गोली हानी हत्या

एक वर्षअघि युवासंघ जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएकै स्थानमा फर्निचर व्यवसायी वसन्त पौडेलको हत्या भएको हो । 
अमृता अनमोल

बुटवल — रूपन्देहीको देवदह नगरपालिका ढेकाबारमा शुक्रबार गोली प्रहार गरी व्यवसायीको हत्या गरिएको छ । गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षे वसन्त पौडेलको मृत्यु भएको छ । एक वर्षअघि युवासंघ जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएकै स्थानमा अर्काे हत्या भएको हो । 

गोली हानी हत्या

छाती र टाउकामा गोली लागेका पौडेललाई लुम्बिनी अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । इलाका प्रहरी बुटवलका डीएसपी पवन भट्टराईका अनुसार समिलमा गएका पौडेलमाथि बिहान सवा ११ बजे गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनलाई गोली हानेर भागेका थिए ।

सुरुमा सामान अर्डर गर्न भन्दै आएका ती अपरिचितमध्ये एकले कुरा गर्दागर्दै गोली हानेका थिए । समिल बाहिर आगो तापिरहेका पौडेलनजिकै उनकी पत्नी र १५ कामदार पनि थिए ।

गोली प्रहारबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । वसन्त एमाले नेता नीलकण्ठ पौडेलका छोरा हुन् । नीलकण्ठ साबिक केरवानी गाविसका अध्यक्ष तथा एमाले पूर्वक्षेत्रीय अध्यक्ष हुन् ।

देवदह–५ का पौडेलको खैरेनीमा समिल छ । उनी युवासंघमा आबद्ध थिए । उनका २ छोरा र एक छोरी छन् । पौडेलमाथि राजनीतिक वा आर्थिक रिसइबीमा गोली प्रहार भएको हुनसक्ने भन्दै गम्भीर अनुसन्धान गर्न स्थानीयले आग्रह गरेका छन् । हत्यालगत्तै सत्यतथ्य अनुसन्धान र सुरक्षाको माग राख्दै स्थानीयले बुटवल र देवदहमा राजमार्ग बन्द गराए ।

अघिल्लो वर्ष पुस ४ गते युवासंघ जिल्ला अध्यक्ष तिवारीको पनि देवदह ढेकाबारनजिकै मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी हत्या गरेका थिए । प्रहरीले त्यसको साढे २ महिनापछि अवैध हतियार भित्र्याउने तथा हत्या योजना बनाउने मनोज पुनसहित ११ जनाको नाम सार्वजनिक गरेकोमा ७ जनालाई मात्रै पक्राउ गरेको थियो । हत्यामा संलग्न रहेको आरोप लागेका सिद्धार्थनगर नगरपालिका–१३ का विकास भनिने सोमबहादुर आले, तिवारीमाथि गोली प्रहार गर्ने सुटर राजु, गढीमाई नगरपालिका–१ का श्याम गुरुङ र हतियार तथा गोली दिने र राख्ने देवदह–३ सेमरानाका बाबु भन्ने तुलबहादुर सिंजाली अझै फरार छन् । गत भदौ २० मा पनि जिल्लाकै मणिग्रामस्थित सिरिसा मार्बलमा गोली प्रहार भएको थियो । पसलका सञ्चालक दीपक भण्डारीलाई सोध्दै मोटरसाइकलमा आएका २ जनाले उनलाई नभेटेपछि ३ राउन्ड गोली हानेका थिए ।

गत मंसिर २१ मा सिद्धार्थनगर उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि पनि गोली प्रहार भएको थियो । भैरहवाको गल्लामन्डीस्थित आफ्नै घरमा बसिरहेका बेला साँझ साढे ६ बजेको समयमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले न्यौपानेमाथि गोली प्रहार गरेका थिए ।

घटनालगत्तै मनोज पुनले स्थानीय र सञ्चारकर्मीलाई फोन गरी हत्या आफ्नो समूहले गराएको दाबी गरेका छन् । पुन तिवारी हत्याका मुख्य आरोपी हुन् । मलेसियामा रहेको बताइएका पुन प्रहरीको खोजीसूचीमा छन् ।

प्रकाशित : पुस २२, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?