१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहायक डिन नियुक्ति सच्याउन एमयूलाई अख्तियारको निर्देशन

विश्वविद्यालयले उल्टै भन्यो, ‘स्वायत्त संस्थाको निर्णय सम्मान गर’
प्रकाश अधिकारी

सुर्खेत — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)लाई इन्जिनियरिङ संकायको सहायक डिन नियुक्ति प्रक्रिया सच्याउन निर्देशन गरेको छ ।

सहायक डिन नियुक्ति सच्याउन एमयूलाई अख्तियारको निर्देशन

उजुरी परेको झण्डै १० महिनापछि अन्तिम निर्णय गर्दै अख्तियारले एमयू कार्यकारी परिषद्ले आवश्यक पदहरुको योग्यतालाई विनियम, निर्देशिका र कार्यविधि बनाई व्यवस्थित गर्नुको साटो पटके निर्णयका आधारमा फेरबदल गर्दै इन्जिनियर वीरेन्द्र खड्कालाई सहायक डिन नियुक्ति गरिएकाले तत्काल सच्याउन निर्देशन गरेको हो ।


कार्यकारी परिषद्ले २०७३ फागुन २ गते खड्कालाई दुई वर्षसम्मका लागि सहायक डिन नियुक्त गरेको थियो । सरकारी विश्वविद्यालयमा कम्तीमा १० वर्ष शिक्षण सेवा गरी अनुसन्धानरत काम गरेको, सह–प्राध्यापक हुनुपर्ने प्रावधानलाई कुल्चँदै उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले दलीय भागबण्डा मिलाउन तत्कालीन काठमाडौं इन्जिनियरिङ कलेजका उप–प्राध्यापक खड्कालाई सहायक डिन नियुक्त गरेका थिए । खड्काले सन् २०१६ मा इन्जिनियरिङमा स्नातकोत्तर (एमई) गरेलगत्तै त्यसको एक वर्षपछि अर्थात् २०१७ फेब्रुअरीमा एकाएक सहायक डिन (सह–प्राध्यापकस्तर) को नियुक्ति पाएका थिए ।


अख्यितारको निर्देशनमा व्यक्ति अनुकूल मापदण्ड बनाउनको सट्टा साझा मापदण्ड बनाउन भनिएको छ । ‘यस किसिमको क्रियाकलापले संस्थामा स्थिरिता नहुने र स्वेच्छचारिता बढ्ने हुनाले कार्यकारी परिषद्को उक्त निर्णय संशोधन गर्न अनुरोध गर्दछौं’ पत्रमा उल्लेख छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनिक नियमावली ०५९ को नियम १६५ मा डिनको योग्यतासँग अनुकूल हुने गरी सहायक डिनको नियुक्ति हुनुपर्नेमा नियमावलीविपरीत नियुक्ति भएकोमा उक्त निर्णय संशोधन गर्न सुझाव दिइएको हो । अख्यितारको पत्रपछि अब खड्कालाई पदमुक्त गर्न बाटो खुलेको छ । यसअघि विश्वविद्यालय पदाधिकारीहरुले सहायक डिन नियुक्ति वैधानिक भएको जिकिर गर्दै आएका थिए ।


विश्वविद्यालयको उल्टै निर्देशन

विश्वविद्यालयले सहायक डिन नियुक्ति प्रक्रियालाई सम्मान गर्न अख्यितारलाई उल्टै आग्रह गरेको छ । अख्तियारको सुर्खेत कार्यालयलाई हालै पत्राचार गर्दै विश्वविद्यालयले उक्त अनुरोध नमान्ने जवाफ फर्काएको हो । ‘विश्वविद्यालय स्वायत्त र स्वतन्त्र संस्था हो । सहायक डिन नियुक्तिको स्पष्ट योग्यता अन्य विश्वविद्यालयसँग पनि छैन’ पत्रमा अगाडि भनिएको छ, विश्वविद्यालयको मर्म र भावनालाई बुझेर निणयलाई सम्मान गर्न अनुरोध छ ।’ अख्यितारको आग्रह नटेरेको भन्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।


अनेरास्ववियूका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले स्वायत्त संस्थाको नाममा एमयू पदाधिकारीले मनोमानी गरेको आरोप लगाए । इन्जिनियरिङ संकायका विद्यार्थी निकुञ्ज पाण्डेले अख्तियारले स्पष्ट रुपमा सहायक डिन हटाउ भनिसक्दा समेत विश्वविद्यालय पदाधिकारीले नटेरेकामा आक्रोश पोखे । ‘लाखौं तिरेर इन्जिनियरिङ पढ्ने हामी विद्यार्थीको भविष्यमाथि पदाधिकारीले आफ्नो स्वार्थपूर्तिको माध्यम बनाएका छन्’ पाण्डेले भने ।


प्रकाशित : पुस २८, २०७४ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?