रौतहटमा कठ्याङ्ग्रिएर ९ दिनमा ९ को मृत्यु

पवन यादव

रौतहट — अत्याधिक जाडोले कठ्याङ्ग्रिएर यहाँ थप ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको परोहा नगरपालिका ९ रामपुरखाप बस्ने ७० वर्षीया नुसुरुल्ला खातुन, ६५ वर्षीया मरछियादेवी कुर्मी, सोही नगरपालिका वडा नं. २ का ४५ वर्षीय शेख समीमको मृत्यु भएको छ ।

रौतहटमा कठ्याङ्ग्रिएर ९ दिनमा ९ को मृत्यु

त्यस्तै दुर्गा भगवती गाउँपालिका-५ की ६० वर्षीया सकलीदेवी पासवान, गुजरा नगरपालिका-७ की ४२ वर्षीया फूलकुमारी पासवान, राजदेवी नगरपालिका ९ का ७० वर्षीय अलकप्रसाद सिंहको चिसोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी रामकुमार दानीले बताए ।


शितलहरसँगै दुई सातायता चलेको पश्चिमी चिसो हावाको कारण कठ्याङ्ग्रिएर मर्नेको संख्या ९ पुगेको छ । यसअघि कठ्याङ्ग्रिएर गढीमाई नगरपालिका ४ का ५५ वर्षीय महर्जन ठाकुर हाजाम, राजदेवी नगरपालिका ७ मुडवलवाका ७५ वर्षीय अयोधीराय यादव र गढीमाई नगरपालिका १ स्थित चिमनी भट्टामा कार्यरत सर्लाहीका मजदुर नेक महम्मद अलीको मृत्यु भएको थियो । मृतक अधिकांश विपन्न, दलित, गरिब परिवारका सदस्य तथा मजदुर हुन् ।


जाडोको कारण सदरमुकाम गौरलगायत जिल्लाको जनजीवन प्रभावित बनेको छ । सबभन्दा बढी दलितबस्ती, वृद्धवृद्धा, बालबालिका, विपन्न वर्गका परिवार, चौपाया प्रभावित भएका छन् । जिल्लास्थित रहेका दलितबस्तीमा लगाउने कपडा, आगो ताप्न दाउरा, खानलाई अन्नको समस्या परेको पीडितले बताएका छन् । सरकारी निकायले सहरी क्षेत्रमा मात्र सेवाप्रवाह गरेको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।


नेपाली सेनाद्वारा दाउरा वितरण

चिसोबाट पीडित बनेकालाई नेपाली सेनाको ईन्द्र बक्स गण पुरेनवा दरबारले मंगलबार सदरमुकाम गौर नगरपालिका ८ धांगड बस्तीका बालबालिका तथा वृद्धवृद्धालाई चिया तथा पाउरोटी वितरण गरेको छ ।


सेनाले बस्तीमा दाउरा र घुर बालेर सर्वसाधारणलाई आगो तपाएको गणपति सुजन शाक्यले बताए ।


प्रकाशित : पुस २५, २०७४ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?