इस्लिङटनमा बेलायतको एमबीए

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको एमबीए कार्यक्रम काठमाडौंको इस्लिङटन कलेजमा पढाई हुने भएको छ । कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहितदुई वर्षे एमबीए कार्यक्रम सुरु गरेको जनाएको छ ।


मेट्रोपोलिटियनको सहकार्यमा सुरु हुने कार्यक्रम सञ्चालन गर्न शिक्षा मन्त्रालयले समेत अनुमति दिइसकेको छ। ‘अनुसन्धानमा आधारित दुई वर्षिय कोर्ष अन्तर्गत नेपालबाट बिदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीको विषयमा सुक्ष्म अध्ययन गर्ने यो कार्यक्रम सञ्चालन गरिएको हो,’ शुक्रबार पत्रकार सम्मेलनमा कलेजका प्रमुख कार्यकारी निर्देशक सुलभ बुढाथोकीले भने।

‘म्यानेजेरियल लेभल’ मा दुई वर्षदेखि रोजगारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी संचालन गर्न लागिएको यो कार्यक्रम चीनको अलिवावा डट कम र युनिभर्सिटीअफ द थाइल्याण्ड चेम्बर अफ कमर्शसंग सहकार्य गरिएको उनले बताए।

पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसंगै चिनिया भाषाको एचएसके तेस्रो लेभलको भाषा समेत सिक्नु पर्ने हुन्छ। भाषासंगै अलिवावा डट कमका विज्ञ र त्यससंग सम्बन्धीत विज्ञसंग तालिमको व्यवस्था गरिएको छ। चाइनामा अध्ययन गरेपछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था गरिएको कलेजले जनाएको छ।

पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्षको अध्ययनगर्ने अवसर पाउने बुढाथोकीले बताए। चीन र थाइल्याण्डमा अतिरिक्तकोर्ष अध्ययन गर्न ८ लाख ५० हजार रुपिया लाग्ने उनले बताए। चिनियाँ भाषा नपढने, थाइल्याण्ड र चीनको कक्षामा सहभागी नहुने हो भने ५ लाख ५० हजारमा अध्ययन गर्न सकिने उनले बताए।

प्रकाशित : पुस २८, २०७४ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

हार्लीमा हुरुक्कै

२१०० सीसीको यो हार्ली चलाउन एकदमै गाह्रो छ । भाइब्रेसन भएर हड्डी नै भाँचिएलाजस्तो हुन्छ । हेर्दाचाहिँ वाह हुन्छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतमा गोर्खा किचेन सञ्चालन गर्दै १८ वर्षयता हार्ली बाइक हाँकिरहेका अन्दीप आचार्यको यात्राबारे मनबहादुर बस्नेत लेख्छन्:‘बिग्रिएर लन्डन पसेको ।’ सुन्दा अनौठो लाग्यो । 

बेलायत, अमेरिका र युरोपेली मुलुक पुग्न मानिसले केसम्म गर्दैनन् । तर अन्दीप आचार्य चाहनाविपरीत बेलायत पुगेका रहेछन् ।
उनी १७ वर्षको छँदा नेपाल कमर्श क्याम्पस मीनभवनमा ११ कक्षा (आईकम) का विद्यार्थी थिए । त्यो उमेरमा बाइक थियो, गर्लफ्रेन्ड थिई । घरेलु माग फाराम भरेपछि आपूर्ति गर्न आमाले त्यति धेरै आनाकानी गर्दिन थिइन् । घरको एक्लो छोरो । काठमाडौंको मीनभवनमा जन्मिएका उनी सुखमै हुर्किरहेका थिए । गलत बाटो भन्ने पत्तो थिएन तर उनी ग्याङ फाइटर भइसकेका थिए ।
दिनहुँ फाइट चल्थ्यो । कहिले सानो कहिले ठूलो । एकचोटि उनको साथीलाई कलेजले निकालिदिएछ । निहुँ थियो, एउटी केटी औधी मन परेपछि राखेको प्रेम प्रस्ताव । कराँतेका ब्ल्याकबेल्ट उनले क्याम्पस प्रमुखलाई थप्पड हानेछन् । छिनभरमै घटना फैलियो । आमालाई तनाव भयो । ‘कराँते खेलेकाले साथीलाई अन्याय पर्दा यति पनि नगरे आफ्नो ब्ल्याकबेल्टकै बेइज्जत हुन्छ भन्ने सोचेछु,’ ४० वर्षीय अन्दीपले भने, ‘त्यो ठूलो
भूल थियो ।’

