डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा 'पक्राउ' आदेश जारी (आदेशसहित)

काठमाडौँ — सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे पक्राउ गरी उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई पक्राउ आदेश दिएको हो ।

डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा 'पक्राउ' आदेश जारी (आदेशसहित)

आदेश सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदन र त्यसमा माथि कानुन व्यावसायीलसमेत कारवाही गर्नुपर्ने भनि गरेको बहसमा आधारित रहेको न्यायाधिश शाहीले उल्लेख गरेका छन् ।

आदेशमा पौड्यालको प्रतिवेदनलाई फौजदारी मुद्दाका रुपमा दर्ता गर्न र केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा हाजिर गराउन भनिएको छ ।

आदेशमा भनिएको छ, 'केसीको नामबाट प्रकाशित प्रेस बिज्ञप्ति र विभिन्न अनलाइन समाचारहरुमा प्रकाशित समाचार सामाग्री हेर्दा संविधान र कानून बमोजिम यस अदालत र माताहातको विभिन्न अदालतबाट भएको फैसलाबिरुद्ध आम जनमानसमा भ्रम पर्नेगरी नेपालको न्याय व्यवस्था, न्यायापालिका र न्यायाधीशहरुका बिरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिब्यक्ति उल्लेख गरेको देखिंदा निजलाई अदालतको अवहेलनामा किन कारवाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी मिति २०७४/९/२५ गते बिहान ९: ०० बजे यस अदालतमा हाजिर हुन उपस्थित गरायउनु भनी नेपाल सरकार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाउँमा लेखी पठाउनु ।'

शाहीले जारी गरेको आदेशमा अदालतको अवहेलना गरेको सम्बन्धमा सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलको प्रतिवेदनसमेतको कागजात अध्ययन गरिएको र अवहेलनामा कारवाही गर्नुपर्ने भन्दै बरिष्ठ अधिबक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने र रमणबहादुर श्रेष्ठ तथा अधिबक्ताहरु लक्ष्मण थपलिया र दीपककुमार बिष्टले बहस गरेकोसमेत उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनको आधारमा मुद्दा तयार भएको हो । प्रा डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका थिए ।

उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्‍मेलन गर्दै १४ औं अनसन सुरु गरेका थिए।

प्रकाशित : पुस २४, २०७४ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?