कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सामुदायिकको सिकाइ ‘निराशाजनक’

कक्षा २ र ३ का विद्यार्थीलाई वाक्य लेख्नै आउँदैन : शिक्षा मन्त्रालयको अध्ययन
मकर श्रेष्ठ

काठमाडौँ — सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्ययनले ६० प्रतिशत विद्यार्थीले नेपालीमै सरल वाक्य लेख्नसमेत नसकेको औंल्याएको हो । 

सामुदायिकको सिकाइ ‘निराशाजनक’

ईआरओले ११ जिल्लाका २ हजार ६ सय ५ सामुदायिक विद्यालयका ७२ हजार ५ सय ३८ विद्यार्थीमाथि अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो । कक्षा २ का ३५ हजार ९ सय ८३ र कक्षा ३ का ३६ हजार ५ सय ५५ विद्यार्थीमाथि अनुसन्धान गरिएको थियो । परीक्षणका क्रममा श्रुति लेखनमा सबभन्दा कमजोर पाइएको हो । कक्षा २ का विद्यार्थीको कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन सीप परीक्षण गर्दा यस्तो वाक्य लेखनको सिकाइ उपलब्धि ४० मात्रै छ । यसमा शिक्षकले ‘म फलफूल खान्छु, पिउने पानी सफा हुनुपर्छ, पाकेको आँप गुलियो हुन्छ, रामले झोलामा आफ्नो किताब राख्यो’ जस्ता वाक्य उच्चारण गरेर विद्यार्थीलाई लेख्न लगाइएको थियो ।


यस्ता वाक्य लेख्न नजान्नेमा धनकुटामा ६० प्रतिशत, सप्तरीमा ५८, पर्सामा ५३, भक्तपुरमा ४५, कास्कीमा ४८, मनाङमा ७६, दाङमा ६७, बाँकेमा ६५, बर्दियामा ७४, कञ्चनपुरमा ६५ प्रतिशत विद्यार्थी छन् । कक्षा ३ मा श्रुतिबोधमा भँगेरा र भँगेरीको कविता सुनाएर प्रश्न सोधिएको थियो । यसमा पनि सिकाइ उपलब्धि औसतमा ४९ प्रतिशत मात्रै थियो । औसत अंक पनि नल्याउनेमा सप्तरी, दाङ, बाँके, बर्दिया, कञ्चनपुरका विद्यार्थी छन् ।


ईआरओले कक्षा २ का विद्यार्थीको अक्षर मात्राको पहिचान, परिचित शब्द लेखन, श्रुतिबोध, सरल वाक्य गठन, शब्द भण्डार, सरल वाक्य र शब्द पठन बोध, जोडिएको शब्द छुट्याउने, श्रुति लेखन, क्यालेन्डरको जानकारीको परीक्षण गरिएको थियो । जोडा मिलाउनेमा ६२, जोडिएको अक्षर छुट्याउनेमा ५२, वाक्य लेखनमा ४० प्रतिशत पास भए । कक्षा ३ मा शब्द र वाक्य पठन, सही शब्द छनोट, चित्र वर्णन, शब्द छुट्याउने, श्रुति लेखन, पोस्टर पढ्न, कविता पढ्न, पात्रो हेर्न सक्छन् कि सक्दैनन् भन्ने परीक्षण गरिएको थियो । यसमध्ये चित्र वर्णमा सिकाइ उपलब्धि ४९, जोडिएको शब्द छुट्याउनेमा ५९, वाक्य लेखनमा ४६, पोस्ट पठनमा ६५, कविता पठनमा ४९ प्रतिशत औसत सिकाइ देखियो ।


कक्षा २ का विद्यार्थीलाई तयार पारेको प्रश्नमा जोडा मिलाउन बायाँतिरको लहरमा समूह ‘क’ मा शिर, ज्योति, अन्धकार, उचाली शब्द राखिएको थियो भने समूह ‘ख’ दायाँतिरको लहरमा अँध्यारो, उठाएर, टाउको, उज्यालो र शरीर शब्द राखिएको थियो । शिर शब्द टाउकोसँग मिल्छ भनेपछि बालबालिकालाई ज्योति केसँग मिल्छ होला भनी प्रश्न गरिएको थियो । विद्यार्थीलाई २ मिनेट प्रश्न पढ्न लगाएर उत्तर दिन लगाइएको थियो । यसको मूल्यांकनमा औसतमा ३८ प्रतिशतले जोडा मिलाउनै सकेनन् । धनकुटाका ५३ प्रतिशत, सप्तरीका ६८, पर्साका ७१, भक्तपुरका ७७, कास्कीका ७१, मनाङका ७०, मुस्ताङका ६६, दाङका ५६, बाँकेका ५९, बर्दियाका ४९ र कञ्चनपुरका ५७ प्रतिशत विद्यार्थीले मात्रै जोडा मिलाए ।


त्यस्तै २० मिनेटको समय दिएर जोडिएका शब्द छुट्याउने कार्यको पनि परीक्षण भएको छ । ‘मेरोघरछ’, ‘घरमाभाइछ’ जस्ता वाक्य छुट्याउन लगाइएको थियो । यो विधामा औसत ५१ प्रतिशत मात्रै सिकाइ रहेको पाइएको छ । यसको सिकाइ परीक्षण गर्दा मनाङको ७५, भक्तपुरको ७१ र कास्कीको ६९ प्रतिशत सिकाइ उपलब्धि रहेको पाइयो । अक्षर छुट्याउन कमजोर हुनेमा धनकुटा, सप्तरी, पर्सा, मुस्ताङ, दाङ, बाँके, बर्दिया र कञ्चनपुरका विद्यार्थी छन् ।


