डा.केसीले अनशन तोड्नुपर्छ : बार

कृष्ण ज्ञवाली

काठमाडौँ — न्यायालयको बेथितिविरुद्ध निष्क्रियजस्तै रहेको नेपाल बार एसोसिएसनले शुक्रबार एकाएक विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । बारले शुक्रबार एकाएक विज्ञप्ति जारी गरी न्यायपालिकालाई दबाबमा पार्ने गरी अनशनलाई निरन्तरता नदिन समेत अनशनरत डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

फाइल फोटो

बारको यो विज्ञप्ति कार्यसमितिका पदाधिकारीहरुको सल्लाहविना नै आएको हो। बार उपाध्यक्ष उषा मल्ल पाठकले बार कार्यसमिति पदाधिकारीहरुविच कुनै छलफल र सरसल्लाह नै नगरी विज्ञप्ति आएको बताइन्। ‘सल्लाहकार र कार्यसमितिको बैठक भनेर बजारभर होहल्ला भयो,’ उपाध्यक्ष पाठकले कान्तिपुरसित भनिन्, ‘कतिपय साथीहरु र मलाई नै कार्यसमितिबारे जानकारी छैन। सोझै विज्ञप्ति निकालिएको हुनुपर्छ।’

विज्ञप्तिमा हस्ताक्षर गरेका बार महासचिव खम्मबहादुर खातीले कुनै विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक नचाहिने बताए। ‘यस्ता कुरामा छलफल गर्न सचिवालय बनाइएको हुन्छ। अनौपचारिक रुपमा छलफल गरेर विज्ञप्ति निकालिएको हो।’ बारले डा. केसीको मागबारेमा सञ्चारमाध्यमहरुबाट प्रकाशित समाचारप्रति समेत आपत्ति जनाएको छ।

बारले डा. गोविन्द केसीको अनशन र प्रधानन्यायाधीशमाथि राजीनामा माग गरेको विषयमा विज्ञप्तिमा चारवटा विषयवस्तु अघि सारेको छ। केसीले अघि सारेको माग गलत उल्लेख गर्दै त्यसमाथि आम स्तरमा भएको समर्थनलाई समेत ‘गलत’ भनेको छ। डा. केसीलाई साधारण तारेखमा छाड्ने निर्णयको स्वागत गर्दै उसले अब अनशन जारी नराख्न डा. केसीलाई आग्रह गरेको छ।

उसले अनशन नगर्न/नगराउन भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। ‘साधारण ताखेरमा रिहा गरेकपछि पनि डा. केसीले अनशन जारी राखेकाले,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारको दबाब र प्रभाव स्वतन्त्र न्यायपालिकाको लागि अशोभनीय हुने हुँदा यसप्रकारको कार्य नगर्न नगराउन सम्बन्धित पक्षसँग बार हार्दिक अपिल गर्दछ।’

डा. केसीको अनशन र वक्तव्यले स्वतन्त्र, सक्षम, उत्तरदायीपूर्ण न्यायपालिकाप्रति आँच आउने, अदालतप्रति जनआस्था घटाउने, संविधान, ऐन कानूनको परिपालना नगर्ने जस्ता कामले प्रश्रय पाए गलत प्रक्रिया र पद्धतीको विकास हुने भन्दै नेपाल बारले कुनैपनि न्यायाधीशबारेमा गुनासो भए न्यायपरिषदमा उजुरी दिन पनि ध्यानाकर्षण गराएको छ।

‘माग पुरा भएपनि पनि डा. केसीले अनसनलाई निरन्तरता दिएकोमा हाम्रो आपत्ति हो,’ बार महासचिव खम्मबहादुर खातीले कान्तिपुरसित भने, ‘सबैले यस्तै माग राख्लान्, पुरा गर्दै जान सकिन्छ र?’ उनले यसअघि पूर्व–प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लागेपछि बिदा नबसेकाले केही कागजात छानविन भएकै कारणले प्रधानन्यायाधीश गोपाल पराजुली बिदा बस्न नपर्ने बताए।

जब कि महाभियोगपछि कार्की बिदामा बसेकी थिइन् भने महाभियोग लागेकै दिन साँझ गोपाल पराजुलीले कामु प्रधानन्यायाधीशको रुपमा पदबहाली गरेका थिए।

प्रकाशित : पुस २८, २०७४ १८:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ । 

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।

समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा आठ जनाको आवेदन परेको थियो। आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा परेका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो।

विगत २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पराजुलीले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। पत्रकारिताका दौरानमा उनले गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत विभिन्न राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा काम गरिसकेका छन्।

पोखरा निवासी उनी यसअघि राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समिति सदस्य थिए। पत्रकारिताका क्रममा दर्जनौँ राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइसको वरिष्ठ पत्रकार पराजुलीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, चीन, भारत, दक्षिण कोरिया, हाइटी, जापान, थाइल्याण्ड, डेमोनिकन रिपब्लिकलगायत मुलुकको भ्रमण गरिसकेका छन्।

उनले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन्।

प्रकाशित : पुस २८, २०७४ १८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT