थलिए बादी बालबालिका

वसन्तप्रताप सिंह

बझाङ — केही दिनयता जाडो निकै बढेको छ । बिहान र साँझको समयमा त झन् घरबाहिर निस्कनै नसकिने अवस्था छ । घरभित्र बस्नका लागि पनि कि त न्यानो लुगा चाहिन्छ कि त आगोको सहारा लिनुपर्छ । पुसको ठिहिर्‍याउने जाडोमा पनि लुगाको जोरजाम गर्न नसक्दा बझाङका बादी समुदायका बालबालिकाहरू भने नांगो शरीर जाडोको सामना गरिरहेका छन् ।

 चिसोले बिरामी परेका बझाङ, थलाराका बादी समुदायका बालबालिका ।

कतिसम्म भने जाडोका कारणकठ्यांग्रिएर केटाकेटीहरू बेहोस हुने गरेका छन् ।
दलितभित्रको पनि दलितका रूपमा चिनिने बादी समुदायको माटोका भाँडाकुँडा बनाउने र नाचगान गर्ने पुख्र्यौली पेसा विस्थापित भइसकेपछि उनीहरू मागेर गुजारा चलाइरहेका छन् । अरूले दया गरेर दिएको अन्नपातले गुजारा चलाइरहेको भए पनि जाडोमा छोराछोरीको आङ ढाक्ने कपडा नपाएपछि समस्या भएको थलाराकी पुनी बादीले बताइन् ।

Yamaha

‘घाम लागेका दिन दिउँसो घाममा गएर पल्टिन्छौं । रातभर आगो तापेर जाग्राम बस्ने गरेका छौं,’ ४ छोराछोरीकी आमा पुनी बादीले भनिन्, ‘हामीले जस्तो भए पनि सहेकै थियौं । बच्चाहरू जाडोले थरथरी काप्छन् । दाउरा नभएको दिन रोएरै रात काट्छन् ।’ केही हप्ताअघि जाडोले कठ्यांग्रिएर उनकी ६ वर्षकी छोरी बेहोस भएको सुनाउँदै पुनीले भनिन्, ‘कतिबेला आगो निभेछ, थाहा भएन । निद्रा खुल्दा जाडोले छोरीको शरीर नीलो भएको थियो । आगो फुकेर निकैबेर तताएपछि आधा घण्टापछि आँखा खोलेर रोई ।’
‘दिउँसो त घाम लाग्छ । खासै गाह्रो हुँदैन,’ ९ वर्षीया निर्मला बादीले भनिन्, ‘साँझ पर्न थालेपछि जाडोले सताउँछ । कति बेला घाम लाग्ला भनेर कुर्दै बस्छौं ।’
जनता आवासअन्तर्गत नयाँ घर बनाइदिने भनेर पहिलेका टहरा भत्काएपछि अहिले बझाङको चैनपुर र थलारामा रहेका २८ परिवार बादी अस्थायी टिनका टहरामा रात काटिरहेका छन् । मंसिरभित्रै निर्माण सम्पन्न हुनुपर्ने भनिए पनि थलाराकाबादी समुदायका घर बन्न अझै दुई महिना जति लाग्ने भएको छ । चैनपुरका बादीको घर निर्माणको काम ठेकेदारमार्फत भइरहेकाले ४ महिनाअघि जग हालेर छोडिएको छ । त्यसपछि कुनै पनि काम भएको छैन ।
ढोका पनि नभएका खुला टहरामा रात बिताउन निकै सकस भइरहेको चैनपुरकी राधा बादीले बताइन् । उनले भनिन्, ‘बच्चाहरू बिरामी हुन थालेका छन् । रातभर आगोमा अनिदै बस्नुपर्दा धूवाँले खोकी लाग्ने र अनुहार सुन्निने गरेको छ ।’ साना नानीहरूमध्ये धेरैजसोलाई निमोनियाँ भएको उनले बताइन् ।
‘गतिलो ओढ्ने–ओछ्याउने लुगा भइदिएको भए यस्तो समस्या हुने थिएन,’ थलाराका मदन बादीले भने, ‘रातिको समयमा टिन चिसिएर शीत बर्सिन्छ । हिउँद कटाउन निकै समस्या भयो ।’ बादीहरूको यो समस्याका बारेमा आफूलाई जानकारी नभएको र जिल्ला दैवी प्रकोप उद्धार समितिले उनीहरूलाई न्यानोलुगा वितरण गर्नका लागि पहल गर्ने निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए ।

Esewa Pasal

प्रकाशित : पुस २९, २०७४ ०६:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वाम गठबन्धनमा फेरि ६०/४० कै भागबन्डा

कान्तिपुर संवाददाता

काठमाडौँ — वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ ।

यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए । प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो । कार्यदलको शुक्रबार बसेको बैठकले चारवटा आधार तयार बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ । कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्बाङका अनुसार प्रदेशगत रूपमा पार्टीको अवस्था, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक योग्यता र समावेशी सन्तुलनलाई ख्याल गरेर उम्मेदवार तय हुनेछ ।

‘स्थानीय तह र प्रदेशसभा चुनावमा पाएको मतलाई आधार मानेर हेरिनेछ,’ बैठकपछि नेता नेम्बाङले सञ्चारकर्मीसँग भने, ‘कुन पदका लागि को व्यक्ति योग्य हो भन्ने पनि ख्याल गरिनेछ ।’ प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नुपर्नेछ ।

६० र ४० प्रतिशत भागबन्डा गरे एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना उम्मेदवार हुनेछ । प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा यो मापदण्डअनुसार एमालेको भागमा ४/४ र माओवादीको भागमा २/२ जना पर्नेछन् । ६ वटा प्रदेशमा मात्र वामपन्थी गठबन्धनको बहुमत छ । प्रदेश २ मा भने वाम गठबन्धन सरकार बनाउने हैसियतमा छैन । त्यसैले सरकार बनाउन सक्ने अवस्थामा रहेका ६ वटा प्रदेशमा दुई दलबीच भागबन्डा हुनेछ । वाम गठबन्धन कार्यदलले माघ १० भित्र राष्ट्रिय सभा उम्मेदवारी दर्ता गर्नुअघि प्रतिवेदन तयार गरी शीर्ष नेतृत्वलाई बुझाउनेछ । उम्मेदवारको अन्तिम टुंगो भने शीर्ष नेताको बैठकले लगाउने छ ।

प्रकाशित : पुस २८, २०७४ १९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT