२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सहमतिपछि रुपन्देही बन्द खुल्यो 

अमृता अनमोल

बुटवल — युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा रुपन्देहीमा जारी बन्द आइतबार अपराह्नदेखि खुलेको छ ।

सहमतिपछि रुपन्देही बन्द खुल्यो 

पीडितपक्ष, सर्वदलीय संयन्त्र र प्रहरी प्रशासनबीच भएको सहमतिपछि अपराह्न ५ बजेबाट बन्द खोलिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताए । उनका अनुसार हत्या भएका वसन्त पौडेललाई सहिद घोषणा गर्न सिफारिस गर्ने, दोषीलाई छिटोभन्दा छिटो पक्राउ गर्ने र शान्ति सुरक्षा कायम गर्ने सहमति भएको छ । युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चितकालीन जिल्ला बन्द आह्वान गरेको थियो ।


प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठीक १ वर्ष पछाडि फेरि अर्का युवाको हत्या भएको भन्दै जिल्लामा क्रियाशील राजनीतिक दल, व्यावसायिक संघसंस्था र नागरिक समाजले समेत बन्दमा ऐक्यबद्धता जनाएका थिए । बन्द खुलेलगत्तै बजार र यातायात सञ्चालनमा आएका छन् ।


व्यवसायी पौडेलको शुक्रबार बिहान करिब सबा ११ बजे देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी भागेका थिए । घटनालगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका थिए ।

प्रकाशित : पुस २३, २०७४ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?