३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

झन् चिसियो तराई, मृत्यु हुनेको संख्या २० पुग्यो

अवधेशकुमार झा

राजविराज — दस दिनयता जाडो ह्वात्तै बढ्दा जिल्लाको जनजीवन झन्झन् कष्टकर बन्दै छ । सोमबार र मंगलबार केहीबेर घाम लागे पनि बुधबार बिहानैबाट बाक्लो हुस्सु र शीतलहरले घेरेको छ । 

झन् चिसियो तराई, मृत्यु हुनेको संख्या २० पुग्यो

चिसो हावा अत्यधिक चलेकाले स्थानीयलाई घरबाहिर निस्कनसमेत मुस्किल पर्‍यो । ‘जतिसुकै कपडा लगाए पनि थरथर कमाउने जाडो छ,’ तिलाठी कोइलाडी–८ का वडा सदस्य शिवनारायण मण्डलले भने, ‘दलित र विपन्न बस्तीमा बिजोग छ ।’ मजदुरी गरेर गुजारा गर्नेहरूका लागि जाडो अभिशाप भएर आएको मण्डलले बताए ।

‘न कतै रोजगारी पाइन्छ न त आफैं घरबाट निस्कन सकिन्छ,’ कोइलाडीका राम सदाले भने । चिसो बढेपछि सदरमुकाम राजविराजका अधिकांश पसल बन्द छन् । ‘चिसो हावाका कारण पसलमा बसिसक्ने अवस्था छैन,’ राजविराजस्थित मारुती मेडिकल हलका सञ्चालक ललन झाले भने, ‘हाडै कपाउने जाडो छ ।’


नगरपालिकाले वन कार्यालयसँगको समन्वयमा स्थानीयलाई चिसोबाट जोगाउन राजविराजका विभिन्न स्थानमा आगो बाल्ने गरेको छ । तर, चिसो हावा अत्यधिक चलिरहेकाले आगो ताप्न पनि समस्या नै छ । सडकमा सवारीसाधन निकै कम छन् ।

मृतक थपिँदै

चिसोका कारण मर्नेको संख्या पनि बढदै गएको छ । बुधबार बिहान कञ्चनरूप–९ का ४२ वर्षीय जडौली सदाको कठ्याग्रिंएर मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी दिए । यो समेत पछिल्ला १० दिनमा जिल्लामा जाडोका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।


कतिपयका घरमा न्यानो कपडा छैन भने कतिपयमा चेतना अभाव देखिन्छ । टिनको छानोबाट शीत चुहिने भएकाले घरभित्रै बस्न अप्ठ्यारो परेको उनीहरूको गुनासो छ ।


यसैबीच धुर्मुस–सुन्तली फाउन्डेसनले बुधबार जिल्लाका मुसहर र चमार परिवारलाई ब्लाङकेट वितरण गरेको छ । फाउन्डेसनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ले तिलाठी कोइलाडी–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित मुसहर र चमार बस्तीमा स्थानीय प्रसासनसँगको समन्वयमा ब्लाङकेट उपलब्ध गराएका हुन् । जाडोमा मुसहर, चमारलगायत विपन्न बासिन्दा बढी प्रभावित हुने गरेका छन् ।


प्रभावित बस्तीमा सरकारी टोली

शीतलहर प्रभावित बस्तीमा बुधबार सरकारी टोलीले कम्बल वितरण गरेको छ । प्रजिअ भागीरथ पाण्डेसहितको टोलीले जमुवा, मलेठ र करौनाका विपन्न समुदायलाई कम्बल उपलब्ध गराएको हो ।


अघिल्ला दुई दिन घाम लागेर मौसममा केही सुधार भए पनि बुधबार बिहानैदेखि बाक्लो हुस्सु, चिसो हावा र तुषारोले जनजीवन थप कष्टकर भएको पाण्डेले बताए । विभिन्न संघसंस्थाको सहयोगमा जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्तमध्ये बुधबार मात्र २ हजार जनालाई कम्बल वितरण गरिएको उनको भनाइ छ । ‘घरमा लुगा छ तर बाहिर निस्कँदा लगाएको हुँदैन,’ पाण्डेले भने, ‘चेतना अभावमा पनि समस्या भइरहेको छ ।’ स्थानीय तहसित समन्वय गरी ग्रामीणस्तर र विपन्न बस्तीमा चेतना प्रवाहको कार्यसमेत अघि बढाइएको उनले जानकारी दिए । यसैगरी धर्मी हल्फा महिला विकास क्लब राजविराजले एक सातायता जिल्लाको विभिन्न विपन्न बस्तीमा १ हजार थान ब्लाङकेट वितरण गरेको छ ।


प्रकाशित : पुस २६, २०७४ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?