२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

पूर्वपञ्च पनि सहिद !

छिन्ताङ हत्याकाण्डका १६ र द्वन्द्वकालमा मारिएका ५ जनालाई सहिद घोषणा गरी परिवारलाई १०/१० लाख राहत दिने निर्णय
भिषा काफ्ले

काठमाडौँ — सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पञ्चायतकालमा प्रहरी प्रशासनद्वारा छिन्ताङमा १६ कम्युनिस्ट कार्यकर्ताको हत्या गरिएको घटना छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ । 

पूर्वपञ्च पनि सहिद !

उद्योगमन्त्री सुनिलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषदको शुक्रबारको बैठकले २०३६ सालमा भएको छिन्ताङ घटनामा मारिएकालाई सहिद घोषणा गरी राहत दिने निर्णय गरेको हो ।


छिन्ताङमा कम्युनिस्ट कार्यकर्ता मारिँदा मुलुकको प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । हत्याकाण्ड थापाले नै गराएको आरोप कम्युनिस्ट पार्टीहरूले लगाउँदै आएका थिए । संयोगले थापाकै छोरा सुनिलबहादुरले उनीहरूलाई सहिद घोषणा प्रस्ताव मन्त्रिपरिषद लगेका हुन् । सुनिलबहादुरले संविधानसभाका दुवै चुनावमा छिन्ताङमा प्रचारप्रसार गर्दा घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्ने आश्वासन दिएका थिए ।


‘मैले छिन्ताङ पुगेर भोट माग्दै गर्दा सहिद घोषणामा पहल गर्छु भनेको थिएँ । भनेको पूरा हुदा मलाई गौरव लागेको छ,’ मन्त्री थापाले कान्तिपुरसित भने । कम्युनिस्ट पार्टीहरूले छिन्ताङ घटनालाई हत्याकाण्डको संज्ञा दिने गरेका थिए । मुलुकमा ६ जना कम्युनिस्ट प्रधानमन्त्री हुँदा पनि उक्त घटनामा मारिएका कार्यकर्तालाई सहिद घोषणा गरिएको थिएन ।


सहिद घोषणा भएकामा गोपाल आनन्दी राई, श्रीमाया राई (हांखिमा साइली), भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेशलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाइ, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राई छन् ।


छिन्ताङ हत्याकाण्ड हुँदा प्रधानपञ्च रहेका गोविन्द बालिङलाई समेत मन्त्रिपरिषदले सहिद घोषणा गरेको छ । माओवादी द्वन्द्वकालमा माओवादीबाट मारिएका चार जना पूर्वपञ्च र एक जना राप्रपा कार्यकर्तालाई पनि सहिद घोषणा गरिएको हो ।


माओवादीबाट हत्या गरिएका तत्कालीन बेलाहारा गाविसका अध्यक्ष गंगा जोशी, तत्कालीन मुगा गाविसका रामजी थापा, राजन भट्टराई र तत्कालीन भीरगाउ गाविसका दीपक दाहाल पनि सहिद घोषणा भएका छन् ।

प्रकाशित : पुस २८, २०७४ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?