कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

हुलाक सेवा पुरानै शैलीमा

‘चिठीपत्र गाडीमा हालेर लैजाने व्यवस्था छैन’
हरि गौतम

रुकुम (पश्चिम) — त्रिवेणी गाउँपालिका ४, खाराका धनवीर खड्का हरेक महिनाको १५ दिन सल्यान बागचौर नगरपालिका ४ को लौरावाङ पुग्नुपर्छ । खारानेटा हुलाक चौकीदेखि लौरावाङ हुलाक चौकीको नजिकसम्म राप्ती लोकमार्ग छ । ०६०/६१ मा उक्त लोकमार्ग बनेको थियो ।

हुलाक सेवा पुरानै शैलीमा

यहाँ दैनिक सयभन्दा बढी साना–ठूला सवारी ओहोरदोहोर गर्छन् । खडा भने हिँडेरै खारानेटा र लौरावाङ गर्न बाध्य छन् । राप्ती लोकमार्गको सल्यान–रुकुम खण्ड निर्माण हुनु १० वर्षअघि नै हुलाकीको जागिर सुरु गरेका खड्का लोकमार्ग बनेर कालोपत्रे हुँदासमेत सडक नबन्दाकै अवस्था गरी हुलाक वस्तु ओसारपसार गरिरहेका छन् ।

सडकैसडक पैदल हिँडेर हुलाक वस्तु ओसार्ने खडकामात्रै होइन, उनका जोडी सल्यान बागचौर नगरपालिका ४ का खुमराज खत्री पनि छन् । २२ वर्षअघि हुलाकीको नियुक्ति लिएका खत्री पनि दैनिक १२ किलोमिटर पैदल यात्रा गरेरै हुलाक वस्तु ओहोरदोहोर गर्छन् । खड्काले खारानेटा हुलाक चौकीमा आएका वस्तु लौरावाङ पुर्‍याउनुपर्छ भने लौरावाङ हुलाक चौकी खारानेटा पुर्‍याउँछन् । खत्रीको दैनिकी पनि उस्तै हो । खडकाले ५ दिन हुलाक वस्तु ओसारेपछि ५ दिन खत्रीले पनि त्यसैगरी हुलाक वस्तु ओसार्नुपर्छ ।

हुलाक विभागले डाँक गाडीको व्यवस्था नगर्दा अन्तरजिल्ला हुलाक वस्तु ओसारपसारमात्रै होइन, जिल्लाभित्र पनि हुलाक वस्तु ओसारपसारमा परम्परागत शैली नै कायम छ । करिब ४० किलोमिटर दूरीको रुकुम (पश्चिम) सदरमुकाम खलंगादेखि सल्यान बागचौरको लौरावाङ हुलाक चौकीसम्म पुग्न करिब ३ दिन लाग्छ । हुलाकीले पैदलै यात्रा गर्नुपर्ने भएपछि भनेको भन्दा ढिलो हुलाक वस्तु गन्तव्यमा पुग्ने गरेका छन् । खलंगादेखि, पितिवाँङ हुलाक चौकीमा एक जनाले हुलाक वस्तु ओहोरदोहार पार्छन् भने पितिवाङदेखि खारानेटासम्म अर्कोले । खारानेटादेखि सल्यानको लौरावाङ हुलाक चौकीसम्म ओसारपसारमा अर्को हुलाकीले काम गर्ने गर्छन् ।

सल्यानदेखि रुकुमसम्मको सडक कालोपत्रे भइसक्दा पनि हुलाक विभागले डाँक गाडी व्यवस्था नगर्दा समस्या परेको रुकुम पश्चिमको खारानेटा हुलाक चौकीदेखि सल्यान लौरावाङ हुलाक चौकीमा काम गर्ने हुलाकी खुमराज खत्रीले बताए । ‘सडक बनेको मात्रै होइन, कालोपत्रे भइसक्यो,’ उनले भने, ‘तर हामी हुलाकी भने पैदलै हुलाक वस्तु ओसारपसार गरिरहेका छौं ।’

सोही चौकीमा हुलाकीको काम गर्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ४ का धनवीर खड्काले हुलाक वस्तु गाडीमा हाल्न नमिल्ने भएकाले पैदलै हिँड्न बाध्य रहेको बताए । ‘चिठी गाडीमा हाल्न नमिल्ने भएपछि हामी आफैं हिँड्नुपर्छ,’ खडकाले भने, ‘सधैं व्यक्तिगत पैसा खर्चेर गाडी चढ्न पनि सकिँदो रहेनछ ।’ हुलाक वस्तुमा कहिलेकाहीँ गह्रौं वस्तु पनि हुने भएकाले त्यसको मार पनि हुलाकीले खेप्नुपर्छ । ‘सके व्यक्तिगत रुपैयाँ खर्चेर गाडीमा हाल्ने आफू पनि बस्ने नसके ढाडमा बोकेरै हुलाक चौकी पुर्‍याउनुपर्छ,’ खडकाले भने ।

रुकुम पश्चिमका निमित्त हुलाक अधिकृत प्रेमबहादुर रावलले जिल्लाको हुलाक सेवा पुरानै अवस्थाअनुसार चलिरहेको बताए । अन्तरजिल्ला र जिल्लाभित्रका अधिकांश ठाउँमा सडक पुगे पनि हुलाकी पैदलै हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘बाहिरी जिल्ला सल्यानको सडक कालोपत्रे भइसकेको छ, धेरै सवारी दैनिक यही पक्की बाटो भएर आउजाउ गर्छन् तर विभागले स्वीकृति नदिँदा हुलाक वस्तु गाडीमा हाल्न मिलिरहेको छैन,’ रावलले भने । हुलाक विभागले कुनै यातायात व्यवसायी समितिसँग सम्झौता गरिदिए सेवा छिटो, छरितो र सुविधायुक्त हुने उनको भनाइ छ ।

पटकपटक त्यसका लागि विभागमा माग गरिए पनि सुनुवाइ नभएको उनले बताए । जिल्लाभित्र पनि मुसिकोट–आठविसकोट, मुसिकोट–चौरजहारी र मुसिकोट–रुकुमकोट हुलाक मार्ग छन् । सबै ठाउँमा सडक पुगे पनि विभागले डाँक गाडीको स्वीकृति नदिँदा पैदलै हिँड्नुपर्ने अवस्था रहेको रावलले बताए । जनशक्ति घटिरहेको र डाँक गर्ने गाडीको व्यवस्था नहुँदा हुलाक वस्तु ल्याउन पुर्‍याउन समस्या हुन्छ । हुलाक विभागले सल्यान श्रीनगरसम्म मात्रै डाँक गाडी व्यवस्था गरेको छ । जिल्लाभर ६२ हुलाकीको दरबन्दी भएकामा हाल २० जनामात्रै कार्यरत छन् । २२ हलकाराको दरबन्दी भएकामा ९ बाहेक अन्य खाली छ ।

प्रकाशित : पुस २२, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?