कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सेनाले ‘रिकन्डिसन’ हेलिकोप्टर नलिने, काम नलाग्नेहरु लिलामी प्रकृयामा 

अमेरिकी जहाज छिट्टै आउने

काठमाडौँ — नेपाली सेनाले कुनै मुलुक वा संस्थाले उपहारस्वरूप दिने रिकन्डिसन (पुराना) हेलिकप्टर/जहाज तथा हतियार सजिलै स्वीकार नगर्ने भएको छ । सेनाले यसबारेमा सरकारलाई समेत जानकारी गराइसकेको छ ।

सेनाले ‘रिकन्डिसन’ हेलिकोप्टर नलिने, काम नलाग्नेहरु लिलामी प्रकृयामा 

बेलायतले सन् २००३ मा उपहारस्वरूप दिएका दुई एमआई १७ हेलिकप्टर बिग्रिएपछि बनाउन समस्या परेको स्मरण गराउँदै सेनाले यस्तो जानकारी सरकारलाई दिएको हो । सेनाले कुनै मुलुकबाट नयाँजस्तै भनिएका कुनै पनि यस्ता जहाज खरिद नगर्ने स्पष्ट सन्देश सरकारलाई दिएको छ ।

बेलायतले दिएका दुई हेलिकप्टरमध्ये एउटा दुर्घटनामा पर्‍यो तर त्यो हेलिकप्टरको दर्तासमेत नहुँदा कम्पनीले बनाउन अस्वीकार गरेको सेना उच्च स्रोतले बतायो । पछि नेपाली सेना आफैंले सामान खरिद गरेर बनाउनु परेको र अन्य स्थानमा महँगोमा मर्मत गर्नुपरेको सेनाले जनाएको छ । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले पनि सन् २००३ को मार्चमा ल्याइएको हेलिकप्टर अहिले ‘लिलामी’ मा राख्नु परेको जनाएको छ । निकै महँगो मर्मत खर्च पर्ने भएपछि यसलाई न्यूनतम रकम राख्दै लिलामीमा राखेको हो । १० वर्ष पनि राम्रोसँग चलाउन नसकिएपछि सेनाले यस्ता रिकन्डिसन पुराना हेलिकप्टरको विकल्प खोजेको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले ‘रिकन्डिसन’ उपकरणले समस्या पर्ने जानकारी राजनीतिक नेतृत्वलाई दिँदै आएको अधिकारीहरूले जनाएका छन् । उनले गत असारमा बेलायतको औपचारिक भ्रमणका क्रममा पनि बेलायती सहयोगमा नेपालमा रहेको हेलिकप्टर कम्पनीमा दर्ता नहुँदा मर्मतमा समस्या आएको जनाएका थिए । बेलायतले २००३ पछि यस्तो सहयोग गरेको छैन ।

यस्ता हेलिकप्टरहरू सिधा खरिद नगरी बिक्रेताबाट किन्दा समस्या परेको हुन सक्ने सैन्य अधिकारीहरूको भनाइ छ । नेपाललाई बेलायतले त्यतिबेला दुई एमआई–१७ र दुई आइल्यान्डर्स दिएको थियो । बेलायतले दिएको मात्र नभई भारतले दिएको हेलिकप्टर पनि त्यस्तै छ, जसले गर्दा त्यसलाई पनि सेनाले लिलाम बढाबढमा बिक्री गर्न लागेको छ । सेनाले उक्त हेलिकप्टर बिक्रीका लागि अफ्रिकी मुलुकमा लबिइङ गरेको समेत उच्च स्रोतले बतायो । अफ्रिकी मुलुकमा रहेका नेपाली सेनाले पनि आफ्नो सेनासँग यस्तो हेलिकप्टर रहेको भन्दै औपचारिक जानकारी दिइरहेको छ ।


सेनाले हेलिकप्टर मर्मत नभएकोबारे बेलायतलाई जानकारी दिएको थियो । उनीहरूले राम्रो चालु हालतमा रहेको हेलिकप्टर दिएको भएपनि कम्पनीसँग सिधा खरिद नगरेको वा मर्मत गर्दा कम्पनीको नियम बेवास्ता गरेका कारण दर्ता नभएको हेलिकप्टर नेपालमा आइपुगेको हो । उडाउन र अन्य इन्जिनियरिङ पार्टसमा समस्या नभए पनि त्यस्ता हेलिकप्टरमा निकै समस्या हुने अधिकारीहरूले बताए । नेपाली सेनाले काम नलाग्ने अवस्थामा रहेका हेलिकप्टर र तिनका पाटपुर्जा बिक्री प्रक्रिया निकै अघिदेखि बढाएको हो । सेनाको हवाई निर्देशनालयले करिब ६६ करोड न्यूनतम मूल्य तय गरेर बोलकबोलमा लिलाम अघि बढाएको सूचना सार्वजनिक गरिसकेको छ ।


सेनाले आफूसँग रहेका दुई एमआई १७, दुई सुपर पुमा, चिताह, जहाजका साथै त्यसका पाटपुर्जा लिलाम गर्ने सूचना निकै अगाडि जारी गरेको हो । उपहारमा आएका र विभिन्न समयमा आफैले टेन्डर आह्वान गरेर खरिद गरेका ति हेलिकोप्टर लिलामीमा राखिएको हो । भारत सरकारसँग सैनिक सहयोगअन्तर्गत सहुलीयतमा लिइएका हेलिकप्टरसमेत यसमध्ये छन् ।


अमेरिकी जहाज छिट्टै

नेपाललाई अमेरिकाले उपलब्ध गराउने चार जहाज आगामी केही महिनादेखि नेपाल भित्रने छन् । ति सबै नेपाली सेनाको ‘अर्डर’ मै आउन लागेका हुन् । सन् २०१७ को अन्त्यसम्ममा आइपुग्ने भनिए पनि कम्पनीमा निर्माण प्रक्रियाले केही समय लम्बिएको हो । सबै कागजी प्रक्रिया पूरा भएको र अब छिट्टै आउने नेपाली सेनाले जनाएको छ ।


प्रकाशित : पुस २४, २०७४ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?