३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सुमार्गीको अस्वाभाविक उदय

मकवानपुर — सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गी पराजुली हेटौंडा उपमहानगरपालिका–५ मा २०३५ सालसम्म डेरा गरी बस्थे । उनको पुस्तैनी घर निबुवाटार धुर्सिङ, मकवानपुर हो । २०११ को बाढीले धुर्सिङ बजारलगायत उक्त क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएपछि उनको परिवार हेटौंडा झरेको हो ।

सुमार्गीको अस्वाभाविक उदय

उनका आफन्तहरू हेटाैंडा उपमहानगरपालिका–९ मा बसोबास गरेका भए पनि सुमार्गीका बाबु माधवराज सुमार्गी हेटौंडास्थित संगम चोकमा कोठा भाडामा लिएर बस्थे । माधवराजको २०३५ मा हेटाैंडामा मृत्यु भएको थियो ।


भाडाको कोठा छाडेर २०३६ देखि सानोपोखरामा सामान्य भुइँतले घर बनाएर उनको परिवार बसेको थियो । त्यसपछि उनले माइकल रामचन्द्र अर्यालको घर बैंकमा धितो राखेर ट्रक किनेका थिए । त्यही ट्रकको आम्दानीबाट सुमार्गी परिवारले जीविका चलाउँदै आएको थियो । अजेयकी आमा पञ्चायत कालमा महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् । अजेयका एक भाइ र दुई बहिनी छन् । बाबुले भैंसेमा चुनखानीका निम्ति डाँडा किनेका थिए । पछिल्लो समयमा चुनढुंगा उत्खनन गरेर हेटौंडा सिमेन्टलाई बिक्री गरी जीविका सहज बनाएका थिए ।


पञ्चायती व्यवस्थाको अन्त्यतिर ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्टलाई निर्वाचनमा सुमार्गीले सघाएका थिए । मुख्य गरी उनी चुनढुंगा उत्खनन गरेर उद्योगलाई बिक्री गर्ने गर्थे । चुनढुंगा उत्खनन गर्ने क्रममा रूख काटेर बिक्री गरेको आरोपमा २०४७ मा जिल्ला वन कार्यालयले उनलाई पक्राउ गरेर सात दिन थुनामा राखेको थियो । २०५७/०५८ सम्म उनको परिवारको आर्थिक अवस्था राम्रो थिएन ।


२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि उनको आर्थिक चलखेल ह्वात्तै बढेको हो । त्यतिबेलासम्म सुमार्गीले ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरसँग परिचय बनाइसकेका थिए । राजबहादुरकी पत्नी प्रेरणालाई सुमार्गीकी श्रीमती सम्झना अर्याल योग सिकाउँथिन् । जसले उनीहरूको पारिवारिक सम्बन्धलाई नजिक बनायो । राजा वीरेन्द्रको वंश नाश भएपछि तत्कालीन राजकुमारी श्रुति शाहका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति प्रेरणाका नाममा ल्याउने भूमिकामा सक्रिय रूपले सुमार्गी लागे । त्यति नै बेला उनले केही जग्गा हात पारेका थिए । त्यही बेला सम्पर्कमा आएका एक उद्यमी र राजबहादुर सिंहसँगको सान्निध्यबाट एनसेल (तत्कालीन मेरो मोबाइल) मा उनले केही सेयर हासिल गरे ।


२०५९ पछि सुमार्गी परिवार क्रमश: काठमाडौं बस्न थालेको हो । काठमाडौंमा उनी बालाजुको टाउन प्लानिङमा कोठा भाडा गरी बस्थे । २०६२/०६३ को आन्दोलनपश्चात् माओवादी शान्ति प्रक्रियामा आएपछि सुमार्गीको चलखेल तीव्र गतिले अघि बढ्यो । उनलाई माथि उल्लिखित उद्यमीले नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गराइदिएका हुन् । त्यसपश्चात् टेलिकमको सेयर खरिदबिक्रीको अपारदर्शी प्रक्रियामार्फत अन्य केही व्यापारी र नेतासँगै सुमार्गीले पनि ठूलो धनराशि हात पारेका हुन् ।


अहिलेसम्म आइपुग्दा सुमार्गीको काठमाडौंमा अथाह चल/अचल सम्पत्ति छ । काठमाडौंको विशालनगरमा करिब २० रोपनी जग्गामा बनेको फ्रान्सेली राजदूतको निजी निवास सुमार्गीको स्वामित्वमा छ । तीनकुने–थापाथली क्षेत्रको दर्जन ठाउँमा उनको घरजग्गा छ जसको मूल्य अर्बौं हुन आउँछ ।

प्रकाशित : पुस २७, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?