१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नागरिक अभियन्ता केसी पक्राउ

सर्वोच्चले मंगलबार बिहान ९ बजे उपस्थित गराउन आदेश दिएपछि प्रहरीले रातारात पक्राउ गरी सिंहदरबार वृत्तमा पुर्‍यायो
जनकराज सापकोटा

काठमाडौँ — डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरेर एम्बुलेन्समा हालेर सिंहदरबार प्रहरी वृत्तमा पर्‍याएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

नागरिक अभियन्ता केसी पक्राउ

स्वास्थ्य सेवा र मेडिकल शिक्षा सुधारका लागि संघर्षरत नागरिक अभियन्ता प्राध्यापक डा. गोविन्द केसीलाई सर्वोच्च अदालतको आदेशमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।


महानगरीय प्रहरी परिसर, काठमाडौंबाट गएको टोलीले उनलाई शिक्षण अस्पतालस्थित आमरण अनशनस्थलबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई एम्बुलेन्समा हाली सिंहदरबार वृत्तमा पुर्‍याएको थियो । ‘उहाँलाई पक्राउ गरेर सिंहदरबार वृत्तमा राखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सम्मानित अदालतको आदेशअनुसार मंगलबार सर्वोच्चमा उपस्थित गराइनेछ ।’ प्रहरीकै चिकित्सकले केसीको स्वास्थ्य परीक्षण पनि गरेका थिए ।


केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्चले सोमबारै आदेश दिएको थियो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनू’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा आदेश दिएको हो ।


स्रोतका अनुसार केसीलाई रातारात अनशनस्थलबाटै पक्रन सर्वोच्च अदालतबाट सोझै प्रहरी मुख्यालयलाई भनिएको थियो । उनी पक्राउ परेको कुरा गृह मन्त्रालयको समेत नेतृत्व लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार माध्यमहरूबाट थाहा पाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए । डा. केसी आपराधिक पृष्ठभूमिका व्यक्ति नभएकाले उनलाई यसरी रातारात समातिएको प्रति प्रधानमन्त्री असन्तुष्ट रहेको पनि उनले बताए ।


सर्वोच्च अदालतले करिब साढे ४ बजे डा. केसीलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका नाममा पक्रन आदेश दिएको थियो । हेडक्वार्टरबाट आदेश आएको आधा घण्टा नबित्दै ‘डा. केसीलाई पक्राउ गर्नू’ भन्ने आदेशसहितको पत्र रानीपोखरीबाट टेकुस्थित प्रहरी परिसरमा पठाइएको थियो । त्यसको एक घण्टामै एसपी रामदत्त जोशी नेतृत्वको टोली केसीलाई पक्रन महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेको थियो ।

प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले आफूले अदालतको आदेश पालना मात्र गरेको बताए । प्रहरी हेडक्वार्टरबाट पक्राउ गर्नू भन्ने आदेशसहितको पत्र आएपछि काम अगाडि बढाएको उनले जनाए । अदालतले मंगलबार बिहान ९ बजे उपस्थित गराउनू भनेकाले राति नै पक्राउ गर्नुपरेको उनले बताए ।

केसीलाई पक्राउ गर्ने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । उनलाई राखिएको सिंहदरबार वृत्तमा पनि सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

त्यसअघि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग राख्दै अपराह्न ४ बजे अनशन थालेका थिए । लगत्तै डा. केसीले अनशन क्रममा बाँडेको विज्ञप्ति र उनको

अभिव्यक्तिमा आधारित भई सर्वोच्च प्रशासनले प्रतिवेदन तयार पारेको थियो । ‘सोमबार अपराह्न केसीले पत्रकार सम्मेलन गरेर बोलेका कुरा र विज्ञप्ति विभिन्न सञ्चार माध्यममा आयो,’ अदालत स्रोतले भन्यो, ‘प्रस्तुत विषयवस्तु र अभिव्यक्ति हेर्दा अवहेलनाजन्य देखिएपछि शाखा अधिकृतले प्रतिवेदन तयार गरी सर्वोच्च अदालतको प्रशासन हुँदै न्यायाधीश डम्बरबहादुर शाहीको इजलासमा पेस भएको थियो ।’

शाखा अधिकृत नेत्रबन्धु पौड्यालले तयार पारेको प्रतिवेदनमा डा. केसीको अभिव्यक्ति र वितरित प्रेस विज्ञप्तिले न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति देखिएको भन्दै कारबाहीको माग गरिएको छ । उक्त मुद्दामा वरिष्ठ अधिवक्ताहरू श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ तथा अधिवक्ताहरू लक्ष्मण थपलिया र दीपककुमार विष्टले बहस गरेका थिए । ‘डा. केसीको अभिव्यक्तिले अदालतको गरिमामाथि प्रहार गरेकाले उनलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनू,’ न्यायाधीश शाहीको एकल इजलासको आदेशमा भनिएको छ ।

‘केसीका नामबाट प्रकाशित विज्ञप्ति र विभिन्न अनलाइनमा प्रकाशित समाचार सामग्री हेर्दा संविधान र कानुनबमोजिम यस अदालत र मातहतका विभिन्न अदालतबाट भएका फैसलाविरुद्ध आम जनमानसमा भ्रम पर्ने गरी’ आदेशमा भनिएको छ, ‘अदालतको अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको देखिँदा निजलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ?’

सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त भएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि केसीले अनशनको घोषणा गरेका थिए । उनले आफ्नो विज्ञप्तिमा भनेका थिए, ‘चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रूपमा फैसला आएको छ । फैसला मेडिकल माफियाको स्वार्थ र साँठगाँठअनुसार भएको प्रस्टै छ ।’ पत्रकार सम्मेलनमा डा. केसीले ‘न्यायालयको मर्यादा बचाउन पनि प्रधानन्यायाधीश पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन’ भनी दिएको अभिव्यक्तिलाई समेत प्रशासनिक टिप्पणीको प्रतिवेदनमा समेटिएको छ । प्रधानन्यायाधीश पराजुलीसहित न्यायाधीश दीपककुमार कार्कीको इजलासले आइतबार डा. शर्मालाई गैरकानुनी रूपमा बर्खास्त गरिएको ठहर्‍याउँदै बाँकी रहेको ४ दिनका लागि पुनर्बहाली गर्न आदेश दिएको थियो ।


डा. शर्माको पुनर्बहालीले दलीय भागबन्डाले कुनै बेला धराशायी भएको आईओएमलाई फेरि पूर्ण रूपमा धराशायी बनाउने, मनपरी रूपमा निजी मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र नियामक निकायहरूमा फेरि मेडिकल माफियाको नियन्त्रणमा राख्ने काम भएको भन्दै केसीले फैसलापछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसमेत चलखेलमा लागेको आरोप लगाएका थिए ।

न्यायालयमा देखिएका विकृति/विसंगतिविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको भन्दै केसीले सुधारमा चासो राख्ने सबैलाई आफ्नो सत्याग्रह अभियानमा जोडिन आग्रह गरेका छन् । उनले संवैधानिक परिषद्का साथै न्यायपरिषद् र नेपाल बार एसोसिएसनलाई पनि आफ्ना मुद्दामा गम्भीर बन्न ध्यानाकर्षण गराएका छन् ।

केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामाका अतिरिक्त चिकित्सा शिक्षा आयोग गठन गर्न, वरिष्ठताका आधारमा नियुक्त डिनलाई कायम गर्न र त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न माग राखेका छन् ।

प्रकाशित : पुस २४, २०७४ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?