ईआरओको अध्ययनमा ३२ हजार ७ सय ११ छात्र र ३९ हजार ८ सय २७ छात्रा सहभागी थिए । कक्षा २ र ३ को सिकाइ औसत ६५ प्रतिशतमा सीमित रहेको पाइएको छ । शिक्षकलाई नै सहभागी गराएर यो अध्ययन गरिएको ईआरओले जनाएको छ । जुन दिन परीक्षा लिएको हो, त्यही दिन अभिभावकलाई जानकारीसमेत गराइएको थियो । ‘यो अध्ययनले आफ्ना बालबालिका कुन विधामा कमजोर छन् भन्ने शिक्षक र अभिभावकले समेत थाहा पाएका छन्,’ परीक्षण केन्द्रका प्रमुख लेखनाथ पौडेलले भने, ‘यो स्थानीय तहमा विद्यालय सुधार गर्न सकिने आधार हो ।’


अक्षर मात्राको पहिचानमा ३३ प्रतिशतले केही पनि नजानेको पाइयो । मनाङका विद्यार्थीमा यो आधारमा राम्रो सिकाइ रहेको पाइएको छ । परिचित शब्द लेखन (खाउ, आउ, जाउ) जस्ता शब्द चिन्ने विद्यार्थी अन्य जिल्लाको भन्दा मनाङ र मुस्ताङको योग्य पाइएको छ । ईआरओका अनुसार मनाङमा ९२ र ९० प्रतिशतसम्म सिकाइ उपलब्धि रहेको पाइएको छ । सरल वाक्य पठनमा औसतमा ६८ प्रतिशत मात्रै छ । दाङ, बाँके, बर्दिया, कञ्चनपुरको औसत सिकाइसमेत नरहेको पाइएको छ । यसमा वाक्य चिन्नुपर्ने थियो । शब्द भण्डारको सिकाइ उपलब्धि ७१ प्रतिशत मात्रै छ । यो विधामा पनि मनाङकै विद्यार्थी योग्य देखिए । मनाङको ९१ र सबैभन्दा कम बर्दियाको ६४ प्रतिशत सिकाइ रहेको पाइएको छ । शब्द पठनमा अन्य विधाको भन्दा कमजोर पाइएको छ । यो विधामा औसत सिकाइ नै ६५ प्रतिशत छ । औसतसमेत पूरा नगर्नेमा धनकुटा, मुस्ताङ, दाङ, बाँके, बर्दिया र कञ्चनपुर छन् । भक्तपुरमा सबभन्दा बढी ७६ प्रतिशत सिकाइ उपलब्धि पाइएको छ ।


पौडेलले एउटा कक्षामा २ र ३ मा कम्तीमा ५ जना विद्यार्थी भएका ११ जिल्लाका सबै विद्यालयको अध्ययन गर्दा यस्ता नतिजा आएको जानकारी दिए । ‘सुधार गर्नुपर्ने क्षेत्र कुन हो ? भन्ने स्पष्ट भएको छ,’ उनले भने, ‘सिकाइ कमजोर हुनुमा स्थानीय भाषाले पनि हुन सक्छ ।’


‘६७ प्रतिशतले घरमा नेपाली बोल्दैनन्’

कक्षा २ र ३ का ६७ प्रतिशत विद्यार्थीले घरमा नेपालीबाहेकका भाषा बोल्ने गरेको पाइएको छ । ईआरओले ११ जिल्लाको २ हजार ६ सय ५ विद्यालयका ७२ हजार ५ सय ३८ विद्यार्थी माथि अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो । अध्ययन गरिएका विद्यार्थीमध्ये ४८ हजार ४ सय ५७ अर्थात् ६७ प्रतिशतले घरमा नेपालीबाहेकका भाषा प्रयोग गर्ने गरेको पाइएको हो । ईआरओले धनकुटा, पर्सा, सप्तरी, भक्तपुर, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, कञ्चनपुरको कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन सीप परीक्षण गर्दा यस्तो पाइएको हो । अध्ययनअनुुसार बाँकेमा ७२ प्रतिशत बालबालिकाले घरमा नेपालीबाहेकका भाषा प्रयोग गर्ने गरेको पाइएको छ । सप्तरीमा सबभन्दा बढी ९८ प्रतिशत विद्यार्थीले घरमा आफ्नै भाषा प्रयोग गरेको पाइएको छ । पर्सामा ९४, मनाङमा ७९, कञ्चनपुरमा ७७, बर्दियामा ६६ प्रतिशतले घरमा आफ्नै भाषा प्रयोग गरेको पाइएको हो । कास्कीमा सबभन्दा बढी ९० प्रतिशत विद्यार्थीले नेपाली भाषा प्रयोग गर्ने गरेको पाइएको छ । ईआरओएले कक्षा २ र ३ का विद्यार्थीमाथि अध्ययन गरेको हो । अध्ययनअनुसार कक्षा २ का विद्यार्थीमध्ये ६७ प्रतिशत र ३ का ६६ प्रतिशतले घरमा आफ्नै भाषा प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रकाशित : पुस २५, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?