२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

शीतलहर प्रभावित जिल्लामा राहत घोषणा

रासस

काठमाडौँ — सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई रु दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । 

शीतलहर प्रभावित जिल्लामा राहत घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा आइतबार गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रत्येक जिल्लामा १० लाख रुपैयाँ बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।


मन्त्रालयले आजै सरकारको मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाउने तयारी गरेको छ । 'प्रधानमन्त्रीको निर्देशनमा शीतलहर प्रभावित जिल्लामा तत्काल उक्त राहत वितरण गर्ने निर्णय भएको छ,' गृहसचिव मोहनकृष्ण सापकोटाले भने, 'राहत वितरणको कार्य आजैदेखि शुरु हुन्छ, केन्द्रबाट कम्बललगायत सामग्री जाने क्रम शुरु भइसकेको छ ।'


मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।


मन्त्रालयले काठमाडौँस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरी बलको मौज्दातमा रहेका न्यानो कपडा वितरण पनि आजैदेखि सुरु भएको जनाएको छ । मन्त्रालयले तराईमा विद्यालयललगायत सार्वजनिक भवनमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।

प्रकाशित : पुस २४, २०७४ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?