थानमा प्रदेश राजधानीको माग गर्दै सर्वसाधारणहरु विरोधमा उत्रिएका छन् । प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाइनुपर्ने माग गर्दै धनकुटावासीले आमहडताल नै सुरु गरेका छन् । यस्तै १ कै राजधानी बनाइपुपर्ने माग धरानको पनि छ । धरानवासीको मागलाई उपमहानगरपालीकाका प्रतिनिधिले कुटनीतिक तवरबाट उठाइरहेका छन् ।
प्रदेश ५ को राजधानी बनाइनुपर्ने मागसहित आज रुपन्देहीमा पनि प्रदर्शन भएको छ । 

प्रदेश राजधानी माग गर्दै देशका विभिन्न स्थानमा विरोध र धर्ना

धनकुटामा आमहडताल जारी

धनकुटा—प्रादेशिक राजधानी माग गर्दै धनकुटामा दुई दिनदेखि जारी आमहड्तालले त्यहॉको जनजीवन थप प्रभावित बन्दै गएको छ ।

प्रदेश नं.१ को राजधानी माग गर्दै एक महिनादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आन्दोलनलाई थप सशक्त पार्दै गएका छन् । यसैक्रममा हिजोदेखि आमहडताल आव्हान गरिएको हो । बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड ठप्प रहेको छ ।

मोटरसाइकल समेत चल्न दिइएको छैन । बिहानैदेखि बन्दकर्ताहरुले धनकुटाको जीरो प्वाइन्ट र आत्मारा ढाट लगायतका स्थानमा प्रदर्शन थालेका छन् ।

राजधानीकालागि लविङ तिव्र पार्दै धरानका प्रतिनिधि

धरान– प्रदेश १ को राजधानीकालागि पुर्वका विभिन्न ठाउँमा खिचातानी, बन्द हड्ताल र तोडफोड भइरहेको बेला धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदीको नेतृत्वमा काठमाडौं पुगेको सर्वदलीय सर्वपक्षीय प्रतिनिधी मण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै राजधानीकालागि सर्वदलीय सहमति खोज्न माग गरेको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवालई प्रधानमन्त्री निवास बालुटारमा भेटी धरानका प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । प्रतिनिधि मण्डल र प्रम देउवावीच एक घण्टासम्म भएको छलफलमा राजधानीकालागि धरानको भौतिक पुर्वाधार, पर्यावरण, एतिहासिकता, पहिचान, प्रदेशवासी नागरिकको सहज आवगमन र तत्काल कार्यालयहरु सन्चालनको लासग सुविधा सम्पन्न सुरक्षित भवनहरु रहेको विषयमा विस्तृत आधारहरु प्रस्तुत गरेको उपप्रमुख भण्डारीले बताइन् । उनले धरानलाई राजधानी घोषणा नगरेसम्म प्रतिनिधि मण्डल धरान नफर्कने बताइन् ।


प्रदेश राजधानी माग गर्दै विरोध

बुटवल – प्रदेश नम्बर ५ को राजधानी बुटवलमा हुनपर्ने माग गर्दै रुपन्देहीमा आन्दोलन तथा विरोधका कार्यक्रम सुरु भएका छन् ।


राजनीतिक दल र तिनका विद्यार्थी संगठनले विरोधका कार्यक्रम सुरु गरेका हुन् । दाङमा प्रदेश राजधानी तोक्ने प्रस्ताव विरुद्ध नेपाली कांग्रेसले आज बुटवलमा एक घण्टा चक्काजाम गरेको छ । बिहान ९ बजेदेखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गको पुष्पलाल पार्कमा चक्काजाम गरेको हो ।


चक्काजामका कारण विद्यार्थी तथा यात्रुहरुले सास्ती व्यहोरेका थिए । यस्तै दाड. प्रदेश राजधानी तोक्न लागेको विरोधमा हिजो साझ अनेरास्ववीयुले मसाल जुलुस निकालेको थियो । बुटवलको बहुमुखी कयाम्पसबाट निकालेको जुलुस ट्राफिकचोकमा आएर कोणसभामा परिणत भएको थियो । जनसंख्या र पूर्वाधारका हिसावले रुपन्देहीमा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै रुपन्देहीका उद्योगी व्यवसायीहरुले पनि विरोधका कार्यक्रम सुरु गरेका छन् ।


प्रकाशित : पुस २०, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?