३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नगरपालिकै बन्द गरेर कर्मचारी र जनप्रतिनिधि एनजिओको तालिममा भाग लिन सदरमुकाममा

प्रकाश अधिकारी

सुर्खेत — कार्यालय बन्द गरेर यहाँको पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु एक एनजिओद्वारा सञ्चालित तालिममा सहभागी हुन वीरेन्द्रनगर आएका छन् ।

नगरपालिकै बन्द गरेर कर्मचारी र जनप्रतिनिधि एनजिओको तालिममा भाग लिन सदरमुकाममा

युएसएआईडी साझेदारी विकास परियोजनाको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित स्थानीय सरकार, कार्यसञ्चालनसम्बन्धी अभिमुखीकरणमा सहभागी हुन बिहीबारदेखि जनप्रतिनिधि/कर्मचारी सदरमुकाम आएका हुन् ।


नगरपालिकाका वडा कार्यालय, विषयगत कार्यालय शुक्रबार पूर्ण रुपमा बन्द रहे । पञ्चपुरी–२ का यामु बिसीले नगरपालिका नेतृत्वको गैरजिम्मेवारपनप्रति कडा आक्रोश पोखे । ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनेपनि हाम्रा जनप्रतिनिधिले आफ्नै हैसियत ख्याल गर्न सकेनन्,’ उनले भने, ‘हुँदाहुँदा नगरपालिकामै चलाउन सकिने तालिम वीरेन्द्रनगरमा भएछ । यो भन्दा हेलचेक्र्याइँ अरु के हुन्छ ?’ उनले नगरपालिकाको मुख्य कार्यालयदेखि वडा कार्यालय सबै बन्द भएको टेलिफोनबाट जनाएका छन् ।


स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम शनिबारसम्म चल्नेछ । बाटो अवधीसहित कर्मचारी/जनप्रतिनिधिको चार दिन समय खर्च हुनेछ । जसले गर्दा अत्यावश्कीय सेवा लिनुपर्ने सर्वसाधारणहरु मर्कामा पर्ने बिसीले गुनासो गरे । पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधि/कर्मचारीलाई मात्र तालिम दिन वीरेन्द्रनगर बोलाएकामा सुरुमा केही जनप्रतिनिधि असन्तुष्टि जनाएका थिए । वीरेन्द्रनगरको ‘थ्रीस्टार’ लेभलको एक होटलमा सञ्चालित यस तालिमको नगरपालिका आफैं आयोजक हो । नगरप्रमुख उपेन्द्र थापाले आफूहरुको जस्तै तालिम जिल्लाका अन्य तहको पनि भएकाले प्रशिक्षकलाई सजिलो होस् भनेर आफूहरु वीरेन्द्रनगर आएको बताए ।


पञ्चपुरीमा तालिम हल र आवासको राम्रो व्यवस्था नभएकाले वीरेन्द्रनगरमा आयोजना गरिएको सुन्दर नेपाल संस्थाले बतायो । तालिमका प्रमुख अतिथि पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य यामलाल कँडेलले स्थानीय तह नै खाली गरेर जनप्रतिनिधिले दातृ निकायले जता बोलायो उतै नहिँड्न आग्रह गरेका थिए । ‘दातृ निकायलाई पनि स्थानीय तहको क्षमता विकासको नाममा जनताको काममा बाधा पर्ने गरी केन्द्रमा कार्यक्रम नगर्न मेरो सुझाव छ,’ कँडेलले शुक्रबार उद्घाटन सत्रमा भने । तालिमको सहजीकरणका लागि अरुण रेग्मी र विष्णुदत्त गौतम राजधानीबाट आएका छन् ।

प्रकाशित : पुस २८, २०७४ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?