त्यही घटनाले उनको जीवन मोडियो । उनको परिवारले छोरोलाई ६ महिनाका लागि लन्डन जान उर्दी जारी गर्‍यो । अन्दीप मानेनन् । सुध्रिने वाचा गरे । कसम खाए । लुके पनि । तर उर्दी उल्टिएन । तीनपल्ट भिसा ‘क्यान्सिल’ गरे पनि उनी लन्डन उड्न बाध्य भए । घरमा भने अन्दीप चाँडै फर्किहाल्छन् भनेर बाजी नै पर्‍यो । तर उनी फर्किएनन् ।
लन्डनमा बस्ने व्यवस्था अंकलको घरमा गरिएको थियो । तीन महिनापछि अंकलले एउटा रेस्टुरेन्टमा काम लगाइदिए, वेटरको । अंकलले लोभ देखाइदिए, ‘दुई–तीन महिना काम गर्‍यौ भने एक लाख रुपैयाँ लिएर नेपाल जान सक्छौ ।’ त्यत्रो पैसा नेपाल लगेर मोज गर्छु भन्ने उनलाई लाग्यो । तर काम गर्न थालेपछि तलब बढेको बढ्यै भयो । भाँडा पनि माझे । एक वर्षमा त कुक बने । मालिकसँग झगडा परेपछि उनले आफैं रेस्टुरेन्ट खोले । अनि खुबै दु:ख गरे ।
उनको रेस्टुरेन्टले विस्तारै पिकअप लियो, पहिले उनले काम गरेको रेस्टुरेन्ट सुक्यो । उनले नटिंघममा रेस्टुरेन्ट किनेर उनले ‘गोरखा किचन’ बनाए । रेस्टुरेन्ट चम्कियो । काम गर्दागर्दै कहिलेकाहीं हार्ली मोटरसाइकल घुरर्र गरेको आवाज सुन्दा मात्रै पनि उनी सारा काम छोडेर निस्कन्थे । दृश्य लोप नहुन्जेलसम्म एकटकले हेरिरहन्थे । ‘यसमा बसेर एकचोटि फोटो खिच्न पाए...,’ उनी सोच्थे । तर उनले किनेर कुदाउँछु भन्ने सोचेकै थिएनन् । लन्डनमा हार्लीको आवाजले उनलाई नेपालमा साथीहरूसँग गरेको वचन सम्झाइदियो । उनले ‘लन्डनमा एउटा गोरालाई साथी बनाएर हार्ली मोटरसाइकलमा बसेको फोटो देखाउने’ भनेका थिए ।
उनले ९ कक्षामा पढ्दै हार्लीबारे थाहा पाएका थिए । फिल्ममा देखेको बाइक उनको मुटुमै
गढ्यो । कमाइ राम्रो भएपछि उनी हार्ली किन्न सुर कस्न थाले । लाइसेन्स लिनुअघि नै उनले स्कटल्यान्ड गएर साढे १३ हजार पाउन्डमा १६ सय सीसीको हार्ली डेभिड्सन फ्याट किने । उनलाई त्यसबेलासम्म पनि हार्ली डेभिड्सन भन्ने मात्रै थाहा थियो ब्रान्ड, मोडल पत्तो थिएन । दुई हप्तापछि मोटरसाइकल घरमै ल्याइदियो । उनी लाइसेन्स लिने तयारीमा ट्रेनिङ सेन्टरमा भर्ना भए । उनलाई सिकाउनेले टेस्ट दिन सुजुकी बाइक थमायो । उनलाई मन परेन । उनी आफ्नै हार्लीतिर लागे ।
परीक्षा दिने स्थानमा पुगेपछि परीक्षकले सोधी, ‘तेरो टेस्ट दिने बाइक खोइ ?’
‘त्यहाँ छ ।’ उनले हार्ली देखाए ।
‘यो त नयाँ छ,’ उसले भनी ‘हिजो मात्रै किनेको,’ अन्दीपले छाती फुलाए ।
‘कति सीसीको ?’ परीक्षकले सोधी ।
‘१६००’ उनले भने ।
‘नेभर सक्सेस’, परीक्षकको मुखबाट फुत्कियो ।
‘नभए हुन्न त,’ उनले सोचेका थिए ।
उनलाई परीक्षण गर्न त्यही केटी आई । केटीले विस्तारै गुडाउन भनी । फेरि स्पिड बढाउन निर्देशन दिई । अनि सुरुमै युटर्न लिन भनी । युटर्नको पालो भने खासमा अन्तिमतिर आउँछ । अन्दीपले अघिल्लो दिन अभ्यास गरेजस्तै युटर्न गरिदिए । आधा घण्टाको टेस्ट क्षणमै सकियो ।
‘१६०० सीसी हार्ली बाइकमा अन्दीपले लाइसेन्स पायो’ भनी खबर फैलियो । हार्ली राइडर समूह अन्दीपलाई खोज्दै आयो र उनी पनि त्यसमा सामेल भए । सौखिनहरूको पहिलो रोजाइमा हार्ली पर्ने गर्छ । खर्चालुले मात्रै यो बाइक धान्न सक्छन् । विश्वमै हार्ली राइडर्सको बेग्लै सान छ ।

