२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बासस्थान विनाशले गैंडा संकटमा

काठमाडौँ — चितवन निकुञ्जमा बासस्थान विनाश ५० प्रतिशतले ह्रास आए सय वर्षपछि एकसिंगे गैंडाको संख्या ४ सय हाराहारीमा सीमित हुने विज्ञहरूले चेतावनी दिएका छन् । चोरी सिकारी पूर्णत: रोकिए पनि बासस्थान विनाशको दर बढदै जाँदा त्यसको प्रत्यक्ष असर गैंडाको वंश विस्तारमा परेको विज्ञको निष्कर्ष छ । 

बासस्थान विनाशले गैंडा संकटमा

बर्सेनि दुई प्रतिशतका दरले चितवन निकुञ्जमा गैंडाको आहार, घाँसे मैदान, पानीका घोल र तालतलैयालगायत बासस्थान विनाश हुँदै गएको छ । ‘माइकेनिया म्याकारान्था’ नामको मिचाहा प्रजातिको वनस्पतिको उच्च दरको फैलावटले गैंडाले मन पराउने घाँसे प्रजाति र पानीका घोल छोपिएका छन् ।


गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली र नरेश सुवेदी, वन्यजन्तुमै विद्यावारिधि गरिरहेका बाबुराम लामिछाने, जुलोजिक सोसाइटी अफ लन्डन, बेलायतका राजन अमिन र ‘वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया’ का यादभेन्द्रदेव भी झालाले चितवन निकुञ्जमा ७ वर्ष गरेको अध्ययनले पछिल्लो समय गैंडाका लागि बासस्थान विनाश सबभन्दा चुनौती बनेको निष्कर्ष निकालेको हो । उनीहरूले पछिल्ला वर्षमा चोरी सिकारभन्दा पनि बासस्थान विनाश चिन्ताको विषय बनेको उल्लेख गरेका छन् ।


उनीहरूले सन् २००९ देखि २०१५ सम्म चितवन निकुञ्जका गैंडाबारे अध्ययन गरेका हुन् । २६ वर्षयता निकुञ्जको मुख्यालय रहेको कसरादेखि पूर्वी क्षेत्रमा ४९ प्रतिशतले गैंडाको संख्यामा ह्रास आएको छ । चितवनका गैंडाको बासस्थान र आहारको अवस्थाका साथै माइकेनिया म्याकारान्थाबारे विद्यावारिधि गरेका सुवेदीका अनुसार सन् २००० मा चितवनमा पहिलोपटक माइकेनिया देखा परेको थियो ।


९५२.६३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको चितवन निकुञ्जमा गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र छ । त्यसमा पनि बर्सेनि दुई प्रतिशतका दरले बासस्थान विनाश भइरहँदा त्यसको प्रत्यक्ष असर एकसिंगे गैंडा र तिनको वंश विस्तारमा परेको उनीहरूको निष्कर्ष छ । गैंडा चितवन निकुञ्जमा पर्यटकको मुख्य आकर्षण र निकुञ्जको आम्दानीको प्रमुख स्रोत हो । वन्यजन्तु सफारीका लागि चितवन निकुञ्ज विश्वमै विख्यात छ । विश्वमै चितवन गैंडाको दोस्रो ठूलो बासस्थान भएको निकुञ्ज हो । पहिलो नम्बरमा भने भारतको काजीरंगा पर्छ ।


उनीहरूले निकुञ्जले धान्न सक्ने (क्यारिङ क्यापासिटी) गैंडाको संख्या ८ सयलाई आधार मानेर गैंडाको विद्यमान अवस्था, बासस्थानको अवस्था, चोरी सिकार, आहारको उपलब्धता र एक सय वर्षपछि पर्न सक्ने सम्भावित चुनौतीबारे अध्ययन गरेका हुन् । विशेषज्ञहरूले चितवन निकुञ्जसँग ८ सय गैंडा धान्न सक्ने क्षमता रहेको पहिल्यैदेखि बताउँदै आएका छन् । पछिल्लो गणनाअनुसार चितवनमा ६ सय ५ वयस्क गैंडा छन् ।


