कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मनाङमा अधिक चिसो, खोलाको पानी जम्यो

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा अत्याधिक चिसोका कारण ठाडो खोलाका पानी जम्न थालेको छ । बगेको पानी चट्टान जस्तै साह्रो बनेको छ । मनाङको चामेमाथिका ठाडोखालामा बग्दै गरेको पानी जमेको स्थानीयले बताए । मर्स्याङ्दी नदीको छेउछाउ पनि जमेको स्थानीयले बताएका छन् ।

मनाङमा अधिक चिसो, खोलाको पानी जम्यो

चामेकी खरिमाया गुरुङका अनुसार पिउनको लागि हिउँ पगाल्नु परेको छ । पाइपभित्र पानी जमेकाले धारा बन्द छन् । मानिसहरु बाहिर निस्कन सकेका छैनन् । ‘सिंगो बजार सुनसान छ । ढोकाहरु बन्द छन् । २ वटा पसलमात्रै खुले,’ उनले सोमबार कान्तिपुरसित भने । ‘चिसो बढेपछि कोही बेंसी झरे । बेंसी नझरेकाहरु झ्यालढोका थुनेर घरमै बसेका छन्,’ उनले भने ।


चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले चिसो अत्याधिक बढेपनि आफू कार्यालयमै रहेको बताए । ‘जाडो त हरेक बर्ष हुन्छ नै । यसपटक अलि बढीजस्तो छ,’ उनले भने । चिसो बढेपछि बाटोमा हिँडडुल पनि कम हुन थालेको छ । स्थानीयका अनुसार जाडो छल्न स्थानीयसँगै जनप्रतिनिधि समेत राजधानी गएका छन् ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार रातीको समय मनाङ गाउँमा तापक्रम माइनस १६ डिग्री सेल्सियससम्म झरेको छ । थोराङफेदी, खाङसारतिर माइनस २० सम्म झरेको उनले बताए । ‘साँझबिहान समेत माइनस १०–१२ डिग्री सेल्सियसको हाराहारीमा छ । बाहिर निस्कने न त्यस्तै हो, काम गर्न पनि सकेका छैनौं’ उनले भने । उनले चिसोका कारण माथिल्लो मनाङका अधिकांश काठमाडौं झरिसकेको र भएका पनि बाहिर निस्कन नसकेको बताए ।


प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सोमबार बिहान ७ बजे माइनस १२ डिग्री सेन्टीग्रेटको तापक्रम रेकर्ड गरिएको बताए । ‘यहाँ दिनभरी सिरक ओडेर सुत्नुबाहेक कुनै उपाय छैन । काम गर्न सकिएको छैन,’ उनले भने, ‘धारा, खोला सबै जमिसक्यो । घाम लागेको बेला अलिअलि तापक्रम बढ्छ । नत्र घटेकै छैन ।’ चिसोका कारण सेवाग्राही पनि कम आएको उनले बताए । सोमबार २ वटा नागरिकता प्रदान गरेको र एउटा पासपोर्टका लागि सिफारिस गरेको उनले बताए ।

प्रकाशित : पुस २४, २०७४ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?