अन्दीप पनि १८ वर्षयता हार्ली हुइँक्याइरहेका छन् । समूहमा आबद्ध भएर केही रेकर्ड पनि बनाएको उनले बताए । ३३० मिलिमिटर मोटो चक्कावाला हार्ली छ, उनीसँग । अमेरिकामा गएरै उनले यो आफ्नो डिजाइनअनुसार बनाउन लगाएका हुन् । ‘२१०० सीसीको यो हार्ली चलाउन एकदमै गाह्रो छ । भाइब्रेसन भएर हड्डी नै भाँचिएलाजस्तो हुन्छ । हेर्दाचाहिँ वाह हुन्छ,’ उनले भने । रड्स एन्ड राइड्स कम्पनीले यो बनाइदिएको हो । ३९ हजार पाउन्ड लाग्यो । यसलाई उनले गोर्खा किचेनको बारभित्र सजाएका छन्, जसले सौखसँगै व्यापार पनि पूरा गरेको छ । बूढादेखि नातिसम्म ‘जायन्ट हार्ली’हेर्न आउँछन् ।
गोर्खा किचनमा हार्ली टेबुल छुट्टै छ, जहाँ हरेक आइतबार हार्ली राइडर समूहको बैठक हुन्छ । हार्लीका फोटाले भित्ता रंगीन बनेको छ । बर्सेनि नेपाल आउँदा पनि उनी हार्लीमै मुक्तिनाथ पुगेकै हुन्छन् । लाइसेन्स निकाल्दा प्रयोग भएको १६०० सीसीको फ्याटसँगै उनीसँग रड्स एन्ड राइड्सको ३०० बबर र ५०० सीसीको रोयल एन्फिल्ड कस्टोम क्लासिक छ । उनले ७५० सीसीको डुकाटी र हार्ली डेभिड्सन ५०० बेचेर भूकम्पपीडित नेपालीलाई ४७ लाख रुपैयाँ सहयोग गरेका थिए ।
उनी सेफ रुट च्याप्टरका २५१ सदस्यमा पनि छन् । नेपालमा हार्ली राइडर औंलामा गन्न मिल्ने छन् । ‘हार्लीवाला अरू सप्पै गोरा छन्, हामी मात्रै एसियन,’ उनले भने । उनको समूहले वल्र्ड टुर गर्छ । आफू हार्लीमा युरोपका अधिकांश देश पुगेको बताउँछन् । फ्रान्स–इटाली–स्विट्जरल्यान्ड ट्रिपमा जाँदाको क्षण उनी बेस्सरी सम्झन्छन् । १० दिने यात्रा । लोभलाग्दा नागबेली सडक । तीनै थरीका मौसम । कहिले पानी, कहिले घाम । ‘फ्रान्सको गर्मी, स्विट्जरल्यान्डको चिसो । ओहो १ हामीलाई लुगा मिलाउनै कति गाह्रो परेको । फेरि त्यस्तो यात्रा गर्न पाऊँ,’ हालै नेपाल आएका उनले भने ।
१७ वटा हार्ली बाइक चढ्दै बेच्दै गरिसकेको उनले बताए । ‘पहिलोपल्ट किनेको फ्याट मोडल भने बेच्दिनँ । जीवनको ठूलो संस्मरण अडिएको छ,’ उनले भने । हार्लीको नाम, आवाज र मूल्य विशेष रहेको उनको भनाइ छ । हार्लीमा यात्रा गर्ने नेपाली भनेर चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने उनी बताउँछन् । उनी हार्ली मालिकहरूको एचओजी म्यागेजिनमा पनि आइरहेका हुन्छन् । यसमाआउने धेरैको चाहना हुन्छ । त्यही म्यागजिनमा फोटो देखेका एक व्यक्तिले बेल्जियमको मञ्ज पुग्दा चिन्दा उनलाई एकदमै खुसी लागेको थियो ।
उनी बाइकका कति सौखिन भने हनिमुन नै बुलेट बाइकमा बिताइदिए । सन् २००९ मा विवाहलगत्तै उनी गोरखाको मनकामना, तनहुँको बन्दीपुर, पोखरा, पाल्पा, रानीघाट हुँदै सौराहा दुलहीलाई बुलेटमा राखेरै १५ दिने टुर गरेका थिए । ‘योभन्दा रमाइलो बाइकिङ के हुन्छ ?,’ उनले भने । ‘गाडीमा चढ्यो कि ढाड दुख्छ । बाइकमा भने आनन्द आउँछ,’ उनले सुनाए ।

प्रकाशित : पुस २८, २०७४ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्