१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कामचलाउ मन्त्री घुमेको घुम्यै

काठमाडौँ — सरकारको आयु सकिनै लाग्दा वनमन्त्री विक्रम पाण्डे सचिव र विभागीय प्रमुखलाई लिएर अनुगमनका नाममा दिनहुँजसो ‘अनावश्यक घुमघाम’ मा व्यस्त हुन थालेका छन् । पाण्डेले त्यस्तो घुमघाममा सरकारी खर्चमा नेपाली सेनाको हेलिकप्टर भाडामा लिएर दुरुपयोग गर्ने गरेका छन् ।  

कामचलाउ मन्त्री घुमेको घुम्यै

उनले गतसाता नेपाली सेनाको हेलिकप्टरमा रारा निकुञ्ज तथा ढोरपाटन सिकार आरक्ष भ्रमण गरेका थिए । उनका साथमा वन सचिव डा. युवकध्वज जीसी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडका, नेपाली सेनाका एक रथी र सेनाको निकुञ्ज र आरक्ष निर्देशनालय प्रमुख कृष्णप्रसाद सापकोटासमेत थिए । कुनै योजनाबिनै मन्त्रीसहितको टोली निकुञ्ज घुमेर फर्केको हो । समय अभावका कारण टोली शे–फोक्सुन्डो भने गएन । ‘मन्त्रीज्यूसमेत आउने भनेपछि सबै तयारी गरेर बसेको थिएँ,’ शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) रामदेव चौधरीले डोल्पाबाट टेलिफोनमा भने, ‘सबै तयारी खेर गयो । डीजी साहेबले भ्याइएन भन्नुभयो ।’

दुई महिनाअघि पनि मन्त्री पाण्डे, सचिव जीसी, महानिर्देशक खडका, मन्त्रालयका सहसचिव प्रेमनारायण कँडेल, प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेललगायतको टोलीले सेनाको हेलिकप्टरमा सगरमाथा र पर्सा निकुञ्ज भ्रमण गरेको थियो ।


सचिव जीसीले निकुञ्ज विभागको गतिविधि अनुगमन नै भ्रमणको मुख्य उद्देश्य रहेको दाबी गरे । ‘रारा निकुञ्जमा व्यावसायिक प्रयोजनका लागि जग्गा माग गरिएको छ,’ उनले भने, ‘त्यो पनि अवलोकन गरियो ।’ रारा निकुञ्जको मिलिचौरमा सुविधायुक्त होटल निर्माणका लागि एक कम्पनीले वन मन्त्रालयसँग जग्गा माग गरेको छ । होटल निर्माणको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ ।


रारा निकुञ्ज र ढोरपाटन भ्रमणमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिए पनि सेनासँग सम्बन्धित विषय भने भ्रमणमा नजोडिएको स्रोतको दाबी छ । रारा निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) चन्द्रशेखर चौधरीले मन्त्रीहरूको घुम्नेबाहेक अरू उद्देश्य आफूले नपाएको प्रतिक्रिया दिए । ‘१० बजे हेलिकप्टरमा आउनुभयो,’ राराबाट टेलिफोनमा उनले भने, ‘कार्यालय निरीक्षण गर्नुभयो, २ बजे फर्किनुभयो ।’


सगरमाथा र पर्सा निकुञ्ज भ्रमणका बेलामा भने सेनाले भूकम्पपछिको पुनर्निर्माणबारे देखाउन वनमन्त्रीसहित पुनर्निर्माण प्राधिकरणको टोलीका लागि हेलिकप्टर प्रयोग गरिएको दाबी गरेको थियो । सेनाका प्रवक्ता गोकुल भण्डारीले वार्षिक अनुगमन कार्यक्रमअन्तर्गत रारा र ढोरपाटनमा हेलिकप्टर प्रयोग गरिएको बताए । ‘कहिलेकाहीँ सामान ढुवानी गर्न पनि हेलिकप्टर प्रयोग गरिन्छ,’ भण्डारीले भने, ‘यसपटक पनि अनुगमनकै लागि हेलिकप्टर प्रयोग भएको हो ।’


