त्रिशूली नदीमा प्रदूषण रोक्न माग गर्दै राजमार्गमा अवरोध

हरिहरसिंह राठौर

धादिङ — त्रिशूली नदी धमिलो भएकै कारण जल पर्यटन, होटल व्यवसायमा समेत प्रतिकूल प्रभाव परेको भन्दै त्रिशूली बचाउ अभियानले राजमार्गमा विरोध जनाएको छ ।

त्रिशूली नदीमा प्रदूषण रोक्न माग गर्दै राजमार्गमा अवरोध

स्थानीयवासी र त्रिशूली बचाउ अभियानकर्ताहरुले जलयात्राका साधनहरु ऱ्याफ्टिङ्ग वोट तथा कायक राजमार्गमा राखेर विरोध जनाएका हुन् । ‘त्रिशूली नदी किनारमा जताततै खुलेका फिरफिरे खानीको बालुवा पखालेको हिलो र लेदो सिधै नदीमा मिसाइने गरेका कारण नदी धमिलो देखिने गरेको छ’ त्रिशूली बचाउ अभियानलाई सहयोग गरिरहेका वेनीघाट रोराङ्ग गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी बताए । धमिलो त्रिशूलीले बूढीगण्डकीलाई समेत प्रदूषित गराएको प्रमुख डल्लाकोटीले बताए


नुवाकोट र धादिङ जिल्लाका त्रिशूली नदी किनारमा अव्यवस्थित र मापदण्डविपरीत सञ्चालनमा आएका बालुवा प्रशोधन केन्द्र(फिरफिरे) र ढुङ्गा तथा बालुवाखानीका कारण नदी प्रदुषित बन्ने क्रम बढ्दै गएको छ । नदी आसपास खुलेका होटलका फोहोरमैलाले पनि प्रदूषण बढाएको सरोकारवालाको भनाइ छ ।


त्रिशूली नदी बाह्रै महिनाजसो धमिलो बग्न थालेपछि विदेशी तथा स्वदेशी जलयात्रीहरुको संख्या कम हुँदै गएको जोगीमारा खटौटीस्थित रोयलवीच क्याम्पका जलयात्रा व्यवसायी विष्णु सिलवालले बताए । धादिङको बैरेनीदेखि गजुरीसम्म झण्डै डेढसय र नुवाकोटतर्फ ३ दर्जन संख्यामा फिरफिरे सञ्चालनमा छन् ।


प्राकृतिक सम्पदा संरक्षण समिति मलेखु धादिङका संयोजक श्रवण त्रिपाठीले प्रदूषण र अवैध उत्खनन रोक्नतर्फ स्थानीय सरकारले ध्यान नदिको गुनासो गरे ।

प्रकाशित : पुस २९, २०७४ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?