१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'म रैती होइन, सार्वभौम नागरिक हुँ, धम्कीले डराउँदिनँ'

डा. गोविन्द केसी

काठमाडौँ — गोपाल पराजुली (प्रधानन्यायाधीश) को आदेशले मेरो टेलिफोन सिज गरिएको छ । पराजुली नजिकका मानिसहरूले मेरा साथीलाई सम्पर्क गरेर थ्रेट गर्नुभयो । केही पहिले पनि मलाई नातेदारमार्फत ‘ठीक पारिदिने’ थ्रेट दिनुभएको थियो । म रैती होइन, सार्वभौम नागरिक हुँ, धम्कीले डराउँदिनँ । 

'म रैती होइन, सार्वभौम नागरिक हुँ, धम्कीले डराउँदिनँ'

न्यायाधीशज्यूहरू,

म कमजोर भएको छैन । उठेर बोल्न सक्छु । म हरेक पटक अनशन बस्दा छुट्टी लिएर बसेको छु र त्रिभुवन विश्वविद्यालयको नियम मिचेको छैन । बिदामा बसेर नागरिकको स्वास्थ्यको अधिकारका लागि लड्नु मेरो इच्छाको कुरा हो ।


गोपाल पराजुली (प्रधानन्यायाधीश) को आदेशले मेरो टेलिफोन सिज गरिएको छ । पराजुली नजिकका मानिसहरूले मेरा साथीलाई सम्पर्क गरेर थ्रेट गर्नुभयो । केही पहिले पनि मलाई नातेदारमार्फत ‘ठीक पारिदिने’ थ्रेट दिनुभएको थियो । म रैती होइन, सार्वभौम नागरिक हुँ, धम्कीले डराउँदिनँ ।


मलाई अस्ती साँझ ९ बजेतिर पक्राउ गरिएको हो । मलाई भोलिपल्ट अदालतले बोलाएको भए ९ बजे नै हाजिर हुने थिएँ । अदालतको आदेश पनि छैन । पक्राउ पुर्जीमा कारण खुलाइएको छैन । म स्वतन्त्र नागरिक हुँ र मलाई अभिव्यक्ति स्वतन्त्रता छ । के गोपाल पराजुली र प्रहरी महानिरीक्षक मात्रै नागरिक हुन् ? कतै मैले इजलाससमक्ष यो कुरा राख्दै गर्दा पनि अवहेलना हुने हो कि ?


(इजलासले स्वास्थ्यको कारण देखाइ बोल्न गाह्रो होला भन्दै भनाइ टुंग्याउन आग्रह गर्छ ।)


मैले लिखित भनाइ राख्ने क्रममा सबै कुरा बोल्न गाह्रो छ, त्यहीले म यहाँ थप कुरा बोल्दैछु । म अदालतलाई सम्मान गर्छु । सही तरिकाले हुने काम कारबाहीमाथि मैले प्रश्न उठाएको छैन । न्याय बिक्री गर्नेविरुद्ध म लड्छु । त्यसविरुद्ध जे सजाय हुन्छ, भोग्न तयार छु । मैले प्रधानन्यायाधीश पदमा रहेका गोपाल पराजुलीजी माथिको प्रेस विज्ञप्तिको जिम्मेवारी लिन्छु । गोपाल पराजुली माफिया र भ्रष्ट हुन् ।

(इजलासले केसीमाथि हस्तक्षेप गर्छ, हात उचालेर आफ्नो भनाइ राखिरहेकाले उनको हातमा घोचिएको सुईको घाउ बल्झिन सक्ने भन्दै शान्त हुन र बस्न आग्रह गर्छ ।)


मैले बयानमा भ्रष्ट, माफिया गोपाल पराजुली लेखेको छु । हामी १० वर्षदेखि स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षा सुधारका लागि लडेको छु । पूर्वाधारबिना मेडिकल कलेजहरू सञ्चालन भएका छन् । गुणस्तरका लागि नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरू छन् । यी नियमनकारी निकायले कलेजमाथि गरेको निर्णय बदर गर्ने काम भयो । नियामक निकायको काम बदर गरेर मेडिकल कलेजहरूले जति सिट मागेको छ, फैसलामा त्यति दिइएको छ । त्यसैले ३ करोड नेपालीको स्वास्थ्य अधिकार हनन छ । अनि उनी कसरी माफिया भएनन् ? (केसीले इजलासलाई नमस्कार गर्छन्)


म अनुरोध गर्छु, मैले आरोप लगाएको व्यक्ति भ्रष्टसमेत हो । (इजलासले केसीको स्वास्थ्यको विषयमा ध्यानाकर्षण गराउँदै आराम गर्न र भाषण नगर्न आग्रह गर्छ) । यो मेरो भाषण होइन, तथ्यसत्य हो । उहाँले २ जिल्लाबाट नागरिकता लिनुभएको छ । दुईवटा उमेर छ । यो जाली काम हो ? यो जस्तो गम्भीर कुरा के हुन्छ । एसएलसी प्रमाणपत्र विवादको कुरा छ । त्यसैले मैले उठाएको सवालका कारण कुनै पनि सजाय भोग्न तयार छु । सजायबाट म डराउँदिनँ । म गोपाल पराजुलीविरुद्ध लडिरहेको छु । उनी प्रधानन्यायाधीश छन् । इजलास न्यायसम्पादनका क्रममा प्रभावित भएको छैन भन्ने सुनिश्चित हुनुपर्छ ।


(केसीका कानून व्यवसायी डा. सुरेन्द्र भण्डारीले उनलाई हस्तक्षेप गर्छन् र केसीको निष्पक्ष न्यायसम्पादनका लागि आफूहरूले सक्दो प्रयास गर्ने भन्दै भनाइ अन्त्य गर्न आग्रह गरेपछि केसी बस्छन् । कानून व्यवसायीहरूको बहस सकिएपछि केसी फेरि उठेर आफ्नो भनाइ राख्छन् ।)

म धरौटी आदि इत्यादिमा रिहा हुन चाहन्नँ । मलाई धरौटी राखेर रिहा हुनु छैन । मैले उठाएका सवाल छानबिन हुनुपर्छ । माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन ।

(आफूविरुद्धको अवहेलना मुद्दाको सुनुवाइका क्रममा डा. गोविन्द केसीले इजलाससमक्ष राखेको भनाइको सम्पादित अंश ।)

प्रकाशित : पुस २६, २०७४ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?