१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

छाउपडी गोठमा १ वर्षमा ९ को मृत्यु

मेनुका ढुंगाना

काठमाडौँ — तुर्माखाद गाउँपालिका ३ भैरवस्थानको लकान्द्रामा छाउपडी गोठमा एक महिलाको मृत्यु भएको छ । सोमबार छाउगोठमा २३ वर्षीया गौरी बुढा (वयक) मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

छाउपडी गोठमा १ वर्षमा ९ को मृत्यु

‘प्रहरी टोली घटनास्थल पुगेको छ । कसरी ज्यान गयो भन्ने जानकारी पोस्टमार्टमपछि मात्र थाहा हुनेछ,’ न्यौपानेले भने ।


स्थानीय उजिर विकका अनुसार आइतबार बेलुका खाना खाएर सुतेकी गौरी सोमबार बिहान मृत फेला परेकी हुन् । ‘किन ढिलो उठिन् भनेर सोधखोज गर्न जाँदा मृत अवस्थामा भेटिएकी हुन्,’ विकले भने, ‘अघिल्लो साँझ खाना खाएर सुत्न जान्छु भन्दै छाउगोठ जाँदासम्म उनी बिरामीजस्तो थिइनन् ।’ घरबाट टाढा रहेको छाउपडी गोठमा झ्याल थिएन, भित्र आगो बालेको खरानी भेटिएकाले निसास्सिएर मृत्यु भएको स्थानीयको अनुमान छ ।


२०७३ मंसिर ४ गते साबिकको तिमिल्सैन गाविसकी २१ वर्षीया डम्बरा उपाध्याय र पुस ३ गते साबिकको गाज्रा गाविसकी १५ वर्षीया रोशनी तिरुवाको छाउपडी गोठमा मृत्यु भएको थियो । अछामको छाउपडी कुप्रथा न्यूनीकरण गर्न साबिकका ७५ वटा गाविसमा महिनावारी भएको बेला महिलालाई छाउपडी गोठमा राख्ने परिवारलाई सामाजिक रूपमा बहिष्कार गर्नुका साथै गाविसबाट प्रदान गरिने सबै सेवा(सुविधाबाट वञ्चित गरिने निर्णय गरे पनि गोठमा बस्नेको संख्यामा कमी आएको छैन ।


महिनावारी सुरु भएपछि महिलालाई छाउपडी गोठमा पठाइन्छ । त्यहाँ आवश्यक खाना, लत्ताकपडा भने दिइँदैन । चिसो महिनामा कठ्यांग्रिएर, आगो बाल्दा निसास्सिएर थुप्रै महिलाको ज्यान गएको छ ।


१० वर्षमा ९ को मृत्यु

छाउपडी कुप्रथा अन्त्य गर्न भन्दै जिल्लामा दर्जनौं गैरसरकारी संस्था कार्यरत छन् । एक दशकदेखि महिला अधिकार क्षेत्रमा काम गर्दै आएकी पशुपति कुँवर एक्लै लागेर कुनै प्रतिफल प्राप्त गर्न नसकिने बताउँछिन् । ‘कुनै एनजीओ आईएनजीओले काम गरेजस्तो गरेर छाउपडी कुप्रथा हटदैन,’ उनले भनिन्, ‘यसलाई राजनीतिक मुद्दा बनाइएन । नेताहरू बोल्दैनन् ।’ स्थानीय नेता, वकिल र शिक्षकहरूले छाउपडीविरुद्ध खुलेर बोल्न नसकेको उनको आरोप छ ।


‘बर्सेनि अछाममा गोठमै ज्यान जाने गरेको सुन्दा म जस्ता अभियान चलाउँदै हिँडेका महिला नै थाक्नुपर्ने अवस्था आएको छ,’ उनले छाउपडीविरुद्धको कानुन कार्यान्वयन गर्नुपर्ने बताइन् । १० वर्षयता जिल्लामा ९ महिलाको छाउगोठमै मृत्यु भएको छ । चार वर्षअघि अछामको रिडिकोट ४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै मृत्यु भएको थियो ।


त्यसअघि जिल्लाको ढकारी, बारला, पायल, हत्तीकोटलगायत गाविसमा महिलाहरूले गोठमै ज्यान गुमाएको तथ्यांंक छ । शर्मिलाको ज्यान गएपछि अछाममा छाउपडी गोठ भत्काउने अभियान सुरु भएको थियो । उक्त अभियानअन्तर्गत हालसम्म साबिकका ३१ गाविस छाउपडी गोठमुक्त घोषणा भइसकेका छन् । जिल्लामा यो अभियान चलिरहे पनि महिलाले गोठमा ज्यान गुमाउने क्रम रोकिएको छैन ।


प्रकाशित : पुस २४, २०७४ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?