पूर्वपञ्च पनि सहिद !

छिन्ताङ हत्याकाण्डका १६ र द्वन्द्वकालमा मारिएका ५ जनालाई सहिद घोषणा गरी परिवारलाई १०/१० लाख राहत दिने निर्णय
भिषा काफ्ले

काठमाडौँ — सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पञ्चायतकालमा प्रहरी प्रशासनद्वारा छिन्ताङमा १६ कम्युनिस्ट कार्यकर्ताको हत्या गरिएको घटना छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ । 

उद्योगमन्त्री सुनिलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषदको शुक्रबारको बैठकले २०३६ सालमा भएको छिन्ताङ घटनामा मारिएकालाई सहिद घोषणा गरी राहत दिने निर्णय गरेको हो ।

Yamaha

छिन्ताङमा कम्युनिस्ट कार्यकर्ता मारिँदा मुलुकको प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । हत्याकाण्ड थापाले नै गराएको आरोप कम्युनिस्ट पार्टीहरूले लगाउँदै आएका थिए । संयोगले थापाकै छोरा सुनिलबहादुरले उनीहरूलाई सहिद घोषणा प्रस्ताव मन्त्रिपरिषद लगेका हुन् । सुनिलबहादुरले संविधानसभाका दुवै चुनावमा छिन्ताङमा प्रचारप्रसार गर्दा घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्ने आश्वासन दिएका थिए ।

‘मैले छिन्ताङ पुगेर भोट माग्दै गर्दा सहिद घोषणामा पहल गर्छु भनेको थिएँ । भनेको पूरा हुदा मलाई गौरव लागेको छ,’ मन्त्री थापाले कान्तिपुरसित भने । कम्युनिस्ट पार्टीहरूले छिन्ताङ घटनालाई हत्याकाण्डको संज्ञा दिने गरेका थिए । मुलुकमा ६ जना कम्युनिस्ट प्रधानमन्त्री हुँदा पनि उक्त घटनामा मारिएका कार्यकर्तालाई सहिद घोषणा गरिएको थिएन ।

सहिद घोषणा भएकामा गोपाल आनन्दी राई, श्रीमाया राई (हांखिमा साइली), भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेशलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाइ, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राई छन् ।

छिन्ताङ हत्याकाण्ड हुँदा प्रधानपञ्च रहेका गोविन्द बालिङलाई समेत मन्त्रिपरिषदले सहिद घोषणा गरेको छ । माओवादी द्वन्द्वकालमा माओवादीबाट मारिएका चार जना पूर्वपञ्च र एक जना राप्रपा कार्यकर्तालाई पनि सहिद घोषणा गरिएको हो ।

माओवादीबाट हत्या गरिएका तत्कालीन बेलाहारा गाविसका अध्यक्ष गंगा जोशी, तत्कालीन मुगा गाविसका रामजी थापा, राजन भट्टराई र तत्कालीन भीरगाउ गाविसका दीपक दाहाल पनि सहिद घोषणा भएका छन् ।

प्रकाशित : पुस २८, २०७४ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रपति ट्रम्पले केही मुलुकलाई 'सीटहोल' देशहरु भनेपछि........

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका आप्रवासीहरुको सन्दर्भलाई लिएर गरेको एक टिप्पणी विवादमा परेको छ । संसारभरका सञ्चार माध्यम त्यो शब्दको अनुवाद र विश्लेषणमा लागेको छ ।

तस्बिर : बीबीसी ।


बीबीसीका अनुसार ट्रम्पले अप्रवासी सम्बन्धी नियमका बारेमा सिनेटरहरुसंग भएको छलफलका क्रममा प्रश्न गरेका, 'हामीलाई ति 'सीटहोल' (फहोरी स्थान) देशका नागरिकहरु यहाँ किन ल्याउनु पर्यो?'

यो शब्द ति मुलुक र ति मुलुकका नागरिकका लागि अपमानजनक मानिएको छ। यही शब्दका कारण ट्रम्प आफ्रिकी मुलका अमेरिकी संस्थाहरु, आफ्नै पार्टी तथा विपक्षी साँसदहरुको निसानामा परेका छन्। उनको अलोचना भइरहेको छ।

खास गरेर विभिन्न प्राकृतिक प्रकोप तथा युद्ध जस्ता मानव सृजित विपत्तिबाट परेका मुलुकका नागरिकहरुलाई दिइने 'टेम्पोररी प्रोटेक्सन स्टाटस' अध्यागमन व्यबस्थालाई अन्त्य गर्ने सम्बन्धमा भएको छलफलका क्रममा उनले यो शब्द प्रयोग गरेका हुन्।

खासमा एलसाल्भडोर, हाइटीलगायतका केही मुलुकका नागरिकलाई दिइदै आएको उक्त सुविधा कटौतीका लागि राष्ट्रपति ट्रम्प दृढ छन् भने केही सिनेटरहरु त्यसको विरुद्धमा छन्। सरकारको पछिल्लो आदेशले करिव २ लाख साल्भडरियनहरु घरफिर्ता हुनुपर्ने बताइएको छ।

ट्रम्पल् प्रयोग गरेको उक्त शब्दलाई संयुक्त राष्ट्रसंघको एक अधिकारीले 'जातिवादी' को संज्ञा दिएको बताइएको छ। तर, राष्ट्रपति ट्रम्पले भने निक्कै समयपछि आफुले क्त शब्द प्रयोग नगरेको उल्लेख गरेका छन्।

बीबीसीले ट्रम्पको उक्त शब्द कुन भाषामा कसरी अनुवाद भएको छ भन्ने पनि रोचक जानकारी दिएको छ।

प्रकाशित : पुस २८, २०७४ १८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT