न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली
काठमाडौँ — सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा आठ जनाको आवेदन परेको थियो। आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा परेका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो।
विगत २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पराजुलीले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। पत्रकारिताका दौरानमा उनले गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत विभिन्न राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा काम गरिसकेका छन्।
पोखरा निवासी उनी यसअघि राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समिति सदस्य थिए। पत्रकारिताका क्रममा दर्जनौँ राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइसको वरिष्ठ पत्रकार पराजुलीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, चीन, भारत, दक्षिण कोरिया, हाइटी, जापान, थाइल्याण्ड, डेमोनिकन रिपब्लिकलगायत मुलुकको भ्रमण गरिसकेका छन्।
उनले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन्।
प्रकाशित : पुस २८, २०७४ १८:२१