कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शीतलहरसँगै तुसारो

थप ३ को मृत्यु 
विद्यालय थप ४ दिन बन्द
अवधेशकुमार झा

राजविराज — बढ्दो चिसोसँगै कठ्यांग्रिएर मृत्यु हुनेको संख्या बढ्दै गएको छ । शनिबार बिहान सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ६० वर्षीय लखन ठाकुरको चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी धु्रवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

शीतलहरसँगै तुसारो

तिलाठी कोइलाडी गाउँपालिका ७ का ३५ वर्षीय शिवु मण्डलको शुक्रबार राति जाडोका कारण कठ्यांग्रिएर मृत्यु भएको उक्त वडाका वडाध्यक्ष गुलावप्रसाद सिंहले बताए । सिंहले अति विपन्न परिवारका मण्डलको न्यानो कपडाको अभावमा मृत्यु भएको बताए । तिलाठी कोइलाडी २ का ५५ वर्षीय सुजन ठाकुरको पनि सुतेकै अवस्थामा चिसोले कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । यससँगै जिल्लामा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


एक सातादेखि चलेको शीतलहर अझै थामिएको छैन । शनिबार अघिल्ला दिनभन्दा बढी शीतलहर चल्यो । बिहानैदेखि बाक्लो हुस्सु, चिसो हावा र तुसारो पर्न थालेपछि जनजीवन थप कष्टकर बनेको छ । शीतलहरका कारण सडक, बजारमा सर्वसाधारणको आवतजावत अत्यन्तै न्यून देखिएको छ । गरिब तथा दलित बस्तीमा न्यानो कपडा अभावमा सर्वसाधारण कठ्यांग्रिएका छन् । ‘चिसो हावासँगै तुसारो पर्न थालेपछि जनजीवन थप कष्टकर भएको छ,’ तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सिंहले भने, ‘घरबाहिर निस्कन सक्ने अवस्था छैन ।’ पानी परेजस्तै तुसारो पर्न थालेपछि घरबाहिर निस्कन समस्या भएको उनले सुनाए । ग्रामीण क्षेत्रमा चौपायालाई पनि जाडोले सताएको छ । चराउन नपाएकाले गाईबस्तुको बिजोग भएको तोपाका सत्यनारायण यादवले बताए । यस्तै दैनिक मजदुरी गरेर गुजारा गर्नेलाई जाडोमा काम नपाउँदा भोकभोकै बस्नुपर्ने समस्या सिर्जना भएको छ ।


जाडोका कारण जिल्लामा बिरामी हुनेको संख्या बढ्दै गएको छ । पक्षघात, निमोनियाँ, रुघाखोकी, ज्वरो र दमका बिरामी बढ्दै गएका छन् । शीतलहर नरोकिएपछि आइतबारबाट लागू हुने गरी जिल्लाका सबै ४ सय १२ सामुदायिक विद्यालय थप चार दिनका लागि बन्द गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिए । यसअघि गत बिहीबारदेखि तीन दिनका लागि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको थियो ।


जाडो बढ्दै गएका कारण पठनपाठन रोक्नुपरेको जिशिअ पाण्डेले बताए । निजी विद्यालयहरू भने परीक्षाका लागि भन्दै सञ्चालनमा छन् । जिशिअ पाण्डेले बिग्रँदो मौसमलाई ध्यानमा राखी निजी विद्यालय सञ्चालकलाई मौसममा सुधार नहुन्जेल विद्यालय बन्द गर्न आग्रह गरिएको बताए । प्रजिअ भागीरथ पाण्डेले जिल्लामा चिसोका कारण जनजीवन कष्टकर भएको बताए । विभिन्न संस्थाको सहयोगमा विपन्न तथा गरिब बस्तीमा ६४०० कम्बल बाँडिएको जनाए ।

प्रकाशित : पुस २३, २०७४ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?