कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चीनबाट आयो इन्टरनेट

तत्काल १.५ जीबीपीएस ब्यान्डविथ, पछि अझै थपिने
हङकङ हुँदै अब अन्य देशसँग पनि इन्टरनेट जोडिन सक्ने
विजय तिमल्सिना

काठमाडौँ — चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी नेपाल भित्र्याएको हो । भारतबाहेक अन्य मुलुकबाट नेपालमा व्यावसायिक प्रयोजनका लागि यसअघि इन्टरनेट सेवा भित्रिएको थिएन । टेलिकमले रसुवाको केरुङ नाकाबाट नेपालमा इन्टरनेट भित्र्याएको हो ।

चीनबाट आयो इन्टरनेट

काठमाडौंमा शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उद्घाटन गरे । चीनबाट इन्टरनेट भित्र्याउने पहल एक दशकभन्दा अघिदेखि नै थालिए पनि दुई वर्षअघिको भारतीय नाकाबन्दीपछि यसले तीव्रता पाएको थियो । यसअघि टेलिकमले तातोपानी नाका हुँदै चाइना टेलिकम्युनिकेसन कर्पोरेसनसँग इन्टरनेट खरिद प्रक्रिया सुरु गरेको थियो । तर, भूकम्पपछि तातोपानी नाका वरपरका पूर्वाधारमा क्षति पुगेको भन्दै केरुङ नाकाबाट इन्टरनेट भित्र्याइएको हो ।

‘इन्टरनेटबाट पहिलोपटक नेपाल र चीन जोडिएका छन्,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् । तातोपानी नाकासम्म फाइबर पुगेर पूर्वाधार निर्माण भए पनि इन्टरनेट नजोडिएको उनले बताइन् । नेपाल टेलिकमले अहिले तीन भारतीय कम्पनीसँग तीन नाकाबाट इन्टरनेट भित्र्याइरहेको छ । टेलिकमले भारतको बीएसएनएल, टाटा र एयरटेलसँग वीरगन्ज, विराटनगर र भैरहवा नाकाबाट २२ जीबीपीएस इन्टरनेट ब्यान्डविथ भित्र्याइरहेको छ । चिनियाँ कम्पनीबाट तत्काल १ दशमलव ५ जीबीपीएस ब्यान्डविथ किनिएको प्रवक्ता वैद्यले जानकारी दिइन् ।

‘सुरुवाती चरणमा यति मात्रै भित्र्याइएको हो,’ वैद्यले भनिन्, ‘इन्टरनेट प्रयोग र माग बढ्दो रहेकाले आगामी दिनमा बढी ब्यान्डविथ खपत हुन सक्छ ।’ वैद्यले भारत र चीनसँग खरिद हुने इन्टरनेटको मूल्यमा हुने भिन्नता भने खुलाइनन् । उनले चीनबाट भित्रिएको इन्टरनेट टेलिकमको नेटवर्कमा जोडिएर प्रयोगकर्तामाझ पठाइने जानकारी दिइन् ।

नेपालमा चीनबाट इन्टरनेट भित्र्याउन २०६० सालदेखि नै पहल भएको थियो । तत्कालीन सरकारले चीनसँग गरेको आर्थिक तथा प्राविधिक सम्झौतामा इन्टरनेट भित्र्याउने पूर्वाधार तयार पार्ने सहमति भएको थियो । सोहीअनुसार काठमाडौंदेखि चीनको खासासम्म १ सय ५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सकिएको थियो । टेलिकम र चिनियाँ पक्षबीच त्यसपछिका पूर्वाधार निर्माण र मर्मतसम्बन्धी सम्झौता भइसकेको अवस्थामा दुई वर्षअघि आएको भूकम्पले अप्टिकल फाइबरमा क्षति पुगेको भन्दै केरुङ हुँदै काठमाडौं इन्टरनेट भित्र्याउने काम सुरु भएको हो ।

नेपाल र चीनबीचको अन्तरदेशीय अप्टिकल फाइबर लिंकको उद्घाटन गर्दै मन्त्री बस्नेतले यसलाई इन्टरनेट विस्तारका लागि कोसेढुंगाको संज्ञा दिए । टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चीन रुटमार्फत इन्टरनेट भित्रिएसँगै टेलिकमको सेवा बढी विश्वसनीय हुने बताइन् ।

चाइना टेलिकम ग्लोबलका प्रतिनिधि वाङ योङलिनले अन्तरदेशीय फाइबर लिंक केबुलमार्फत नेपाल इन्टरनेटका लागि हङकङ हुँदै अन्य देशसँग जोडिन सक्ने बताए । नेपाल टेलिकमले इन्टरनेट खरिद गरेको चाइना ग्लोबल लिमिटेड सरकारी स्वामित्वको चाइना टेलिकम्युनिकेसन कर्पोरेसन लिमिटेडको सहायक (सब्सिडियरी) कम्पनी हो । चाइना ग्लोबलले चाइनाबाहेकका देशमा इन्टरनेट विस्तारको काम गर्दै आएको छ । यसले आफ्ना अन्य कम्पनीमार्फत ३१ देशमा इन्टरनेटसम्बन्धी सेवा दिइरहेको छ ।

प्रकाशित : पुस २९, २०७४ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?