रारा घुमेपछि मन्त्रीको टोली ढोरपाटन सिकार आरक्षको मुख्यालय, बागलुङ झरेको थियो । टोलीलाई नेपाली सेनाका मेजर अमरजंग थापाले स्वागत गरेका थिए । ‘ढोरपाटनमा पनि सामान्य ब्रिफिङबाहेक अरू काम थिएन,’ स्रोतले भन्यो, ‘केहीबेर आरक्षको सामान्य अवलोकनपछि टोली काठमाडौं फर्कियो ।’


महानिर्देशक खडकाले आफू पनि रारा नगएकाले मन्त्रीसहितको अनुगमनको चाँजो मिलाएको बताए । ‘ढोरपाटन भने फर्किंदा बाटामै पर्ने भएकाले ल्यान्ड गरेर अनुगमन गरेका हौं,’ उनले भने । लामो समयदेखि वन सेवामा कार्यरत रहे पनि महानिर्देशक खडकासित निकुञ्ज विभागमा पहिलोपटक नेतृत्व गरेकाले निकुञ्ज/आरक्ष व्यवस्थापनको प्रत्यक्ष अनुभव छैन । सचिव जीसी पनि वनमा नयाँ हुन् । वन, वातावरण, कृषि र पशु सेवाको क्लस्टरबाट वनमा सचिव भएका उनीसँग कृषि र पशु सेवाको अनुभव छ ।


मन्त्री, सचिव र महानिर्देशक जाँदासमेत ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल कार्यालयमा उपस्थित नभएपछि खडकाले उनलाई बबरमहलस्थित विभागको कार्यालय हाजिर हुने गरी निर्णय गरेका छन् । लामो समयदेखि कार्यालयमा अनुपस्थित भएको कर्मचारीको गुनासो र मन्त्रीलाई लिएर आउन लागेको जानकारी गराउँदा पनि आफू बागलुङ बजारमा रहेको र माथि जान ९ घण्टा लाग्ने बताएपछि मन्त्री, सचिवकै अगाडि विभागमा हाजिर हुने निर्णय गरेको खडकाले बताए । विभागले आरक्षका निमित्त प्रमुखको जिम्मेवारी पशुपति अधिकारीलाई दिएको छ । अधिकारी त्यहीं सहायक संरक्षण अधिकृत थिए ।


आरक्षको सम्पर्क कार्यालय बागलुङ बजारमा पनि छ । वार्डेन बरालले भने आरक्षकै कामको सिलसिलामा आफू सम्पर्क कार्यालयमा बसेर काम गरिरहेको बताए । ‘एकाएक डीजी साहेबले फोन गरेर आफूहरू ढोरपाटन आउन लागेको बताउनुभयो तर माथि जान साधन थिएन,’ बरालले भने, ‘काम गरिरहेकै बेला मलाई कारबाही भएको छ । त्यसैले म विभाग हाजिर हुन्नँ ।’


ढोरपाटनजस्तै मकालु वरुणको सम्पर्क कार्यालय खाँदबारी र ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रको सम्पर्क कार्यालय फुङलिङमा छ । त्यहाँका वार्डेनहरू सम्पर्क कार्यालयमै रहेर काम गर्छन् । आफूले पनि कहिलेकाहीँँ सम्पर्क कार्यालयमै बसेर आरक्षसँग सम्बन्धित विकास, निर्माण र व्यवस्थापनमा काम गर्ने गरेको बरालको दाबी छ । निकुञ्ज विभाग र मन्त्रालयमा भने बराल ढोरपाटनस्थित कार्यालयमा कमै मात्र बस्ने गरेको पहिलेदेखि नै आवाज उठ्ने गरेको थियो ।

प्रकाशित : पुस २८, २०७४ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?