१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एमबीबीएस प्रश्नपत्र चुहावटमा ६ जना भ्रष्टाचारी ठहर

कृष्ण ज्ञवाली

काठमाडौँ — विशेष अदालतले तीन वर्षअघि गोल्डनगेट कलेजमा भएको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतले बुधबार प्रश्नपत्र चुहावट प्रकरणमा मुख्य योजनाकार मानिएका प्रभातकुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको रजिस्ट्रार भीम श्रेष्ठले जानकारी दिए । 

एमबीबीएस प्रश्नपत्र चुहावटमा ६ जना भ्रष्टाचारी ठहर

अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले कलेजका निर्देशक देवीराम पाण्डेलाई ९ महिना कैद तथा ५ लाख ५ हजार जरिवाना फैसला सुनाएको छ । हरिहर भनिने खेचरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय रुपैयाँ जरिवाना तथा धर्मेन्द्र यादवलाई एक वर्ष कैद र ९ लाख रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, जीवछकुमार यादवलाई १ वर्ष कैद र ५ लाख २ हजार रुपैयाँ जरिवाना र महेश्वर यादवलाई २ वर्ष कैद र १७ लाख रुपैयाँ जरिवाना भएको छ । शैफ अख्तर र घनेन्द्रप्रसाद संग्रौलाले भने सफाइ पाएका छन् । ‘आरोपितमध्ये अरूका हकमा अख्तियारको अभियोग ठहर हुन आयो, दुई जनाका हकमा प्रमाण नपुगेकाले सफाइ पाएका छन्,’ रजिस्ट्रार श्रेष्ठले भने ।


कलेजका निर्देशक प्रभातकुमार कुशवाहको योजना र रणनीतिमा एमबीबीएस प्रश्नपत्र चुहावट भएको भनी अख्तियारले अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । २०७१ मंसिर २० को घटनामा एक महिना लामो अनुसन्धान गरी अख्तियारले कुशवाहको योजनामा पाण्डेले प्रश्नपत्र चुहावट गरेको निष्कर्ष निकालेको थियो ।


‘कैद सजाय सकेर रिहा भएलगत्तै कुशवाहले फेरि प्रश्नपत्र चुहावट गर्ने र त्यसबाटै कमाउने धन्दा थालेको देखिन्छ,’ अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, ‘कुशवाहको प्रलोभनमा परेर गोल्डेनगेटका लगानीकर्ता एवं निर्देशक पाण्डे उक्त योजनामा सामेल भएको पुष्टि भयो ।’ अध्यापक पाण्डे त्यतिबेला होस्टल र स्नातक कार्यक्रमका इन्चार्ज थिए । अन्य उपायबाट प्रश्नपत्र चुहावट गर्न सम्भव नभएपछि परीक्षा केन्द्रबाट प्रश्नपत्रको फोटोकपी गर्ने योजना बनेको थियो । कुशवाह त्यसअघि पनि प्रश्नपत्र चुहावट विवादमा मुछिएका थिए ।


चार विद्यार्थीबाट ३४ लाख २५ हजार रुपैयाँ उठाएका कुशवाहले परीक्षा सुरु हुनुअघि नै शिक्षा मन्त्रालयबाटै प्रश्नपत्र चुहावट गर्ने र बढीभन्दा बढी प्रति बेचेर रकम संकलन गर्ने तयारी गरेका थिए । मन्त्रालयको सुरक्षा र कडाइका कारण चुहावट योजना विफल भएपछि कुशवाहले परीक्षा केन्द्रबाट प्रश्नपत्र फुत्काउने योजना बनाएर पाण्डेलाई योजनामा सामेल बनाएको खुलेको छ । ‘४० लाख रुपैयाँबाट कुराकानी भएर ५ लाख रुपैयाँमा सहमति भएको देखिन्छ,’ अख्तियारको आरोपपत्रमा भनिएको थियो । शिक्षा मन्त्रालयका प्रतिनिधिको हातबाट प्रश्नपत्र लिएर परीक्षाहल पुगेका कर्मचारीमध्ये हरिहर भनिने खेचरनाथ सापकोटाले पाण्डेको निर्देशनमा प्रश्नपत्र फोटोकपी गरेका थिए । उक्त फोटोकपी पाण्डेलाई दिएलगत्तै कलेजका अध्यापकसमेत रहेका सापकोटा पक्राउ परेका थिए । टेलिफोन सम्पर्कका आधारमा संलग्न देखिएका शैफ अख्तरले १० लाख दिलाइदिन्छु भन्दै कुशवाहलाई मेसेज गरेको खुलेको छ । अर्का आरोपित जीवछकुमार यादवले ५ लाख २५ हजार रुपैयाँ कुशवाहलाई बुझाएका थिए ।


प्रश्नपत्र चुहावटपछि संलग्नहरूको योजना, वस्तुगत प्रश्नको उत्तर छनोटका लागि तयारी अवस्थामा राखिएका विज्ञको टोलीलगायतबारे आयोगको छानबिन प्रतिवेदन मौन थियो । एमबीबीएस तयारी कक्षा सञ्चालन गर्ने नेम, अर्बिटलगायतमा तत्कालीन अख्तियार प्रमुख लोकमानको निर्देशनमा खानतलासी भए पनि कुनै प्रमाण भेटिएन । लोकमानको कामकारबाहीको विरोध गरेकाले त्यस क्रममा अख्तियारले नेमका सञ्चालक नवीन शर्मालाई समेत पक्राउ गरेको थियो ।

प्रकाशित : पुस २८, २०७४ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?