वाम गठबन्धनमा फेरि ६०/४० कै भागबन्डा

काठमाडौँ — वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ ।

वाम गठबन्धनमा फेरि ६०/४० कै भागबन्डा

यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए । प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो । कार्यदलको शुक्रबार बसेको बैठकले चारवटा आधार तयार बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ । कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्बाङका अनुसार प्रदेशगत रूपमा पार्टीको अवस्था, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक योग्यता र समावेशी सन्तुलनलाई ख्याल गरेर उम्मेदवार तय हुनेछ ।


‘स्थानीय तह र प्रदेशसभा चुनावमा पाएको मतलाई आधार मानेर हेरिनेछ,’ बैठकपछि नेता नेम्बाङले सञ्चारकर्मीसँग भने, ‘कुन पदका लागि को व्यक्ति योग्य हो भन्ने पनि ख्याल गरिनेछ ।’ प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नुपर्नेछ ।


६० र ४० प्रतिशत भागबन्डा गरे एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना उम्मेदवार हुनेछ । प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा यो मापदण्डअनुसार एमालेको भागमा ४/४ र माओवादीको भागमा २/२ जना पर्नेछन् । ६ वटा प्रदेशमा मात्र वामपन्थी गठबन्धनको बहुमत छ । प्रदेश २ मा भने वाम गठबन्धन सरकार बनाउने हैसियतमा छैन । त्यसैले सरकार बनाउन सक्ने अवस्थामा रहेका ६ वटा प्रदेशमा दुई दलबीच भागबन्डा हुनेछ । वाम गठबन्धन कार्यदलले माघ १० भित्र राष्ट्रिय सभा उम्मेदवारी दर्ता गर्नुअघि प्रतिवेदन तयार गरी शीर्ष नेतृत्वलाई बुझाउनेछ । उम्मेदवारको अन्तिम टुंगो भने शीर्ष नेताको बैठकले लगाउने छ ।


प्रकाशित : पुस २८, २०७४ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?