३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अनिश्चितकालिन बन्दले संखुवासभाबासी मारमा, हवाई सेवापनि नहुँदा थप अप्ठ्यारो

संखुवासभा — प्रदेश राजधानी माग गर्दै अनिश्चितकालिन धनकुटा बन्द भएपछि संखुवासभाबासीलाई समस्या भएको छ ।

अनिश्चितकालिन बन्दले संखुवासभाबासी मारमा, हवाई सेवापनि नहुँदा थप अप्ठ्यारो



बन्दका कारण लगातार ५ दिनदेखि यातायातका साधन सञ्चालन भएको छैन । यात्रुहरु मारमा परेका छन् । सदरमुकाम खाँदबारीबाट साना तथा ठूला सवारीका साधन चल्न सकेको छैन । बिहान खाँदबारीबाट यातायातका साधन चलेपनि धनकुटा र संखुवासभाको सिमानामा पर्ने केवा खोला पुगेपछि घण्टौ कुर्नुपर्ने बाध्यता छ । खाँदबारीका हिमाल श्रेष्ठ बन्दका कारण समस्यामा परेको बताउँछन् । बन्दकर्ताले राति ११ देखि बिहान ५ बजेसम्म सडक खुल्ला गरेपनि ठाउँठाउँमा अवरोध भएको उनले बताए । बन्दको मारमा व्यापारी र बिरामी मर्कामा परेका छन् ।


जिल्ला अस्पतालबाट रिफर भएका बिरामी मारमा परेको जिल्ला स्वास्थ्य प्रमुख डा. विनितकुमार झाले बताए । 'यहाँबाट रिफर गरेर बिरामी पठाउँछौं, बाटोमा समस्यामा पर्ने गरेका छन्' उनले भने, 'पर्याप्त एम्बुलेन्स नहुँदा कतिपयले साना सवारी साधन रिर्जभ गरेर लैजाने गरेका छन् ।'


तुम्लिङटारबाट राजधानीसम्म दैनिक निजी एयरलाईन्स्ले उडान गर्ने भएपनि टिकट अभाव रहेको स्थानीयको भनाई छ । बुद्ध एयरले सातामा तीन पटक बिराटनगर तुम्लिङटार उडान भर्ने गरेको भएपनि एकसाता देखि नियमित छैन । खाँदबारीका शेरबहादुर वन निजी एयरलाईन्स्ले सर्वसाधारणलाई चाहिएको बेला सेवा दिन नसकेको बताउँछन् ।


धनकुटा बन्द भएर यात्रु, बिरामी र बृद्धबृद्धा अलपत्र भइरहँदा पनि बुद्धले उडान झिकेको उनले बताए । 'बन्दको बेला गाडीको बिकल्प हवाई जहाज हो । तर, बुद्ध एयरले यो बन्दको मौका छोपेर एक सातासम्म उडान गरेन' उनले भने, 'आईतबारबाट उडान गर्ने भनेपनि साताको ३ उडान गर्दै आएको बुद्धले दूई फ्लाईटमात्रै राखेको पाईयो ।'


सर्वसाधारणलाई समस्या परेको बेला बुद्धले उडान गर्नुको सट्टा झिकेको उनको आरोप छ । निजी एयरलाईन्स सेवा भन्दापनि नाफामुखी भएको उनले बताए । बन्द बाहेकका सामान्य अवस्थामा पनि तुम्लिङटार–बिराटनगरको टिकट पाउन यात्रुलाई समस्या थियो, एकसातादेखि उडान झिकेको छ । सिजनका बेला र पर्यटक भित्रिने समयमात्रै बुद्धले तुम्लिङटार विराटनगर उडान राख्ने गरेको छ ।



प्रकाशित : पुस २३, २०७४ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?