१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चिसोले एकै गाउँका ५ को मृत्यु

अर्जुन शाह

बाजुरा — केही दिनयता अत्यधिक चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण जिल्लाको विकट जगन्नाथ गाउ‘पालिकाको हुनी गाउँमा ५ जनाको मृत्यु भएको छ । 

चिसोले एकै गाउँका ५ को मृत्यु

हुनीका वडाध्यक्ष कर्णबहादुर बिष्टका अनुसार मृत्यु हुनेमा ६० वर्षीया थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन बिष्ट, ३६ वर्षीया सुपारी बिष्ट र ६७ वर्षीया बना बिष्ट छन् । चिसो बढेपछि दुई सातायता घरैपिच्छे रुघाज्वरोका बिरामी रहेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख रामदत्त न्यौपानेले बताए ।

रुघाज्वरोले सिकिस्त भएर मृत्यु भएकाहरू भाइरल संक्रमणका कारण मृत्यु भएको अनुमान गरिए पनि कारण यकिन भइनसकेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । ‘भाइरल फैलिएको भन्ने अनुमानसम्म भए पनि पुष्टि भएको छैन,’ कुँवरले भने, ‘भाइरल भए/नभएको परीक्षणका लागि नमुना केन्द्रमा पठाएका छौं ।’ चिसो बढेका कारण श्वासप्रश्वास लगायत रोगका बिरामी भने चपेटामा परेको देखिएको उनले बताए । बढी संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित रहेको वडाध्यक्ष बिष्टले जानकारी दिए ।

भाइरल भए/नभएको यकिन गर्न १२ जना बिरामीको नमुना परीक्षणका लागि एक साताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । बिरामीको अवस्था, लक्षणलगायत विषयमा महामारी तथा रोग नियन्त्रण महाशाखासँग समेत नियमित समन्वय भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

रोग प्रभावित क्षेत्रमा उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी टोली परिचालन गरिएको कार्यालयले जनाएको छ । ‘आवश्यक औषधि तथा चिकित्सकसहितको टोली जगन्नाथमै परिचालित छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भने, ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने त्यस क्षेत्रका गैरसरकारी निकायका स्वास्थ्यकर्मीलाई समेत जगन्नाथमै केन्द्रित गराएका छौं ।’

जगन्नाथ सदरमुकाम मार्तडीबाट दुई दिन पैदल दूरीमा पर्छ । औषधि अभाव हुन नदिन नेपालगन्ज र क्षेत्रीय मेडिकल स्टोर धनगढीबाट समेत थप औषधि झिकाउने प्रयास भइरहेको डा. विश्वकर्माले बताए । चिसो बढेका कारण जिल्लाका अन्य क्षेत्रमा समेत श्वासप्रश्वास र रुघाखोकी, ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाण्डवगुफा, स्वामीकार्तिक, गौमुल र छेडेदह गाउँपालिकाका विभिन्न गाउँमा समेत रुघाज्वरो फैलिएको छ । प्रभावित सबै ठाउँमा औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस २९, २०७४ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?