१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चुरे क्षेत्रमा १० हजार पहिरो

काठमाडौँ — तराई र भित्री मधेसका २२ जिल्लाको चुरे क्षेत्रमा १० हजारभन्दा बढी पहिरो पहिचान गरिएको छ । त्रिविको केन्द्रीय वातावरण विज्ञान विभागले दुई वर्ष लगाएर गरेको अध्ययनले सप्तरीदेखि डडेलधुरासम्मका २२ जिल्लाको चुरे क्षेत्रमा करिब ४ सय वर्गमिटरभन्दा ठूला पहिरोको संख्या १० हजार ८ सय ३३ वटा रहेको देखाएको हो । 

चुरे क्षेत्रमा १० हजार पहिरो

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आर्थिक सहयोगमा विभागले विशेषज्ञ परिचालन गरी चुरेभित्रका पहिरो र सतही भूक्षयबारे अध्ययन गरेको थियो । विभागले पहिलो चरणमा मकवानपुर, सिरहा, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, बारा, रौतहट, सर्लाही र सप्तरीका १० जिल्लाको चुरे क्षेत्रका पहिरोबारे अध्ययन गरेको थियो । १० जिल्लामा मात्रै ३ हजार ४ सय ५६ वटा पहिरो पहिचान गरिएको छ ।


दोस्रो चरणमा कञ्चनपुर, डडेलधुरा, कैलाली, डोटी, बर्दिया, सुर्खेत, बाँके, दाङ, प्यूठान, सल्यान, अर्घाखाँची र कपिलवस्तुको चुरे क्षेत्रमा अध्ययन गरिएको हो । यी १२ जिल्लामा ७ हजार ३ सय ७७ वटा पहिरो पहिचान गरिएको पहिरो अध्ययन परियोजनाका संयोजक भूगर्भविद् डा. सुबोध ढकालले बुधबार बताए । यी सबै पहिरोको क्षेत्रफल जोडा करिब ९० वर्गकिलोमिटर हुन्छ । ‘४ सय वर्गकिमि र त्यसभन्दा ठूला पहिरो तथा भूक्षय समावेश गरिएको छ,’ उनले भने । अध्ययन गरिएका पश्चिमका १२ जिल्लामध्ये कैलाली, सुर्खेत, दाङ र डडेलधुरामा धेरै पहिरो छन् ।


पहिरो अध्ययनका लागि भूउपग्रहीय नक्सा विश्लेषण, स्थलगत अध्ययन, उपलब्ध सरकारी तथ्यांक तथा प्रतिवेदन अध्ययन र विश्लेषण, प्रयोगशाला विश्लेषण, जीआईएस विश्लेषण र नक्सांकनजस्ता अनुसन्धान विधि अपनाइएको थियो । त्यसका साथै भूगर्भविद्, जिइयोलोजिकल इन्जिनियर, जीआईएसविज्ञ र सामाजिक सर्भेयर पनि परिचालन गरिएको थियो । भौतिक र रासायनिकजस्ता बाहिरी र भित्री दुइटै प्रक्रियाले कमजोर चट्टानमा प्रभाव पार्दा र पानीको निकास राम्रो नहुँदा चुरे क्षेत्रमा पहिरोको समस्या बढ्न गएको अध्ययनको निष्कर्ष छ । मानवसिर्जित कारण पनि चुरे क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको ढकालले उल्लेख गरे ।


‘पुराना पहिरो काट्दै बनाइएका सडक संरचनाले पुन: उक्साउने गरेको देखिन्छ,’ उनले कान्तिपुरसित भने, ‘यस्तो समस्या कोहलपुर–सुर्खेत खण्डमा बढी देखिन्छ ।’ पानीको कमजोर निकास, खोलाले भीर काट्ने प्रक्रिया र जमिनअनुसारको रूखको अभावले पनि पहिरोको समस्या देखिएको अध्ययनको निचोड छ ।


अध्ययनका क्रममा चट्टान चिप्लिने, खस्ने, डेब्रिस फ्लो, डेब्रिस स्लाइड, कम्प्लेक्स ल्यान्डस्लाइड तथा ग्रेनुलर फ्लोजस्ता पहिरो र सतही भूक्षयजस्ता पहिरो भेटिएको पनि ढकालले बताए । ‘भौगर्भिक बनोटअनुसार मिडिल शिवालिकमा सबभन्दा बढी र लोअर शिवालिकमा बढी पहिरो भेटिए,’ उनले भने, ‘३० देखि ४० डिग्रीको भीरमा पहिरो बढी देखियो ।’ नापी विभागको टोपो नक्सामा समेत सन् २०१६ सम्मको पहिरो समावेश गरिएको छ । बढी जोखिममा रहेका र बस्तीलाई असर गर्ने किसिमका पहिरोको नक्सांकनसमेत तयार पारिएको छ । त्यस्ता पहिरोबाट निस्किने माटो र चट्टानको परिमाण आकलन गर्नुका साथै गेग्रान जम्मा हुने खोलाको समेत पहिचान गरिएको छ ।

प्रकाशित : पुस २१, २०७४ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?