कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नयाँ सरकार गठन फागुनको तेस्रो साता पुग्ने

राष्ट्रिय सभा निर्वाचन माघ २४ गते 
राजेश मिश्र

काठमाडौँ — सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको भन्दा एक दिन अगाडि निर्वाचन मिति तोकिएको हो । आयोग स्रोतका अनुसार राष्ट्रिय सभाको गठनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक परिणाम आउने भएकाले आयोगले छिटोमा फागुन १५ गते सबै परिणाम राष्ट्रपतिसमक्ष बुझाउन सक्ने सम्भावना छ । 

नयाँ सरकार गठन फागुनको तेस्रो साता पुग्ने

राष्ट्रिय सभाको मत गणना प्राविधिक दृष्टिकोणले जटिल रहेकाले त्यसले कम्तीमा २ देखि ३ दिन समय लिन सक्ने अनुमान छ । ‘परिणामपछिका आवश्यक प्रक्रिया पूरा गरेर दललाई समानुपातिक सिट बाँडफाँट र पत्राचार माघ ३० गते गर्ने सम्भावना रहन्छ,’ स्रोतले भन्यो, ‘विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलले न्यूनतम ७ दिन पाउने छन् । प्राप्त सूचीमा न्यूनतम २ दिनको छानबिनपछि नमिलेको विषय मिलाउन दलले ३ दिन पाउने छन् । यी सबै काम सक्दा फागुन १० गते कट्ने सम्भावना छ ।’ यसरी अगाडि बढदा नयाँ सरकार गठन फागुन दोस्रो सातापछि पुग्ने देखिन्छ ।


वाम गठबन्धनले चुनाव परिणाममा भइरहेको ढिलाइलाई लिएर आयोगको विरोध गरिरहेका छन् । निर्वाचनको मिति धेरै पर लगिएको प्रति असन्तुष्टि जनाउँदै वाम गठबन्धनका नेताहरूले बिहीबारको सर्वदलीय बैठकमा राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेको सेरोफेरोमा गराउन सुझाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आयोगका पदाधिकारीलाई बोलाएर प्रतिनिधिसभाको निर्वाचन परिणाम छिटो दिने वातावरण मिलाउन आग्रह गरेकी थिइन् । तर, आयोगले निर्वाचनका लागि न्यूनतम सबै कार्यक्रमहरू गर्नैपर्ने भएकाले प्रस्तावित मितिलाई धेरै वर सार्न नसकिने जानकारी सरकारलाई गराएको थियो । उद्योगमन्त्री मीन विश्वकर्माका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री आफैंले आयोगले प्रस्ताव गरेभन्दा एक दिन अगाडि नै राष्ट्रिय सभा चुनाव गराउने प्रस्ताव राखेपछि सोहीअनुसारको निर्णय भएको हो ।


राष्ट्रिय सभाको गठन नहुँदा प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम रोकिएको छ । कुन दलले कति सिट पाउने यकिन भइसके पनि सार्वजनिक गरिएको छैन ।


प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेकामा सरकारलाई धन्यवाद दिएका छन् । उनले निर्वाचन मितिमा एक दिनको हेरफेरले कुनै फरक नपर्ने बताए । निर्वाचनको सम्पूर्ण प्रक्रिया छिटो पूरा गरी परिणाम दिन आफूहरू आतुर रहेको उनले बताए । आयोगले एक साता अगाडिदेखि नै राष्ट्रिय सभा निर्वाचनको तयारी थालेको र सरकारले मितिको घोषणा गरेपछि तयारीलाई तीव्रता दिन थप वातावरण बनेको जनाए ।


माघ १० वा १५ गतेभित्र चुनाव गराउन सम्भव थिएन भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘त्यो सम्भव थिएन । निर्वाचनको तयारी र सम्पूर्ण विधि प्रक्रियाहरू पूरा गर्न आवश्यक पर्ने न्यूनतम समय निर्धारण गरेरै आयोगले सरकारलाई सम्भावित मितिको प्रस्ताव गरेको हो ।’ उनले मिति घोषणाले एउटा बाटो खोलेको र आयोग अब प्रदेश प्रमुखको नियुक्तिको प्रतीक्षामा रहेको समेत बताए । ‘प्रदेश प्रमुख आइदिए कामले थप तीव्रता पाउनेछ,’ उनले भने । प्रदेश प्रमुख नहुँदा आयोगलाई प्रदेशसभाको परिणाम बुझाउन र सभाका सदस्यहरूको शपथग्रहणमा कानुनी समस्या देखिएको छ ।


आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले प्रदेश प्रमुखलाई प्रदेशसभाको परिणाम नबुझाएसम्म राष्ट्रिय सभाको मतदाता नामावलीले पूर्णता नै नपाउने बताए । उनले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले पाएको समयावधि निकै ‘टाइट’ रहेको उल्लेख गरे । मिति घोषणा र निर्वाचनको मितिबीचको समयावधि ३२ दिनको छ ।

आयोग सचिवालयले न्यूनतम ४० दिन चाहिने प्रस्ताव गरेको थियो । ‘समयको चापमै काम गर्नुपर्छ । भोलि या पर्सिसम्म सबैभन्दा पहिले महत्त्वपूर्ण कामहरू कहिले गर्ने भन्ने निर्वाचन कार्यतालिका बनाइनेछ,’ उनले भने, ‘बीचको समयावधिमा सोही कार्यतालिकाअनुसार मतदाता नामावलीलाई पूर्णता दिने, मतपत्रको डिजाइन र संख्या टुंग्याउने, मतदान अधिकृत तोक्ने, कर्मचारीलाई तालिम दिने तथा मतदाता शिक्षाका कार्यक्रमसमेत गरिनेछ ।’ उनले निर्वाचन नियमावली र निर्देशिकालाई समेत अन्तिम रूप दिई त्यसैअनुसार निर्वाचन कार्यक्रमहरू गरिने बताए । उनका अनुसार उम्मेदवारी दर्ता, दाबी विरोध, फिर्ता, अन्तिम नामावली र प्रचारप्रसारसम्मका निर्वाचन कार्यक्रमसमेत तोकिनेछ ।

प्रकाशित : पुस २१, २०७४ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?