अध्ययनले गैंडा चोरी सिकार बर्सेनि शून्य कायम गराउन सफल भए पनि अहिले भएको बासस्थानमध्ये ५० प्रतिशत बासस्थान विनाश हुँदा अबको एक सय वर्षपछि गैंडाको संख्या ३ सय ९५ मा झर्न सक्ने संकेत गरेको छ । तर, बासस्थान विनाश पूर्ण रूपमा रोकेर सुधार ल्याए पनि बर्सेनि १० का दरले वयस्क पोथी गैंडाको चोरी सिकार भए सय वर्षपछि चितवनबाट गैंडाको वंश विनाश हुन (शून्य) सक्ने उनीहरूको दाबी छ ।


‘पोथी गैंडाको लगातार चोरी सिकार हुँदा वंश विस्तारमै असर पुग्छ,’ अनुसन्धानकर्ता सुवेदीले कान्तिपुरसित भने, ‘सिकार पूर्ण रोकिए पनि बासस्थान विनाश दर बढ्यो भने पनि गैंडाको संख्या घट्छ ।’ अध्ययनअनुसार बर्सेनि ६ वयस्क पोथी र ६ वयस्क भालेको चोरी सिकार र अहिले भएको बासस्थानमा ५० प्रतिशत बासस्थान विनाश भयो भने सय वर्षपछि गैंडाको संख्या १ सय ६१ मा सीमित हुन सक्ने देखिन्छ ।


सन् २०११ पछि चितवन निकुञ्जमा चोरी सिकार नियन्त्रणमा आए पनि गैंडाले मन पराउने आहार र पानीका घोललगायत घाँसे मैदानजस्ता बासस्थानको विनाश भने बढ्दो छ । वंश विस्तारका लागि आहारको सन्तुलन आवश्यक पर्छ । उनीहरूका अनुसार बर्सेनि ५ वयस्क पोथी र ५ वयस्क भाले गैंडाको चोरी सिकार भए पनि बासस्थान विनाश पूर्णत: रोक्न सके गैंडाको संख्या निराशाजनक हिसाबले घट्ने छैन ।


थोरै संख्यामा चोरी सिकार भइरहँदा पनि बासस्थान व्यवस्थापन गर्न सके एक सय वर्षपछि पनि गैंडाको संख्या ७ सय ८६ को हाराहारीमै रहने सुवेदीले उल्लेख गरे । बर्सेनि १८ वयस्क भालेको चोरी सिकार भयो र अहिले भएको बासस्थानमा ५० प्रतिशत विनाश भयो भने पनि गैंडाको संख्यामा त्यति धेरै उतारचढाव आउने देखिन्न । त्यसो भइहाल्यो भने पनि एक सय वर्षपछि गैंडाको संख्या ७ सय ८६ को हाराहारी पुग्ने अध्ययनको निक्र्योल छ । तर, बर्सेनि ५ वयस्क पोथी र ५ वयस्क भालेको चोरी सिकार भयो र अहिले भएको बासस्थान पनि ५० प्रतिशत विनाश भयो भने संख्या २ सय ६७ मा खुम्चिनेछ । पछिल्ला दुई वर्षयता चितवन निकुञ्जमा चोरी सिकारले दुई गैंडा मरेका छन् । त्योभन्दा बढी करिब दुई दर्जन गैंडा प्राकृतिक, विद्युतीय तारबार र खाडलमा परेर मरेका छन् । कतिपय गैंडा निकुञ्जभित्रको सिमसार, घोल र खाडलमा परेर पनि मरेका छन् । त्यसले अहिलेको बासस्थान व्यवस्थापन पक्षमा त्यति ध्यान नपुगेको प्रस्टिने विज्ञहरू बताउँछन् ।


अध्ययनले चोरी सिकार र माइकेनिया म्याकारान्था दुवै नियन्त्रण गर्न सके चितवनबाट बर्सेनि ८ भाले र ५ पोथी गरी १३ गैंडा अन्य स्थानमा स्थानान्तरण गर्न सकिने आसलाग्दो परिणाम देखाएको छ । अहिले पनि चितवनबाट बर्दिया र शुक्लाफाँटा निकुञ्जमा गैंडा स्थानान्तरण भइरहेको छ । उनीहरूले अध्ययनका क्रममा विभिन्न मोडलको प्रयोग गरेका छन् । उनीहरूको अध्ययनले चोरी सिकार नियन्त्रणसँगै बासस्थान विनाश रोक्नेतिर पहलकदमी गर्न सुझाएको छ ।

प्रकाशित : पुस २८, २०७४ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?