१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भ्रष्टाचार आरोपी दुई निर्देशकसहित १४ जनालाई सफाई

काठमाडौँ — विशेष अदालतले भ्रष्टाचारको आरोपी स्वास्थ्य सेवा विभागका दुई निर्देशकसहित १४ जनालाई सफाई दिएको छ ।

भ्रष्टाचार आरोपी दुई निर्देशकसहित १४ जनालाई सफाई

अध्यक्ष बावुराम रेग्मी र सदस्यहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले बालबालिकाको खोप अभियान सञ्चालनका क्रममा फर्जी कागजात पेस गरेको आरोप खेपेका विभागका निर्देशकहरु श्यामराज उप्रेती, तारानाथ पोख्रेललगायतलाई सफाई दिएको हो । अख्तियारले उनीहरुविरुद्ध एक करोड १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएर २०७१ साल कात्तिक १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सफाई पाउनेमा दुई निर्देशकसहित अधिकृतहरु दीपक तिमिल्सिना, ठाकुर बस्नेत, लिला विक्रम थापा, प्रेमकुमार श्रेष्ठ, शम्भु बाबु तिवारी, शंकर आचार्य, शंकरदेव जोशी, दिपकराज चौलागाई, डिकबहादुर विष्ट, हरि अधिकारी, महेन्द्रकुमार शर्मा, तेज प्रकाश प्रसाईं छन् ।


बालबालिकालाई विभिन्न रोग र संक्रमणबाट जोगाउन सञ्चालन हुने खोप अभियानमा कार्यक्रम नै नगरी फर्जी बिलका आधारमा बजेट दुरुपयोग हुने गरेको भेटिएको थियो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य महाशाखामा खोप अभियान, सचेतना, तालिम, प्रचारप्रसारलगायतका नाममा कामै नगरी नक्कली बिल प्रयोग भएको अख्तियारको आरोप थियो ।


बाल स्वास्थ्य महाशाखाका तत्कालीन प्रमुख तारानाथ पोख्रेलकै संलग्नतामा पोखरा, नेपालगञ्ज, विराटनगर, चितवनलगायत ठाउँका होटलहरुको नक्कली बिल प्रयोग भएको विशेष अदालतमा पेस भएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । ‘ती ठाउँका होटल सञ्चालकहरुले उल्लेख गरिएको मितिमा त्यस्तो कुनै कार्यक्रम नै भएको थिएन भनेर मुचुल्का गरिदिएका छन्’ अख्तियारको दाबी थियो, ‘यातायातका क्रममा प्लेनको नक्कली इ–टिकट प्रयोग भएको छ ।’


आर्थिक वर्ष २०६८/६९ र ६९/७० मा यसरी फर्जी बिल प्रयोग भएको खुलेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो ।


प्रकाशित : पुस २३, २०७४ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?