१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

डा.केसीले अनशन तोड्नुपर्छ : बार

कृष्ण ज्ञवाली

काठमाडौँ — न्यायालयको बेथितिविरुद्ध निष्क्रियजस्तै रहेको नेपाल बार एसोसिएसनले शुक्रबार एकाएक विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । बारले शुक्रबार एकाएक विज्ञप्ति जारी गरी न्यायपालिकालाई दबाबमा पार्ने गरी अनशनलाई निरन्तरता नदिन समेत अनशनरत डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

डा.केसीले अनशन तोड्नुपर्छ : बार

बारको यो विज्ञप्ति कार्यसमितिका पदाधिकारीहरुको सल्लाहविना नै आएको हो । बार उपाध्यक्ष उषा मल्ल पाठकले बार कार्यसमिति पदाधिकारीहरुविच कुनै छलफल र सरसल्लाह नै नगरी विज्ञप्ति आएको बताइन् । ‘सल्लाहकार र कार्यसमितिको बैठक भनेर बजारभर होहल्ला भयो,’ उपाध्यक्ष पाठकले कान्तिपुरसित भनिन्, ‘कतिपय साथीहरु र मलाई नै कार्यसमितिबारे जानकारी छैन । सोझै विज्ञप्ति निकालिएको हुनुपर्छ ।’


विज्ञप्तिमा हस्ताक्षर गरेका बार महासचिव खम्मबहादुर खातीले कुनै विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक नचाहिने बताए । ‘यस्ता कुरामा छलफल गर्न सचिवालय बनाइएको हुन्छ । अनौपचारिक रुपमा छलफल गरेर विज्ञप्ति निकालिएको हो ।’ बारले डा. केसीको मागबारेमा सञ्चारमाध्यमहरुबाट प्रकाशित समाचारप्रति समेत आपत्ति जनाएको छ ।


बारले डा. गोविन्द केसीको अनशन र प्रधानन्यायाधीशमाथि राजीनामा माग गरेको विषयमा विज्ञप्तिमा चारवटा विषयवस्तु अघि सारेको छ । केसीले अघि सारेको माग गलत उल्लेख गर्दै त्यसमाथि आम स्तरमा भएको समर्थनलाई समेत ‘गलत’ भनेको छ । डा. केसीलाई साधारण तारेखमा छाड्ने निर्णयको स्वागत गर्दै उसले अब अनशन जारी नराख्न डा. केसीलाई आग्रह गरेको छ ।


उसले अनशन नगर्न/नगराउन भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । ‘साधारण ताखेरमा रिहा गरेकपछि पनि डा. केसीले अनशन जारी राखेकाले,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारको दबाब र प्रभाव स्वतन्त्र न्यायपालिकाको लागि अशोभनीय हुने हुँदा यसप्रकारको कार्य नगर्न नगराउन सम्बन्धित पक्षसँग बार हार्दिक अपिल गर्दछ ।’


डा. केसीको अनशन र वक्तव्यले स्वतन्त्र, सक्षम, उत्तरदायीपूर्ण न्यायपालिकाप्रति आँच आउने, अदालतप्रति जनआस्था घटाउने, संविधान, ऐन कानूनको परिपालना नगर्ने जस्ता कामले प्रश्रय पाए गलत प्रक्रिया र पद्धतीको विकास हुने भन्दै नेपाल बारले कुनैपनि न्यायाधीशबारेमा गुनासो भए न्यायपरिषदमा उजुरी दिन पनि ध्यानाकर्षण गराएको छ ।


‘माग पुरा भएपनि पनि डा. केसीले अनसनलाई निरन्तरता दिएकोमा हाम्रो आपत्ति हो,’ बार महासचिव खम्मबहादुर खातीले कान्तिपुरसित भने, ‘सबैले यस्तै माग राख्लान्, पुरा गर्दै जान सकिन्छ र ?’ उनले यसअघि पूर्व–प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लागेपछि बिदा नबसेकाले केही कागजात छानविन भएकै कारणले प्रधानन्यायाधीश गोपाल पराजुली बिदा बस्न नपर्ने बताए ।


जब कि महाभियोगपछि कार्की बिदामा बसेकी थिइन् भने महाभियोग लागेकै दिन साँझ गोपाल पराजुलीले कामु प्रधानन्यायाधीशको रुपमा पदबहाली गरेका थिए ।

प्रकाशित : पुस २८, २०७४ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?