१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धनकुटामा आमहड्ताल स्थगित, एक सातापछि यातायात सञ्चालनमा

धनकुटा — जिल्लालाई प्रादेशिक राजधानीको माग राख्दै आमहड्तालमा उत्रिएका धनकुटावासीले मंगलबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । 

धनकुटामा आमहड्ताल स्थगित, एक सातापछि यातायात सञ्चालनमा

विगत ६ दिनदेखि जारी आमहड्ताल स्थगित गर्दै सांकेतिक रुपमा बन्द तथा प्रदर्शनका गतिविधि थालेका छन् । ६ दिनदेखि गरिदै आएको आमहड्ताल केही दिनलाई स्थगित गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ । आमहड्ताल स्थगित गरिएसँगै कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात नियमित भएको छ । तर, मंगलबार मध्यान्ह एक घण्टा धनकुटाको जिरो प्वाइन्ट र हिले बजारमा यातायात बन्द गरिएको थियो ।


यस्तै मसाल जुलुस, ब्ल्याक आउट, ऱ्यालीलगायत प्रदर्शनका अन्य कार्यक्रम भने जारी राखिने परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । सरकारले अस्थायी राजधानी घोषणा गरेर प्रदेशसभाको बैठक सम्बन्धित प्रदेशमा बस्नु पर्ने माग पनि अघि सारिएको श्रेष्ठले बताए । प्रादेशिक राजधानी बनाउ अभियानका संयोजक तथा प्रदेश नं.१ का सदस्य निरन राईले पनि दबाबमूलक गतिविधि जारी रहने बताए ।


मन्त्रिपरिषद्‌को बैठक बस्ने दिन आगामी बिहीबार एक दिन भने सडक पसल, शिक्षण संस्था, कलकारखाना र यातायात बन्द गरिने सोमबार सॉझ बसेको बैठकले निर्णय गरेको छ ।


‘मन्त्रालय’मा झन्डा राखिए

आन्दोलनरत जिल्लावासीले मंगलबार विभिन्न कार्यालयमा राष्ट्रिय झन्डा गाढेका छन् । यसअघि सांकेतिक रुपमा राजधानी घोषणा गरी सरकारी कार्यालयमा मन्त्रालयको साईनबोर्ड राखिएका ठाउँमा राष्ट्रिय झन्डा राखिएको आन्दोलन परिचालन समितिले बताएको छ ।


उनीहरुले गत आइतबार क्षेत्रीय, डिभिजन तथा जिल्लास्तरीय सरकारी कार्यालयमा विभिन्न मन्त्रालयको साईनबोर्ड राख्दै सांकेतिक राजधानी घोषणा गरेका थिए । सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका जिल्लावासीले धनकुटा बजारका विभिन्न भागमा नारा जुलुस गर्दै ११ सरकारी कार्यालयमा यसअघि विभिन्न मन्त्रालयको साईनबोर्ड टॉगेका थिए । तीनै स्थानमा राष्ट्रिय झन्डा राखिएको आन्दोलन परिचालन समितिले जनाएको छ ।


प्रकाशित : पुस २५, २०७४ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?